काठमाडौ, जेष्ठ १ - कन्सर्ट प्रायः खुल्ला आकाशमुनि नै हुने गर्छन् । तर मंगलबार भने मोक्ष ब्यान्डले बालाजुस्थित नेपाल चलचित्र विकास संस्थान परिसरमा कन्सर्ट गर्यो । कन्सर्ट सुन्न नायिका बेनिसा हमाल, असिस्मा नकर्मी र दुर्गा बराइली पनि उपस्थित थिए ।
तर कन्सर्टलाई ह्यान्डिल गरिरहेका थिए, प्रवीण श्रेष्ठले । ह्वीलचेयरमा बसेर उनले स्टेजका ब्यान्ड सदस्यदेखि कन्सर्ट सुन्न आइपुगेका दर्शकबीच तालमेल मिलाउँदै फिल्म 'मोक्ष' का लागि एक्सन-कट गराइरहेका थिए । पहिलोपटक फिल्म निर्देशनमा उत्रिएका प्रवीणले ३४ औं दिनको सुटिङमा बालाजु ल्याबमा महँगो सेट लगाएर कन्सर्टको दृश्य खिचिरहेका थिए । 'अब भोलि सुटिङ प्याकअप हुनेछ । अहिलेसम्मको कामबाट सन्तुष्ट छु,' १० वर्षदेखि म्युजिक भिडियो निर्देशनमा दिमाग चलाएर फिल्मतर्फ हाम फालेका प्रवीणले फिल्मबारे सुनाए, 'वास्तविक घटनामा आधारित म्युजिकल फिल्म हो ।' मोक्ष रक ब्यान्डका गायक दुर्घटनामा परेर हिँडडुल गर्न नसक्ने भएपछि के-कस्तो समस्या आइपर्छ भनेर फिल्ममा देखाइएको उनले बताए ।
प्रवीण आफैं पनि पहिले 'तन्त्र' ब्यान्डका गिटारिस्ट थिए । पछि उनी दुर्घटनामा परेपछि १५ वर्षदेखि ह्वीलचेयरमा छन् । उनले घुमाउरो गरी फिल्म आफ्नै भोगाइमा आधारित रहेको खोले । भने, 'म गिटारिस्ट थिएँ । तर यहाँ गायकलाई त्यस्तो दुर्घटनामा परेको देखाइएको छ ।'
राजन कठैत र प्रज्ञान थापाको स्त्रिmप्ट भए पनि कथा भने प्रवीणले पाँच वर्षदेखि दिमागमा खेलाइरहेका थिए । 'कन्सेप्ट थियो । तर यसमा फिल्म बनाउन आँट्न सकिरहेको थिइनँ । सुनील (मानन्धर) दाइले लगानी गर्न चासो देखाएपछि 'मोक्ष' बनाउन सम्भव भएको हो ।' ब्यान्ड सदस्यकै मुख्य भूमिका रहेको फिल्ममा कोसिस क्षेत्री, मनीष गोदार, विक्रम सिंह, दीपेश भण्डारी, विशाल ढुंगाना, वसन्त भट्ट, सपना श्रेष्ठ लगायतको अभिनय रहेको छ । पप गायक सञ्जीव सिंह, नवक्रान्ति ब्यान्ड, हिलुङ राई र स्वयं प्रवीणकै संगीत रहेको म्युजिकल फिल्ममा ७ गीत राखिनेछन् ।
फिल्मको हरेक दृश्यलाई पाँच छायाकार हरि हुमागाईं, रविन श्रेष्ठ, प्रताप सिंह, विकास श्रेष्ठ र मानव सुवालले एकसाथ खिचिरहेका छन् । अहिले नै कथाका बारेमा खुल्न नचाहेका निर्देशकले फिल्मको शीर्षकबारे भने यसरी खुलाए, 'हरेकका जीवनमा संघर्ष हुन्छ । फिल्मका पात्र पनि एकखाले संघर्षबाट माथि आउन मुक्ति अथवा मोक्ष खोजिरहेका हुन्छन् ।'

0 comments:
Post a Comment