728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Thursday, May 23, 2013

    विद्यार्थी आन्दोलनका शैक्षिक एजेन्डा


    -डिआर पौडेल
    Dr-Poudelपाँच वर्षपछि त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्दै छ । २०३६ सालको विद्यार्थी विद्रोहको परिणामस्वरूप स्थापित स्ववियुको आफ्नै इतिहास र महत्त्व छ । यो फगत दुई/चार जनालाई नेता बनाउनेसँग मात्र सम्बन्धित नभई लाखौँ विद्यार्थीको रगत र पसिनासँग जोडिएको विषय हो । निर्वाचन कार्यतालिका घोषणासँगै कलेजहरूमा चुनावी माहोल तातेको छ । आगामी स्ववियु निर्वाचनले केवल स्ववियुको प्राधिकार एक व्यक्तिबाट अर्को व्यक्तिमा वा एक संगठनबाट अर्को संगठनमा सार्ने मात्र नभई केही गहन मुद्दाहरूमाथि व्यापक बहसको थालनी गर्न सक्नुपर्छ । पिसिएल फेज आउट गरियो । हिजो हाम्रा दाइहरूले दुई हजार तिरेर इन्टर पढे, आज हामी दुई लाख लगानी गरेर प्लस टु पढ्दै छौँ, भोलि हाम्रा सन्तानले प्लस टु लेबलको एउटा सर्टिफिकेट हात पार्न दुई करोड लगानी गर्नुपर्ने छ । अर्थात्, शिक्षाले आफ्नो व्यापक पहिचान गुमाउँदै छ अनि पैसामा किन्न सकिने एउटा वस्तुमा सीमित हुँदै छ ।
    त्रिविले विश्व बैंक र आईएमएफसँग पैसा लिएर ठेकेदारीशैलीमा चारवटा क्याम्पसलाई स्वायत्तता प्रदान गरिसक्यो । बाँकी कलेजहरू गल्दै गइरहेका छन्, गल्लीका ट्युसन सेन्टरहरू मोटाउँदै छन् । सहरका गल्लीगल्लीमा नक्कली सर्टिफिकेटका डिपार्टमेन्टल स्टोरहरू फस्टाइरहेका छन् । राज्य मूकदर्शक भएर बस्नमा नै मस्त छ । अर्कोतिर त्रिविले समयमा परीक्षा लिन सक्दैन, परीक्षा प्रणालीमा वैज्ञानिकता कायम गर्न सक्दैन, नतिजा प्रकाशन समयमा गर्दैन । के यही तरिकाले भोलिका कर्णाधारको भविष्य सुनिश्चित गर्न सकिएला ?
    क्याम्पसहरूलाई राजनीतिक दलहरू कार्यकर्ता उत्पादन गर्ने उद्योग ठान्छन्, प्राध्यापकहरू पेन्सन क्याम्प भने विद्यार्थी पाए अन्त नपाए लखनको जन्त जस्तै ठान्छन् । अध्ययन अध्यापनको वातावरण र संस्कार शून्य प्राय: छ । त्रिविका प्राध्यापकहरू निजी शिक्षण संस्था खोलेर बसेका छन् । यता क्याम्पस प्रशासन स्ववियुसँग मिलेर क्याम्पसमा आउने पैसा हिनामिना पार्नमा नै व्यस्त छ । विद्यार्थीमा अनुशाशन र अध्ययनशीलता मर्दै गइरहेको छ । क्याम्पस प्रशासन, प्राध्यापक र विद्यार्थीको बीचमा जिम्मेवारी, इमान्दारी र सम्मानको अभ्यास ओइलाउँदै गइरहेको छ । यी पक्षबीचको सुमधुर त्रि–आयामिकसम्बन्ध र विद्यार्थी संगठनको सेतुुबाट मात्र क्याम्पसमा शैक्षिक वातावरण निर्माण गर्न सकिन्छ ।
    पुस्तकालयमा पुस्तक हुँदैनन्, प्रयोगशालामा प्राक्टिकल सामग्री हुँदैनन् तर शैक्षिक सुधारको निम्ति कलेजमा आउने करोडौँ रूपियाँ क्याम्पस प्रशासन, स्ववियु र लेखा प्रमुखको मिलेमतोमा झ्वाम पारिन्छ । क्याम्पसबाट पैसा निकालेर गुन्डाहरू पालिन्छ, घर खर्च चलाइन्छ । हात्ती छाप चप्पल लगाएर कलेज छिरेको विद्यार्थी स्ववियु सभापति बनेर निस्किँदा लाखौँ रूपियाँ बैंक ब्यालेन्स अनि पल्सर र पजेरोको मालिक बनेको हुन्छ, घर परिवार र आफन्तलाई जागिरमा सेट गर्छ, सहरमा घर घडेरी जोड्छ । नियमित आम्दानीको कुनै स्रोत नै नभएको मान्छेका लागि यो सब कसरी सम्भव छ ?
    नयाँनयाँ खोज, अनुसन्धान र प्रयोगहरू गरेर विश्व हल्लाउनुपर्ने ल्याबहरूको छतमा माकुराको रजाइँ छ । भुइँमा ढुसी पलाएको छ । सामग्रीमा खिया लागेका छन् । प्रयोगात्मक कक्षाहरू परीक्षामा नम्बर पठाउने कर्मकाण्ड पूरा गर्नका लागि मात्र सञ्चालन गरिन्छन् , कुनै नवीन खोज गर्ने महत्त्वाकांक्षाका लागि होइन । विद्यार्थीलाई पढाइप्रति जिम्मेवार बनाउन सकिएको छैन । प्रयोगात्मक कक्षालाई समेत पुराना फाइल सार्ने, चित्रहरू छाप्ने र टिचरसँग साइन गराउने काममा मात्र सीमित राखिएको छ । यसले विद्यार्थीलाई दुई दिनको लागि त सजिलो होला तर जिन्दगीका कैयौँ पल उनीहरू यही उदासिनताको सिकार बन्नुु पर्नेछ । पढाइलाई बोझ र खेलाँची ठान्ने यो बानी र परम्पराको परिणाम विद्यार्थी कैयौँ अवसरहरूबाट चुक्नुपर्ने छ ।
    असीको दशकमा सुरु भएको उदारीकरणबाट शिक्षा क्षेत्रलाई पनि अछुतो राख्न सकिएन । राज्यको उदासिनता र निजी क्षेत्रको अराजकताले शिक्षा क्षेत्रलाई ध्वस्त पार्दै छन् । अधिकांश निजी शिक्षण संस्थामा विदेशी पाठ्यपुस्तकहरू पढाइन्छ, जसले कुनै न कुनै रूपमा नेपाललाई निकृष्ट र विदेशलाई उत्कृष्ट देखाइरहेका हुन्छन् । नेपाली भूमिमा रहेका चुनौतीहरूलाई उचालेर अवसरहरूलाई न्यूनीकरण गर्ने र नेपाली युवाहरूलाई पलायनको बाटो रोज्न प्रेरित गर्ने काम गरिरहेका हुन्छन् । कतिपय अवस्थामा बुद्ध भारतमा जन्मेको भनेरसमेत अध्यापन गराइन्छ । यसले एकातिर जबरजस्त ढंगले अराष्ट्रिय नागरिकहरू निर्माण गरिरहेको छ भने अर्कोतिर नेपालले लाखौँ लगानी गरेर उत्पादन गरेका दक्ष जनशक्ति बिनाकुनै लगानी विदेशीले तानिरहेका छन् । त्यतिमात्र होइन, आजको एक्काइसौँ शताब्दीमा पनि भूत, प्रेत, पिशाच, बोक्सी र धामी झाँक्रीलाई शक्तिशाली देखाउने दन्त्यकथाहरू पढाएर कोमल बाल मस्तिष्कमा मनोवैज्ञानिक आतंक सिर्जना गरिँदै छ । यो कुनै पनि कोणबाट जायज र स्वीकार्य हुन सक्दैन ।
    धनी र गरिबका लागि द्वैध शिक्षा प्रणाली लागू गरिएको छ । एकथरी मान्छे पैसा नभएकै कारण पढ्न पाउने आधारभूत अधिकारबाट वञ्चित छन् भने अर्कोथरी मान्छे पैसामा शैक्षिक प्रमाणपत्रहरू किनिरहेका छन् । तथ्यांकहरूले नेपालको निरपेक्ष गरिबीको रेखामुनिको जनसंख्या घटिरहेको देखाइरहेका छन् तर सँगसँगै गिनी कोफिसिएन्टले धनी र गरिबबीचको खाडल डरलाग्दो ढंगले बढिरहेको संकेत गरिरहेको छ । नेपालको वर्तमान निजी शिक्षा हेर्ने हो भने प्रस्ट हुन्छ एउटा सामान्य मान्छेले आफ्ना बच्चालाई निजी शिक्षण संस्थामा पढाउन सक्दैन । अरूको कुरा छोडी नेपाल सरकारको इमान्दार सचिवलेसमेत आफ्ना बच्चालाई पढाउन सक्ने अवस्था छैन । तलबस्वरूप आउने उसको तेईस हजारले आफूलाई दौरासुरुवाल, श्रीमतीलाई साडी र बच्चालाई भोटो नै किन्न पुग्दैन । आजको आडम्बर र सामाजिक प्रतिस्पर्धाको दुनियाँमा हैसियतअनुसारको जीवनशैली र सामाजिक मर्यादा कायम गर्न साथै बालबच्चाको शिक्षामा लगानी गर्न उसले अकूत सम्पत्ति कमाउन चाहन्छ, जसको सजिलो माध्यम भ्रष्टाचार र अनियमितता नै देख्छ । यसबाट भ्रष्टाचार र अनियमितता मौलाउँदै गइरहेको छ ।
    विद्यार्थी आन्दोलनका एजेन्डाहरू ज्युँका त्युँ छन् । राजनीतिक एजेन्डाहरू एकपछि अर्को गरी पल्टिदै र सल्टिदै गइरहेका छन् । तर, विद्यार्थी आन्दोलनका एजेन्डाहरू एकपछि अर्को थपिँदै छन् । विद्यार्थी संगठनहरू आन्तरिक र बाह्य अन्तरबिरोधका कारण थलिएका छन् । समयले लाली फेरेको छ तर लय फेर्न सकिरहेको छैन । परिवर्तनको झन्डा बोकेर हिँडेका हामी आज फरक ठाउँमा आइपुगेका छौँ ।
    आन्दोलनभित्र पनि केही समस्याहरू देखा परिरहेका छन् । पहिलो कुरा त आन्दोलनलाई खेलाँची ठान्ने प्रवृत्ति हाबी बन्दै छ । विद्यार्थी आन्दोलनभित्र विद्यार्थी भएर राजनीति गर्नेभन्दा राजनीति गर्नका लागि विद्यार्थी हुनेहरूको हालीमुहाली चलिरहेको छ । स्ववियु सभापति हुनकै लागि बिसौँ वर्षसम्म पालेझैँ गेट कुरेर बस्ने अनि विद्यार्थीको गाला मुसार्दै डुल्ने ‘अंकल’हरूले स्ववियु हत्याउन अपनाउने हत्कण्डाहरूले विद्यार्थी आन्दोलनको नै बदनाम गराइरहेका छन् । स्ववियु सभापति हुनेबाहेक दोस्रो उद्देश्य नभएकाहरूका कारण सरस्वतीका मन्दिरहरू आज रणमैदान बनिरहेका छन् । विद्यार्थी संगठनहरू आधारभूत विद्यार्थीहरूको लागि राहतको होइन, टाउको दुखाइको विषय बन्दै छन् । केही राजनीतिक व्यापारीहरू विद्यार्थी आन्दोलनलाई नै विघटन गर्ने दुस्साहस गरिरहेका छन् । उनीहरूले बुझ्न जरुरी छ, कुनै विद्यार्थी संगठन विघटन गर्न सकिएला तर समग्र आन्दोलन कसैले चाहेर पनि विघटन गर्न सक्नेवाला छैन ।
    (लेखक त्रि–चन्द्र क्याम्पसका विद्यार्थी हुन् )
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: विद्यार्थी आन्दोलनका शैक्षिक एजेन्डा Rating: 5 Reviewed By: Unknown
    Scroll to Top