काठमाडौ, वैशाख ३१ - नेकपा एमालेले आगामी संविधानसभाको सिट संख्या घटाउने विषयमा चार दलबीच भएको सहमति नै कायम हुनुपर्ने भन्दै फेरि ६ सय १ मान्य नहुने बताएको छ ।
प्रस्तावित निर्वाचन कानुनमा देखिएको विवादका सम्बन्धमा छलफल गर्न मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले मंगलबार बोलाएको बैठकमा एमालेले आफ्नो अडान प्रष्ट पारेको हो । कायम विवादलाई टुंग्याएर निर्वाचनको तिथी तोक्ने उद्देश्यले रेग्मीले दलहरुसंग छुट्टा-छुट्टै छलफल थालेका छन् । उनले सोमबार राति कांग्रेस नेताहरुसंग छलफल गरेका थिए ।
साना दलको मागमा एमाओवादी र मधेसी मोर्चा आगामी संविधान सभालाई पनि ६ सय १ कै बनाउने विषयमा लचिलो भएको बेला एमाले भइसकेको सहमतिबाट पछि नहट्ने जनाएको छ । एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाबीच आगामी संविधानसभा ४ सय ९१ सदस्यीय बनाउने यसअघि सहमति भएको थियो । 'फेरि ६०१ हामी मान्दैनौ,' बैठकपछि एमाले नेता अग्नी खरेलले भने 'विगतमा ठूलो भएकै कारण सबै तिरबाट आलोचित थियो । जनभावना कदर पनि गरिनुपर्छ ।'
दलहरुबीच समानुपातिक सिट संख्या, थ्रेस होल्ड तथा फौजदारी अभियोग लागेकाले उम्मेदवार हुन पाउने/नपाउने विषयमा मतभेद कायम रहेकाले प्रस्तावित निर्वाचन कानुनको टुङ्गो लाग्न सकेको छैन । 'अध्यक्ष रेग्मी सबैसंग सल्लाह गरेर छिट्टै निष्कर्षमा पुगी निर्वाचनको तिथी तोक्न चाहनु भएको छ,' बालुवाटार स्रोतले भन्यो ।
यसअघि सरकारले प्रस्तावित निर्वाचन कानुनका सम्बन्धमा विघटित संविधानसभामा रहेका सबै दलसंग सामूहिक छलफल गरेको थियो ।
एमाले चारदलबीच भएको ४ सय ९१ को सिटसंख्या बढाउन नहुने, थ्रेस होल्ड राख्न पर्ने अडानमा छ । बालुवाटारमा सरकारी टोलीसंग भएको छलफलमा एमाले नेताहरुले आफ्नो धारणा प्रष्ट्याएका हुन् । खरेलले थ्रेस होल्ड तथा फौजदारी अभियोग लागेकाले चुनाव लड्न नपाउने सम्बन्धी प्रस्तावको पक्षमा आफु हरु रहेको बताए । एमोआवादी र मधेसी मोर्चा थ्रेस होल्ड र फौजदारी अभियोगको विषय हटाउनुपर्ने पक्षमा छन् ।
त्यस्तै साना ठूला सबै पार्टीले समानुपातिकमा उम्मेदवार छान्दा पूर्ण समावेशी सिद्धान्त अपनाउनुपर्ने आफूहरुको अडान सरकार समक्ष राखेको खरेलले ईकान्तिपुरलाई बताए । प्रस्तावित कानुनमा विगत झैं ३० प्रतिशत मात्र उम्मेदवारी दिनलेे सामनुपातिक प्रणालीमा महिला र पुरुष समावेशी गरे पूग्ने प्रावधान राखिएको छ ।
सरकारसंगको छलफलमा एमाले अध्यक्ष झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम, विष्णु पौडेल, भिम रावल र अग्नी खरेल सहभागी थिए ।
0 comments:
Post a Comment