728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Thursday, July 24, 2014

    अब रत्नपार्क खुल्ला ‘रेडलाइट’एरिया : यसरी मोलमोलाई हुन्छ पार्कमा >>>>>>>>>>>>>>>>>>>>>>>>> Read more

    राजधानीको केन्द्रमा पर्ने रत्नपार्कमा हिजोआज देहव्यापारको मोलमोलाइमा कुनै लुकीछिपी छैन। रत्नपार्क क्षेत्रमा १५–१६ वर्षका किशोरीदेखि ६० वर्षसम्मका महिलासँग किशोरदेखि प्रौढ पुरुष मोलमोलाइ गरेर आ–आफ्नो गन्तव्यतिर लागिरहेका देखिन्छन्। केही महीनाअघिसम्म रत्नपार्कभित्र हुने शरीरको मोलमोलाइ अहिले बाहिर सडक छेउछाउमा फैलिएको छ।
    गृहमन्त्री वामदेव गौतमले सार्वजनिक स्थानमा फूटपाथ पसल र पार्किङ हटाएसँगै बाहिर सडक छेउछाउमा यौन व्यवसाय झाङ्गिएको हो। यौन व्यवसायका लागि काठमाडौंका ठमेल, गौशाला, कलंकी, बल्खु, गोङ्गबु, बालाजु आदि क्षेत्र पनि कहलिएका छन्।
    राजधानीको यौनबजारमा विभिन्न उमेरका करीब तीन हजार महिला संलग्न रहेको अनुमान छ। गर्मी मौसममा त तराई र भारतका यौन व्यवसायीहरू पनि थपिन आइपुग्छन्, यहाँ। यौन सम्बन्धी सरुवा रोकथाम तथा एड्स परामर्श सेवा (स्याक्ट्स) का निर्देशक डा. विजयलाल गुरुवाचार्य काठमाडौंमा एचआईभी पोजेटिभ भएका महिलासँग दैनिक दुई जना पुरुषले असुरक्षित यौन सम्बन्ध राख्ने गरेको पाइएको बताउँछन्। डा. गुरुवाचार्यको भनाइले स्थितिको भयावह प्रष्ट पार्छ।
    स्याक्ट्सले काठमाडौं र पाटनका पाँच स्थानमा राखेको यौनरोग तथा एड्स रोकथाम क्लिनिकहरूमा आइपुग्ने यौन व्यवसायी महिलाहरूमध्ये प्रति महीना सरदर ३०० जनामा एचआईभी लगायतका यौन रोग पाइने गरेको डा. गुरुवाचार्य बताउँछन्। स्याक्ट्सले तीन वर्षअघि गरेको अध्ययनले असुरक्षित यौन सम्पर्कबाट महिलाको तुलनामा पुरुषले बढी एचआईभी/एड्स सारेको देखाएकोमा अहिले दुवै थरीबाट उत्तिकै संक्रमण भइरहेको देखिएको छ।
    यसैगरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एड्स तथा यौन सरुवा रोग नियन्त्रण राष्ट्रिय केन्द्र (एनसीएएससी) ले २०६९/७० मा गरेको अध्ययनले ३०–३९ वर्ष उमेर समूहका यौन व्यवसायी महिला र उनीहरूका ग्राहक एचआईभी/एड्सबाट सबभन्दा बढी संक्रमित भएको देखाएको छ।
    माया दिदीको माया
    रत्नपार्क क्षेत्रमा देहव्यापारको गतिविधि नियाल्दा व्यवसायी महिलालाई कण्डम बाँड्दै गरेकी तारादेवी खड्कालाई देखिहालिन्छ। यौन व्यवसायी महिला र ग्राहक पुरुषहरूबीच माया दिदी भनेर चिनिने उनी हरेक दिन कण्डम बाँड्न ठमेल, गौशाला, कलंकी, बालाजु, बल्खु, त्रिपुरेश्वर, गोङ्गबु पुल, बालाजु वाइपास, माछापोखरी लगायतका क्षेत्र पुग्छिन्। “बिहान ७ बजे निस्केर राति ९–१० बजे मात्रै घर पुग्छु”, माया भन्छिन्, “बाँड्ने कण्डम बागबजारको स्टेप नेपाल भन्ने संस्थाले दिन्छ।”
    यसबापत उनी मासिक रु.८ हजार तलब बुझिछन्, तर त्यो पनि एचआईभी/एड्स संक्रमित महिलाहरूको दुःख देख्न नसकेर खर्च गर्छिन्। उनी यौन व्यवसायी महिलाहरूलाई मरिहत्ते गरेर रक्त परीक्षणका लागि स्वेच्छिक परामर्श केन्द्र भोल्युन्टरी काउन्सिलिङ एण्ड टेस्टिङ (भीसीटी) सेन्टरमा पुर्‍याउँछिन्। “केटीहरू कति भीसीटीमा लग्ने कुरा मात्रै गर्छौ भनेर मसँग रिसाउँछन्”, माया दिदी भन्छिन्, “उनीहरू रोग लागेको थाहा पाउनुभन्दा थाहा नपाएरै मर्नु बेस भन्छन्।”
    यो संवाददाताले निकै जिद्दी गरेपछि माया दिदीले टेकू अस्पताल पुर्‍याइन्, जहाँ ३० वर्षीया सुनिता एचआईभी/एड्स भएर अन्तिम सास लिंदै थिइन्। मायाले ६ वर्षअघि सुनितालाई गरगहनाले झ्पक्क भएको अवस्थामा देखेको बताइन्। उनका अनुसार, त्यसवेला हुनेखाने परिवारकी सुनिताका श्रीमान् विदेशमा थिए। दुई वर्षकी छोरी पनि थिइन्।
    तर, छिमेकका दलाल महिलाहरूले सुनिताको सुन्दरता र सोझोपनको फाइदा उठाए। लठ्याउने औषधि खुवाएर होटलमा पुर्‍याएर सुनिताको शरीर बेचियो। त्यसपछि अर्धचेत जस्तो भएकी सुनिता वीर अस्पताल र रत्नपार्कबाट कहीं गइनन्। उनी त्यहीं एचआईभीको शिकार भइन्। अन्तिम अवस्थामा उनलाई माया दिदीले नै टेकू अस्पताल पुर्‍याएकी रहिछन्।
    माया दिदीले ४० वर्षीया शिला (नाम परिवर्तन) सँग पनि भेट्टाइन्। दुई वर्षअघि ग्राहकबाटै एचआईभी संक्रमित भएकी शिलाले लाख चाहेर पनि रत्नपार्कको नर्कबाट निस्कन नसकेको बताइन्। उनका अनुसार, कण्डम प्रयोग गर्न नमान्ने अल्लारे ग्राहकहरूले एचआईभी संक्रमण बढाएका छन्। र, यौन व्यवसायी महिला आफूलाई एचआईभी पोजेटिभ भएको लुकाउने बाध्यतामा पुग्छन्, दैनिक जोहोकै लागि।
    छोराछोरी पाल्न रत्नपार्क क्षेत्रमा शरीर बेच्नेमा श्रीमान्बाट एचआईभी संक्रमण भएकी महिला पनि भेट्टिइन्। उनी आफ्नो सम्पर्कमा आउने ग्राहकलाई कण्डम प्रयोग गर्न आग्रह गर्छिन्, तर सबैले मान्दैनन्। परिवार त्यागेर दलालीमा लागेको आफ्नो श्रीमान्ले पनि कति जनामा एचआईभी सारिसकेको, उनले बताइन्।
    माया दिदी वेश्यावृत्ति विरुद्ध वेलावेला हुने कारबाहीलाई ठट्टा ठान्छिन्। उनका अनुसार, काठमाडौंको देहव्यापारका उल्लेख्य संख्याका ग्राहक प्रहरी छन्। कति त बर्दीमै मोलमोलाइ गर्न आइपुग्छन्। र, उनीहरूले भने झैं भएन भने साँझ्मा पक्रिन आइपुग्छन्। “यी दिदीबहिनीलाई साँच्चै यो नर्कबाट निकाल्ने र एड्स रोक्ने हो भने, सरकारले तुरुन्त उनीहरूका लागि अर्कै रोजगारीको व्यवस्था गर्नुपर्छ”, माया दिदी भन्छिन्, “घरीघरी पुलिस मात्र लगाएर यो महामारी रोकिंदैन, त्योभन्दा राम्रो त उनीहरूलाई उचित ठाउँमा सार्दा राम्रो हुन्छ।”
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: अब रत्नपार्क खुल्ला ‘रेडलाइट’एरिया : यसरी मोलमोलाई हुन्छ पार्कमा >>>>>>>>>>>>>>>>>>>>>>>>> Read more Rating: 5 Reviewed By: Unknown
    Scroll to Top