728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Saturday, May 11, 2013

    कसले उचाल्दै छ कमरेडलाई ?

    •  सोनाम नेपाली (जनयुद्धका घाइते कार्यकर्ता)
    Narayankaji_20120828083216‘जनयुद्ध सामाजिक फासिवाद उन्मुख भएको छ ।’
    ‘जनयुद्ध आतंककारी गतिविधि हो ।’
    ‘बाह्रबुँदेमा भारतीय संलग्नता थियो भन्ने मैले शंका गरिन । थाहा पाएपछि झस्किएँ ।’
    ‘बाह्य शक्तिको दबाबमा रेग्मीको नियुक्ति भएको हो । राष्ट्रहितलाई केन्द्रमा राख्ने, विदेशीको दलाली नगर्ने र लोकतन्त्रवादीको घाँटीमा सधैं तरबार झुण्ड्याएर आफ्नो वशमा पार्ने उद्देश्यले कार्कीलाई अख्तियार प्रमुख बनाइएको हो । बिडम्बना, ग्य्राण्ड डिजाइनमा प्रचण्ड–बाबुराम समेत फसे ।’
    माथि उल्लेखित भनाइहरु न त माओवादीका खाँटी विरोधी रुकमाङ्गत कट्वालका हुन्, न त काँग्रेसका सुशील वा रामचन्द्रका नै । न त यी एमालेका उखानटुक्का शिरोमणि केपी ओलीकै भनाइ हुन् । यी भनाइ त एकीकृत ने.क.पा.(माओवादी)का तेस्रो वरियताका नेता एवम् उपाध्यक्ष नारायणकाजी श्रेष्ठका हुन् ।
    संविधानसभाको चुनावमा प्रत्यक्षतर्फ जम्मा दुई सिट ल्याएर पार्टी नै बढारिने स्थिति आएपछि मात्रै नारायणकाजी माओवादीसित एकतामा आएका थिए । त्यै दुई सिट पनि नारायणकाजीको एकताकेन्द्र मसालले माओवादीको सहयोगमा हात लगाउन सफल भएको थियो ।
    राजनीतिका धूर्त खेलाडी
    नारायणकाजी नेपाली राजनीतिका एकजना धूर्त खेलाडी हुन् । २०५१ सालमा प्रचण्ड, बाबुराम र किरण जनयुद्धमा हाम्फाल्न कस्सिएपछि पार्टीलाई सत्तोसराप गर्दै छोेडेर नयाँ चुलोचौको निर्माण गर्न पुगेका यिनी ०६४ सालमा एमाओवादी देशकै सबभन्दा ठूलो राजनीतिक दल बनेपछि पुनः पार्टी एकतामा आएका थिए । पार्टी एकता गर्ने क्रममा एमाओवादी अध्यक्ष प्रचण्डको उदारताबाट यिनले निकै फाइदा उठाए र तत्कालीन एकताकेन्द्र मसालका जिल्ला समिति सदस्यलाई एमाओवादीको केन्द्रीय समिति र पार्टी सदस्यलाई राज्य समितिमा पु¥याए । यिनको जनाधार भनेको शून्यप्रायः छ, जसका लागि म हजार प्रमाण पार्टी केन्द्रमा पेश गर्न सक्छु ।
    जनयुद्धको अवधिभर नारायणकाजीको समय नेकपा माओवादीलाई विरोध गर्दैमा बित्यो । हामी युद्धका मोर्चामा बमगोलीसित पैठेजोरी खेलिरहँदा उनले जनयुद्धलाई विरोध गरेका खबरहरु हामी सुन्थ्यौं र लेखहरु पढ्थ्यौं । प्रतिक्रियावादी प्रशासनबाट छाला जोगाउन यिनले माओवादीलाई के नै भन्न बाँकी राखे—‘आतंककारी’, ‘सामाजिक फासिवादी’, ‘अतिवादी’? यी सब कुरालाई बिर्सिएर प्रचण्डले शान्तिप्रक्रियामा आए पछि उनलाई फेरि पनि नेता बनाइदिए । त्यसपछि पुराना सात खत माफ गर्दै हामीले काजीलाई श्रद्धेय नेता मान्यौं ।
    कम्युनिस्ट आन्दोलनमा आउनुभन्दा अघि सिद्धार्थ वनस्थलीमा विज्ञानका शिक्षक रहेका उनी न कहिल्यै जेल परेका छन्, न यिनलाई युद्धका दुःख नै थाहा छ । पार्टी एकतामा आउँदा यिनले ‘अब विद्रोहबाट सत्ता कब्जा गर्नुपर्छ’ भन्दै निकै चर्का कुरा गरे । उनले पहिल्यैदेखि आफूहरुको लाइन जनविद्रोह भएकाले र विद्राहको सम्भावना देखिएकाले पार्टी एकता गरेको भन्दै खुब डिङ् हाँके । तर पछि थाहा भयो, उनले त्यति चर्को भाषण त एकताका क्रममा धेरै पद हत्याउनका लागि गरेका रहेछन् । नेपालमा तत्काल आमविद्रोहबाट सत्ताकब्जाको स्थिति छैन भन्ने विषयमा उनी जत्तिको मान्छेलाई पहिल्यै ज्ञान नहुने कुरै थिएन ।
    एमाओवादीसित एकता गर्नुभन्दा पहिले नारायणकाजी श्रेष्ठ भन्ने कुनै व्यक्ति यो देशमा नेता छ भन्ने धेरै नेपाली जनतालाई थाहा थिएन । गुमनाम स्थितिबाट नारायणकाजीलाई राष्ट्रिय राजनीतिको ‘लाइमलाइट’मा ल्याइदिएको र मन्त्री बनाइदिएको अरु कसैले नभएर अध्यक्ष प्रचण्डले नै हो । तर, कनकमणि दीक्षित र शम्भु थापा जस्ता माओवादीविरोधीहरुसँग भाका मिलाउँदै आज तिनै प्रचण्डलाई विदेशीसामु लम्पसार परेको मिथ्या आरोप लगाउन नारायणकाजीलाई दकस र लाज लाग्नुपर्ने हो । आजभोलि नारायणकाजीको खेती नै महान् जनयुद्धको धज्जी उडाउने र प्रचण्डलाई खुइल्याउने बाहेक केही देख्न पाइँदैन ।
    हेटौंडा महाधिवेशनपछि नाराणकाजी एमाओवादीको आधिकारिक लाइनको पूरै विरुद्धमा देखिएका छन् । महाधिवेशनले अघि सारेको प्रगतिशील राष्ट्रवादको सट्टामा ‘मण्डले राष्ट्रवाद’को ढोल पिट्दै हिँड्नु, पार्टीले आर्थिक उत्पादनलाई प्रश्रय दिने नीति अबलम्बन गरिरहेको बेला पोखरामा कार्यकर्ताबीचमा गएर ‘सबै उत्पादनमा लागे क्रान्ति चाहिँ कसले गर्छ’ भनेर आफूलाई खुबै क्रान्तिकारी र प्रचण्ड—बाबुरामलाई अर्थवादी र सुधारवादी भएको आरोप लगाउनु, कर्पोरेट मिडियाका एजेण्डमा हिँड्नु आदिले पछिल्लो समयमा नारायणकाजी श्रेष्ठ एमाओवादीभित्र नयाँ विभीषण बन्न खोजेका त होइनन् भन्ने प्रश्न जन्मिएको छ ।
    हेटौंडा महाधिवेशनबाट अध्यक्ष प्रचण्ड र अर्का उपाध्यक्ष बाबुराम भट्टराई कार्यदिशामा एकमत भएपछि नारायणकाजी असन्तुष्ट बनेका थिए । प्रचण्ड र भट्टराईबीच अन्तरविरोध हाल्न सके आफू बलियो हुने नारायणकाजीको रणनीति हेटौंडा महाधिवेशनमा सफल हुन सकेको थिएन ।
    मण्डले राष्ट्रवादको नारा
    एमाओवादीमा आफ्नो स्थितिलाई बलियो बनाउने रणनीतिअन्तर्गत उनले पछिल्लो समयमा मण्डले राष्ट्रवादको नारा घन्काउँदै आएका छन् ।  यसरी उनले राष्ट्रवादको नारा लगाउनुका पछाडि उनको आँकलन के हुनसक्छ भने भारतविरोधी स्कूलमा हुर्किएको एमाओवादी भित्रका इमान्दार कार्यकर्तालाई भड्काएर आफ्नो पक्षमा ल्याउन सकिन्छ । तर, उनको हिसाबकिताब यस्तो हो भने सम्झे हुन्छ अब उनको मण्डले राष्ट्रवादको एजेण्डा सकियो । एमाओवादी अध्यक्ष प्रचण्डलाई चीन र भारतले दिएको ऐतिहासिका सम्मानलाई समेत उनले न्युनीकरण गरेर पार्टी र क्रान्तिप्रति कुठाराघात गरेका छन् । उनले कनकको बोलीमा लोली मिलाउँदै ‘चीन र भारत गएर केही झर्दैन’ भनेर सार्वजनिक रुपमा बोलिसकेका छन् ।
    नेतृत्व हत्याउने सपना
    दैलेख प्रकरणका बेला दोषीलाई कारबाही गर्नुपर्छ भन्ने नारायणकाजीको अभिव्यक्तिले प्रचण्ड र बाबुरामलाई निक्कै झस्काएको थियो । त्यसले जनयुद्धका मुद्दा ब्युँझाएर प्रचण्ड र बाबुरामलाई जेल हाल्ने र आफैं पार्टीको अध्यक्ष बन्ने रणनीतिमा त कतै नारायणकाजी छैनन् भन्ने आशंका उब्जाएको थियो । दैलेख प्रकरणको बेला पार्टी छोडेर गएको वैद्य समूह समेत आन्दोलनमा उत्रिएको बेला नारायणकाजी भने दोषीलाई थुन्नुपर्छ भन्दै हिँडिरहेका थिए ।
    पछिल्लो समयमा लोकमानको नियुक्ति र स्वयम् खिलाराज रेग्मीको सरकार पनि भारतले बनाएको भनेर उनले जो अभिव्यक्ति दिइरहेका छन्, ती कुराहरु विशेष गरी कनकमणिसित उठवस हुनेहरुका सञ्चारमाध्यममा ब्यानर बन्ने गरेका छन् । कतै हाम्रा नारायणकाजीको राष्ट्रवाद पनि कनकमणिको जस्तै त होइन भन्ने प्रश्न हामी कार्यकर्ता पंक्तिमा राम्रोसँग बिझेको छ । हेक्का रहोस्, कमरेड ! तपाईंको औकात कति छ भन्ने कुरा पार्टीभित्र कहिल्यै सर्भेक्षण गर्नुभएको छ ? पार्टीका मुख्य नेतृत्वको बद्नाम गरेर बिरालुले घरका सबै मान्छे मरे भने मैं मालिक हुन्छु भनेझैं गर्न त खोज्नुभएको होइन ? अझै पनि कमरेडलाई सच्चिने हजार मौका छ । कमरेडलाई चेतना भया !
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: कसले उचाल्दै छ कमरेडलाई ? Rating: 5 Reviewed By: Unknown
    Scroll to Top