सबै दलका केही नेतालाई छाडेर हेर्ने हो भने सत्तामा पुगेको बेला मौका पाउँदा कमाउनुपर्छ भन्ने सोच रहेको छ । त्यसरी कमाउने कुरामा कसैले राम्रै ठाउँ पाएर रामै्र र कसैले अलि कम कमाएका छन् । कसैले राजनीति बचाउने हिसाबले थोरै कमाएका छन् भने कसैले एउटा पार्टीमा हुँदा अकुत कमाउने राजनीति गर्न अर्को पार्टीमा जाने गरी कमाए छन् । पैसा कमाउन जति सजिलो छ त्यसलाई बचाउन पनि त्यति नै गाह्रो पनि छ । व्यापारी होस् कि उद्योगपति, नेता होस् कि गुन्डा, तस्कर होस् कि कर्मचारी जसजसले पैसा कमाएका छन् । पैसा कमाउनेहरू बच्ने ठाउँ भनेको एमाओवादी पार्टी बनेको छ । कहिलेसम्मलाई हो, एमाओवादीको पछि लागेजस्तो अपराध गरेको भए पनि बचिन्छ भन्ने मनोविज्ञानबाट समाज निर्देशित छ । तराईको राजनीति बचाउने नाममा पटकपटक राम्रा ठाउँ दिएर एमालेले रामचन्द्र झालाई मौका दियो । त्यसैगरी महिला भएका नाताले मौका दिनुपर्छ भन्दै उर्मिला अर्याललाई त्यसै किसिमको अवसर दियो । अवसर पाउँदा देश र जनताका पक्षमा काम गर्नपट्टि नलागी पार्टी नीति र कार्यकर्ताको, चहानाविपरीत अकुत सम्पत्ति कमाउनपट्टि लागे । त्यसका बारेमा पार्टीमा कुरा उठाउन थालेपछि पार्टी नीतिलाई दोष दिँदै आफू बच्ने सुरक्षित ठाउँ खोज्न थाले । त्यो ठाउँ भनेको एमाओवादी बन्यो । एमाओवादीले कुनै सैद्धान्तिक छलफलबिना नै सजिलै प्रवेश दिने गरेको छ । एमालेबाट जति पनि एमाओवादीमा गएका छन् ती सबै पार्टीले पटकपटक राष्ट्र र जनताका पक्षमा काम गर्न मौका दिँदा काम नगरेका तर व्यक्तिगत रूपमा ओलीका शब्द सापट लिएर भन्नुपर्दा ढाडिएका किर्नाजस्ता भएकाहरू मात्र गएका छन् । तीसँग कार्यकर्ता छैनन्, केवल मौका पाउँदा कमाएको सम्पत्ति छ । सम्पतिले मात्र नेता हुने भए एमाओवादीमा लागेकाबाहेक अरू कोही पनि नेता हुने थिएनन् । एमाले कार्यकर्ता असाध्यै बुझ्नसक्ने भएका छन् । विगतमा कुनै नेता एउटाबाट अर्काे पार्टीमा जाँदा हजारौँ कार्यकर्ता पनि सँगै हुन्थे तर रामचन्द्र र उर्मिला जाँदा तिनीहरूसँग जाने कार्यकर्ता कोही भएनन्, केवल नेता गए । जतिबेला उर्मिला अर्याल एमाओवादीमा जाँदै थिइन् त्यति नै बेला एमाओवादीमा रहेर देशका निम्ति केही गुर्नपर्छ भन्ने कार्यकर्ता एमाले प्रवेश गर्दै थिए । कुनै नेताले एमाले छोड्दैमा फरक पर्दैन तर एउटा जुझारू कार्यकर्ताले पार्टी छाड्दा चिन्तित हुनुपर्ने भएको छ । असक्षम नेता जाँदा होइन, एउटा कार्यकर्ता पार्टीमा आउँदा उसलाई काम दिएर पार्टीलाई दरिलो बनाउन आवश्यक छ । एमाले कमजोर भएको छ भने अवसरवादी राजनीति गर्ने नेताबाट भएको छ । यसलाई अझै पनि एमाले नेतृत्वले बुझ्न सकेको छैन जुन बुझ्न आवश्यक छ ।
संविधानसभाको विघटनपछि माओवादी विभाजित भएर दुईवटा पार्टी बने, जसलाई बोलीचालीको भाषाले प्रचण्डले नेतृत्व गरेको माओवादीलाई क्यास र मोहन वैधले नेतृत्व गरेकोलाई ड्यास भनेर चिनिन्छ । विचार र नीति ड्याससँग छ । राष्ट्र, राष्ट्रियताका बारेमा चिन्तित छ । उसका नेता र कार्यकर्तामा पैसा, सत्ता र सम्पत्ति जोड्ने कुराभन्दा नीति र विचार नै उच्च मानिएको छ । एमालेले नीति र विचार छाडेको राष्ट्र र राष्ट्रियतालाई बिर्सेको ठानेर पार्टी छाडेको भए वैद्यले नेतृत्व गरेको पार्टीमा गएको भए थोरै पत्याउने ठाउँ रहन्थ्यो तर जुन पार्टी र तिनका नेता नीति, विचार, राष्ट्र र राष्ट्रियताका हिसाबले सर्वांग नांगा भएका छन् त्यही पार्टीमा आफ्नो भविष्य देख्नेहरू कुन उद्देश्यले गएका छन् भन्ने कुरा बुझ्न कार्यकर्तालाई गाह्रो होला र ? एमालेबाट एमाओवादीमा जाँदैमा त्यहाँ रहेका इमानदार कार्यकर्ताले प्रचण्डले जसरी फूलमाला लगाएर ठाउँ देलान् र ? काम गरिरहेको पार्टी छाडेर अर्को पार्टीमा आउनेहरू अवसरवादी हुन् भन्ने बुझेको नेतृत्वले तिनलाई कुनै जिम्मेवारी दिने होइन, टीका लगाएर बिटुलो बनाउने मात्र हो । लुक्न र बच्न गएकाहरूलाई त्यही कुरा पनि ठूलो भएको छ । होइन भने हेटौंडा महाधिवेशनपछि नेताहरूको जिम्मेवारी बाँडफाँड गर्न नसक्दा चारपटक केन्द्रीय कमिटीको बैठक स्थगित भएको छ । उचित जिम्मेवारी नपाएको भन्दै हिजोदेखि काम गर्दै आएका नेताले क्षमताका आधारमा जिम्मेवारी बाँडफाँड हुनुपर्ने माग गर्दै पाँच बुदेँ असहमति पार्टी केन्द्रीय कार्यालयमा दर्ता गरेका छन् । एमाओवादीमा नेताको खाँचो भएर एमालेका सक्षम नेतालाई लगेको हो र ? एमाले रहँदा पार्टीले दिएको मौका र तीनले गरेको कामको मूल्यांकन गर्ने भने ती असक्षम भइसकेका हुन् । असक्षम नै भए पनि केही नेतालाई पार्टीमा ल्याउँदा त्यसैलाई चर्चाको विषय बनाउने र एमालेलाई नेताहरूले छाड्दै छन् भनेर कार्यकर्तालाई मनोवैज्ञानिक रूपमा कमजोर बनाउने खेल हो । तर, कार्यकर्ता एमालेका विचार र नीतिबाट कत्ति पनि विचललित भएको देखिँदैन । हुन आवश्यक पनि छैन ।
0 comments:
Post a Comment