728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Thursday, July 31, 2014

    व्यावसायिक कृषकले १० लाखसम्म अनुदान पाउने

    बागलुङ: कृषिको व्यावसायीकरणका लागि जिल्लामा लघु अनुदान कार्यक्रम सुरु भएको छ । कृषि मन्त्रालयद्वारा सञ्चालित व्यावसायिक कृषि तथा व्यापार आयोजनाअन्तर्गत कृषक समूह, सहकारी तथा कृषि उद्यमीको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिका लागि यो कार्यक्रम सुरु गरिएको 

    हो । सरकारले व्यावसायिक कृषि तथा व्यापार आयोजना कार्यान्वयनका लागि विश्व बैंकबाट प्राप्त गरेको सहयोगको केही अंश लघु अनुदानमा खर्च गर्न लागेको हो ।

    लघु अनुदान कार्यक्रमअन्तर्गत पूरक अनुदानका लागि आयोजनाले प्रस्ताव आह्वान गरेको छ । यस कार्यक्रममार्फत बढीमा १० लाखसम्म अनुदान दिइनेछ भने न्यूनतम २५ प्रतिशत लगानी अनुदानग्राही स्वयम्ले गर्नुपर्ने व्यवस्था छ । हाल २५ जिल्लामा मात्र परीक्षणका रूपमा लागू भएको यो कार्यक्रम पश्चिमाञ्चलका बागलुङ, पर्वत, म्याग्दी, गोरखा र गुल्मीमा सुरु भएको आयोजनाका नोडल अधिकृत राजेन्द्र यादवले जानकारी दिए ।

    लघु अनुदानका लागि सम्बन्धित जिल्ला कृषि विकास समितिको निर्णयबाट छनोट भएकामध्ये तोकिएका मूल्य शृङ्खलामा आबद्ध कृषक समूह, सहकारी तथा कृषि व्यवसायीले प्रस्ताव पेस गर्न पाउने व्यवस्था मिलाइएको अधिकृत यादवले बताए । प्रत्येक जिल्लामा पाँचवटाका दरले कृषि उपज (मूल्य शृृङ्खला) कायम गरिएको छ ।

    जसअन्तर्गत कृषितर्फ तीन र पशु सेवातर्फ दुई छन् । बागलुङमा कृषि विकासतर्फ सुन्तला, अदुवा र ताजा तरकारी उत्पादन र पशु सेवातर्फ दूध उत्पादनमा गाई, भैँसी तथा मासुजन्यमा बाख्रापालनका लागि कृषकले अनुदान पाउनेछन् ।

    निर्दिष्ट मूल्य शृङ्खलामा आबद्ध कृषक समूह, सहकारी तथा कृषि उद्यमीलेमात्र अनुदानका लागि आवेदन दिन सक्नेछन् । त्यस्तो रकम पेस्कीका रूपमा नभई उपलब्धिमा आधारित अनुदान भुक्तानी प्रक्रियामार्फत कार्ययोजना बमोजिम क्रियाकलाप सम्पन्न भइसकेको स्थलगत प्रमाणीकरणपछि मात्र भुक्तानी गरिने जनाइएको छ ।

    तोकिएका मूल्य शृङ्खलामध्ये कुनै एकमामात्र आवेदन दिनुपर्ने र उक्त मूल्य शृङ्खलामा आवेदकको पूर्व अनुभवसमेत हुनुपर्ने व्यवस्था छ । आयोजनाले उपलब्ध गराएकै ढाँचामा प्रस्ताव तयार पारी कृषितर्फको भए कृषि विकास कार्यालयमा र पशु सेवातर्फको भए पशु सेवा कार्यालयमा प्रस्ताव पेस गर्नुपर्ने प्रावधान छ । यसअघि प्रस्ताव पेस गर्न दिइएको समय साउन ८ गते पूरा भए पनि पुनः साउन २३ गतेसम्म प्रस्ताव दिने समय थप गरिएको छ । हालसम्म बागलुङमा पशु सेवा कार्यालयमा ४२ र कृषि विकास कार्यालयमा १० वटा प्रस्ताव पेस भइसकेका छन् । रासस
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: व्यावसायिक कृषकले १० लाखसम्म अनुदान पाउने Rating: 5 Reviewed By: Unknown
    Scroll to Top