728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Tuesday, May 21, 2013

    सदरुल हत्या प्रकरणमा छानविन समिति गठन गृहमन्त्री नआई शव उठाउन नदिने स्थानीयको अडान


    ७ जेठ, काठमाडौं । सरकारले सप्तरीको क्षेत्र नं ५ का पूर्वसभासद् सदरुल मियाँ हकको हत्याबारे छानविन गर्न समिति गठन गरेको छ । डीआईजी दिनकर शमशेर राणाको संयोजकत्वमा गठित समितिमा पूर्वाचल प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धानका पूर्वाञ्चल प्रमुख सदस्य रहेका छन् । समितिलाई ७ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।
    sadrul-miya

    मियाँको सोमबार राति धारिलो हतियार प्रयोग गरी घाँटी रेटेर बिभत्स ढंगबाट हत्या भएको थियो । स्थानीयस्तरमा लोकपि्रय रहेका मियाँको हत्यापछि सप्तरीको कल्याणपूर शोकमग्न छ । दोषीमाथि कारवाहीको माग गर्दै स्थानीयबासी आन्दोलित भएका छन् । उनीहरुले राजमार्ग अवरुद्ध गरेका छन् भने गृहमन्त्री माधव घिमिरे स्वयंम घटनास्थलमा नआएसम्म शव उठाउन नदिने अडान लिएका छन् ।
    घटनास्थलबाट करिव ३ सय मिटर पर रगतले लत्पतिएको सर्ट र चप्पल प्रहरीको तालिम प्राप्त कुकुरले फेला पारेको छ । हत्याराको खोजीका लागि प्रहरीसँगै तालिम प्राप्त कुकुरसमेत झिकाइएको सप्तरीका प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेलले जानकारी दिनुभयो ।
    हत्या कसले र किन गर्‍यो खुल्न सकेको छैन । धेरै समय आफ्नै निर्वाचन क्षेत्रमा बिताउने गरेका पूर्वसभासद मियाँले आफू असुरक्षित रहेको भनेर कहिल्यै नबताएको उनी निकटकाहरुले बताएका छन् ।
    सप्तरी जिल्लाको कल्याणपुर-२ स्थित बिसनपुर चौकस्थित पेट्रोलपम्पमा रहेको भवनको माथिल्लो तलामा उनको हत्या भएको स्थानीयले बताएका छन् । एक्लै सुतेका मियाको हत्या भएको विहान साढे ८ बजेमात्रै परिवारका सदस्यले थाहा पाएको स्थानीयवासीले बताएका छन् ।
    सप्तरीको कल्याणपुरमा पूर्वसभासद मियाको इटाभट्टा उद्योग र पेट्रोलपम्प व्यवसाय छ । मुस्लिम समुदायका मिया सबैसँग मिलनसार रहेको स्थानीय बताउँछन् । बिसनपुर चौकमा आफ्नो घरभन्दा ५ सय मिटर टाढा रहेका पेट्रोल पम्पमा उहाँको हत्या भएको हो ।
    कल्याणपुर निवासी मियाले ०६४ सालको संविधानसभा चुनावमा सप्तरी क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उमेद्वारका रुपमा १० हजार ६ सय ३ मत ल्याएर जित्नुभएको थियो । सो क्षेत्रको चुनावमा एमाले दोस्रो, माओवादी तेस्रो र कांग्रेसले चौथो स्थान हासिल गरेका थिए । मियाँ नेपाली कांग्रेस पृष्ठभूमिका व्यक्ति हुनुहुन्थ्यो ।
    पूर्वसभासद मिया एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको २० दलीय गठबन्धनको सदस्य समेत सहभागी हुनुहुन्थ्यो । संविधानसभामा रहँदा अल्पसंख्यक मुस्लिम समुदायको हितका लागि उहाँले आवाज उठाउनुभएको थियो । संविधानसभामा साना दलसँग मिलेर रोष्टम घेर्ने र नारावाजी गर्नेक्रममा उहाँ केही दिन निलम्बनमासमेत पर्नुभएको थियो ।

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: सदरुल हत्या प्रकरणमा छानविन समिति गठन गृहमन्त्री नआई शव उठाउन नदिने स्थानीयको अडान Rating: 5 Reviewed By: Unknown
    Scroll to Top