728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Friday, May 17, 2013

    पाठेघर खस्नु महिलाको समस्या मात्र नभएर साझा सवाल


    नन्दमाया जतिवेला १८ वर्षकी थिइन उनले आफ्नी जेठि छोरी लाई जन्माइ सकेकी थिइन् । छोरी जन्माएको १ महिना पनि राम्रो नबित्दै उनले घरका सबै काम गर्नुपर्थो । एक दिन उनी घर देखि टाढाको बाटोबाट माटोको गाग्रोमा पानी बोकेर उक्लीदै गर्दा उनलाई  आफ्नो योनीबाट केही चिज बाहिर निस्के जस्तो लाग्यो  । घरमा आए पछि नन्दमायाले लौ न अब के गर्ने होला कसलाई भन्ने होला घरपरिवारमा सासुससुरालाई  भनौं भने लाजको विषय कसरी भनौं  भन्दै उनलाई आफ्नो जीवन देखि निकै दिक्क लाग्यो । 


    रमा कार्की,सिन्धुली ।
    राति उनले श्रीमानलाई रुदै सुनाईन् । श्रीमानबाट पनि उपचारका निम्ति सकारात्मक प्रतिकृया पाइनन् नन्दमायाले । उनका मनमा अनेक किसिमका तर्क वितर्क खेल्न थाले श्रीमानले अब अर्को सौता हाल्ने हुन् या समाजले मलाई तिरस्कार गर्ने हो यी यावत कुरा । यस्तो अवस्थामा पनि उनका श्रीमानले उनलाई शारिरीक सम्पर्क भने राख्न छाडेनन् धेरै पटक त उनले अस्वीकार गरिन् र पनि श्रीमान्ले आफ्नो इच्छा पुरा गरेरै छाड्थे । यसरी नन्दमायाले  यो आफ्नो समस्या २५ वर्ष  श्रीमान बाहेक कसैलाई नभनी लुकाएरै राखिन् । पाठेघर खसे पछि पनि उनले २ वटा सन्तान त  जन्माइन् तर पनि उनको समस्या भने ज्यूँका त्यूँ नै थियो ।
    २५ वर्ष पछि जब उनको छोरीले यो कुरा थाहा पाइन् छोरीले पाठेघरको शल्यक्रिया गर्नुपर्छ भनि काठमाडौं लगिन । शल्यक्रिया सफल भयो र अहिले उनी झण्डै ६० वर्षकी भइन् सहज जीवन विताइरहेको उनले सुनाइन् ।
    नन्दमाया मात्र हैन सिन्धुलीकी ज्ञानु कार्कीले पनि आफुले यो समस्या १६ सम्म कसैलाई नभनी सहेरै बसेको सुनाउँछिन् । उनको यही कारणले गर्दा श्रीमान्ले आफु विरुद्ध सौता पनि ल्याए । यही कारणबाट समाजका सामाजिक कार्यमा समेत उनले कति पटक सहभागि हुन पाइनन् । नन्दमाया र ज्ञानु त यो समस्याबाट पीडित प्रतिनीधिमूलक पात्र मात्र हुन् नेपालमा यस्ता १० लाख महिलाहरु यो समस्याबाट पीडित रहेको महिला प्रजनन् अधिकार कार्यक्रम केडले गरेको एक अध्ययनले देखाएको छ ।  महिलाहरु आङ खस्ने वा पाठेघर खस्ने समस्या कीन लुकाएर राख्ने गर्छन भनी मैले महिला अधिकारकर्मी सविता कोइरालालाई सोधें , उनी भन्छिन् “महिला वा छोरी भनेर जन्मदै गरिएको विभेदको कारण महिलाहरुमा पाठेघर खस्ने समस्या निम्तिएको र यो समस्या भएका महिलाहरुलाई समाजमा फरक दृष्टिकोणले हेर्ने र फरक व्यवहार देखाउने गर्नाले महिलाहरु बाध्य भएर यो समस्या लुकाउने गर्छन् ।” यसरी हाम्रो समाजमा जकडिए रहेको परम्परागत सोचका कारण महिलाहरुको यो आङ खस्ने समेत भनिने पाठेघर खस्ने समस्या उनीहरु आफुमै सीमित राख्न बाध्य छन् ।
    पाठेघर महिलाको शरिरमा मात्र प्राप्त एक संवेनशील अंग हो जहाँ हरेक मानिस जन्मपूर्व ९ महिना सम्म त्यसै घरमा सुरक्षित साथ बसेको हुन्छ । यो घर सामान्य अवस्था भन्दा तल खस्नु वा झर्नुलाई पाठेघर खस्ने भनिन्छ । मानिसको यो जन्मपूर्वको घरलाई हामीले अलिकतिपनि हेरविचार र होसियारी अपनाएनौं भने जिवनभर एक महिलाले त समस्या भोग्नु पर्छ नै परिवारमा नै विभिन्न किसिमका तनावहरु निम्तिन सक्छ ।

    घरैमा सुत्केरी हुनु,सुत्करी भए लगत्तै गह्रौ भारी बोक्नु तथा उचाल्नु,धेरै बच्चा जन्माउनु आदि कारणले महिलाहरुमा पाठेघर खस्ने समस्या हुने  जिल्ला अस्पताल सिन्धुलीका डा. छविलाल थापामगरले बताए । यो समस्याबाट बच्न महिलाहरुले सुत्केरी भएका बेला आराम गर्ने,गह्रौ भारी नबोक्ने,हल्का पटुका बाध्ने,पोषणयुक्त खानेकुराहरु खाने गर्नाले पाठेघर खस्ने समस्याबाट बच्न सकिने उनको भनाई छ । तर डाक्टरको यो भनाइ र नेपाली महिलाहरुको यर्थाय नितान्तै फरक छ । अहिले पनि न त सबै महिलाहरु अस्पतालमैै सुत्केरी गराउन सक्ने अवस्थामा छन् नत उनीहरु सुत्केरी भएका बेला आराम नै गर्न पाउँछन् । यसको सट्टा उनीहरु सुत्केरी भए लगत्तै गह्रौं भारी बोक्ने,लुगा धुने जस्ता बलपूर्वक काम गर्ने,पोषण युक्त खानेपानबाट बन्चित अनि कतिले परिवारका सदस्यहरुबाट माया र सहयोग पाएका हुन्नन् । जुन उनीहरुको रहर नभएर बाध्यता बनेको छ । अझ हाम्रा हजुर आमाहरुले सुनाएका कुरा त झन दर्दनाक लाग्छ उहाँहरु जंगलमा घाँस काट्न जाँदा बच्चा जन्माएर पोल्टामा बच्चा र ढाडमा घाँसको भारी बोकेर ल्याउनु हुन्थ्यो रे जसले गर्दा उहाँहरु पनि यो पाठेघर खस्ने सम्मस्याबाट अछुतो चाँही हुनुहुन्न थियो भन्ने कुरा विभिन्न तथ्याकंहरुले पनि देखाएको छन् ।
    महिला सुत्केरी भएका बेला परिवारका सदस्यहरुको सहयोग र मायाँको खाँचो पर्दछ । सुत्केरी भएका बेला कम्तिमा पनि ६ महिना सम्म जरकमरक काम गर्नु नहुने चिकित्सकहरु बताउँछन् । पाठेघर खस्ने समस्या एकै चोटी नखस्ने र यो तीनवटा चरणगरी खस्ने डा. थापा मगरको भनाइछ जुन पहिलो चरणमा पीसाब फेर्न केहि समस्या हुने र यस चरणमै होसियारी अपनाए यो समस्या ठिक हुन्छ । त्यस्तै पाठेघर खस्ने समस्या दोश्रो चरणमा छ भने चुरा आकारको रिङ पेसरी राख्दा पनि केही सहज हुने तर यो तीन तीन महिनामा फेरीरहनु पर्ने हुन्छ भने पाठेघर तेश्रो चरणमै खसिसकेको छ भने यो रोकथामले नरोकिने र यसको अन्तिम उपचार शल्यक्रिया नै हो भन्छन डा. थापामगर । पाठेघर खस्ने समस्या भएका महिलाहरुलाई तल्लो पेट दुख्ने,ढाड दुख्ने,योनीमा केही अड्कीएको जस्तो हुने,सेतो पानी बग्ने,यौन सम्र्पक गर्दा दुख्ने र काम गर्न गाह्रो हुने,दिसा पीसाब गर्न वा बस्न गाह्रो हुने गर्दछ । यस अवस्थामा महिलाले श्रीमानलाई यौन सन्तुष्टि दिन नसक्दा घरमा सधैं झैझगडा,कुटपिट,श्रीमानले सौता ल्याउने,पूजाआजामा गन्हाउने आइमाइ भनी अछुत व्यवहार गर्ने जस्ता सामाजिक र पारिवारिक हिंसाबाट यस्ता महिलाहरु पीडित हुने गर्दछन् । त्यस्तै सामान्य महिला सरह काम गर्न नसक्दा भोग्नु पर्ने हेला र पारिवारलाई पर्ने आर्थिक बोझको चिन्ता पनि त्यतिकै हुन्छ । यो समस्याले महिलाहरुको तत्कालै मृत्यू नभए पनि यसले महिलाको जिवन कष्टमय र पीडादायी बनाएको छ ।
    यो  समस्या महिलाहरुको कुनै रोग या वंशानुगत गुण पनि नभएको चिकित्सकहरु बताउँछन् । यो त अहिले महिलाहरुको समस्या मात्र नभएर साझा सवालको रुपमा रहेको छ । यति धेरै नेपाली महिलाहरु आङ  वा पाठेघर खस्ने समस्याबाट पीडित भए पनि  सरकारले भने केही वर्ष देखि मात्रै विभिन्न किसिमका जाँच तथा शल्यक्रिया शिविरहरु सन्चालन गर्ने गरेको पाइन्छ । सरकारको यो कदमलाई सकारात्मकरुपमा लिन सकिन्छ तर पनि यस्ता कार्यक्रमहरु उति साह्रो प्रभावकारी भने बनेको पाइदैन् ।  ठेक्का पट्टाको भरमा पाठेघरको शल्यक्रिया गर्ने परिपाटिले कति महिलाहरुको ज्यान जोखिममा परेको कुराहरु सुन्न अनि देख्न पाएका छौ । यति संख्या उती संख्यामा अप्रेशन गरियो भनेर त भनिन्छ तर त्यसको प्रभावकारिता चाँही कति भयो भन्ने कुराको मूल्याकंनमा ध्यान दिएको पाइदैन । यसै सम्बन्धी डा. अरुणा उप्रेतिद्धारा लिखित एउटा लेखमा उल्लेख थियो ,“ एउटा डाक्टरले एक दिनमा बढीमा ५ जनाको मात्रै शल्यक्रिया गर्न सक्छन्, तर एकै डाक्टरले दिनमा २५ वटा सम्म शल्यक्रिया गरेको सुनेको छु,प्रत्येक डाक्टरले महिलाहरुको खसेको पाठेघरमा पैसाको विटो देखेका हुन्छन् । ” रे यसबाट पनि हामी सहजै अनुमान लगाउन सक्छौ कि त्यतिको संख्यामा गरिएको शल्यक्रिया कतिको प्रभावकारी हुन सक्ला ? एक त महिलाहरु शल्यक्रिया गर्ने अवस्था सम्म आउन नचाहाने अर्को शल्यक्रिया गर्नेहरुको लागि पनि प्रभावकारी सेवा नहुदा झनै महिलाहरु यो समस्या बाहिर ल्याउन चाँदैनन् ।
     सिन्धुलीको सन्र्दभमा अहिले सम्म सूर्य विनायक र सुस्मा मेमोरियल ट्रस्टको सहयोगमा तीनवटा पाठेघर शल्यक्रिया शिविर सन्चालन भएको सिन्धुली जिल्ला अस्पताल सिन्धुलीका पब्लिक हेल्थ नर्स अधिकृत रुपमा लामाले जानकारी दिइन् । जुन शिविरमा सिन्धुली लगायतका आसपासका जिल्लाहरुका ७ सय ३८ जना महिलाहरुको पाठेघरको अप्रेशन गरिएको पनि लामाले बताइन् । त्यस मध्ये १० जनालाई काठमाडौ्रं रेफर गरिएको थियो ।  अप्रेशन गरेपछि पनि विभन्न किसिमका समस्याहरु आउने भएकाले शिविरहरु सन्चालन गरे पछि शिविर अवधि पछि न ती अप्रेशन गर्ने डाक्टरहरुलाई महिलाहरुले फेरी भेट्न सक्छन् नत सल्लाह नै पाउन सक्छन्  । यसरी फिल्ड स्तरमा सन्चालन गरेका अधिकांश शिविरहरु महिलाहरुको हितका लागि सन्चालन गरिएको भए पनि त्यसको प्रभावकारीता भने एकदमै न्युन रहेको पाइन्छ ।   जसले गर्दा शिविर व्यवस्थापन देखि लिएर महिलाहरुलाई अप्रेशन पछि पनि के कस्ता कुराहरुमा सजगता अपनाउने तथा पछि पनि समस्या देखा परेमा कहाँ कस्लाई देखाउने र सल्लाह लिन सक्ने त्यस तर्फ पनि ध्यान दिनु जरुरी छ । पाठेघरको अप्रेशन पछि पनि २ हप्ता सम्म राम्रो सँग आराम गर्नु पर्ने,घाउँ पाक्न सक्ने संभावना भएकाले बेला बेलामा सफा गरिहनु पर्ने र चिकित्सकको सल्लाह लिनु पर्ने र गह्रौ भारी बोक्नु नहुने डा. थापामगरको भनाइ छ ।
    समस्याबाट पीडित महिलाहरुले पनि यो मेरो व्यक्तिगत समस्या हो यो समस्या मैले अरुलाई सुनाउनु हुन्न भन्ने मान्यतालाई  आजैबाट हटाऔं ।  समस्याबाट पीडित भए भन्दै आफुलाई अभागी ठानेर बस्ने होइन आफुनो घरपरिवारका सदस्य,छरछिमेका साथीहरु लगायतलाई आफ्नो समस्याबारे बताउने तथा तुरुन्त चिकित्सकको सल्लाह तथा परामर्श लिने गर्नु पर्दछ  ।  परिवारका अन्य सदस्यले पनि समस्या पीडित महिलालाई सहयोग माया र स्नेह दिऔं,समस्या आइसके पछि पछुताउनु भन्दा पनि समस्या आउनै नदिन सबै सदस्य सचेत बनौं । यो कुनै एक महिला मात्रको समस्या नभएर धरै महिला पीडित भएकाले यो एउटा  साझा सवाल नै बनेको छ यतिबेला । प्रजनन स्वास्थ्य तथा प्रजनन सम्बन्धी हक,महिला हिंसा विरुद्धको हक,पैतृक सम्पतिमा छोरीको हक जस्ता महिला हक अधिकारहरु हाम्रो देशको संविधानमा मौलिक हकको रुपमा व्यवस्था भइसकेको छ तर यसको कार्यान्वयनका लागि भने आवस्यक कानुनहरु बन्न बाँकी नै छ ।
    विकास र जनसंख्या विश्व सम्मेलन,महिला विरुद्ध हुने भेदभाव उन्मुलन सम्बन्धी महासन्धि र बेइजिङ घोषणा पत्रमा सरकारले हस्ताक्षर गरी प्रतिबद्धता जनाइसकेको भए पनि यीनको राष्ट्रिय स्तरमा प्रभावकारी कार्यान्वयन भएको पाइदैन । महिलाहरुमा पाठेघर खस्ने समस्या  रहे सम्म नेपालले लैंगिक समानताको लक्ष्य प्राप्त गर्न संभव देखिदैन त्यसैले तपाँइ हामी सबै र राज्य स्तरबाट पनि जनचेतनामूलक कार्यक्रम सन्चालन गर्नुका साथै भरपर्दो र प्रभावकारी कार्यक्रमका लागि जिम्वेबार ढंगले योजना बनाएर लाग्नु आवस्यक देखिन्छ । - रमा कार्की रेडियो सिन्धुलीगढीमा आवद्ध हुनुहुन्छ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: पाठेघर खस्नु महिलाको समस्या मात्र नभएर साझा सवाल Rating: 5 Reviewed By: Unknown
    Scroll to Top