728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Saturday, August 23, 2014

    “सूर्तिमा कर बढाऔं, मृत्यु र रोगलाई घटाऊँ – डा. हेमराज कोइराला

    आज विश्व सूर्तिसेवन रहित दिवस
    – डा. हेमराज कोइराला

    “सूर्तिमा कर बढाऔं, मृत्यु र रोगलाई घटाऊँ” भन्ने नाराका साथ “विश्व सूर्तिरहित दिवस” यसपाली पनि विभिन्न कार्यक्रमका साथ मनाइदैछ । धुम्रपान तथा सूर्तिजन्य पदार्थहरुको सेवनका कारण जनस्वास्थ्यले वेहोर्नु परेको अपुरणीय क्षतिलाई न्यूनिकरण गर्दै यि पदार्थहरुका कारणले हुने मृत्यु प्रति विश्व मानवताको ध्यानाकर्षण गराउने हेतुले २४ घण्टा सम्म सवै किसिमका सूर्तिजन्य पदार्थहरुको सेवन तथा वेचवीखनलाई निरुत्साहीत गरेर हरेक वर्ष मई ३१ तारिखका दिन यो दिवस मनाइन्छ । विश्व स्वास्थ्य संगठनको आव्हानमा र सदस्य राष्ट्रहरुको संलग्नतामा सन् १९८७ देखि यो दिवस मनाइदै आईएको हो । 

    धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवनकै कारणले प्रत्येक ६ सेकेन्डमा एउटा मान्छेले ज्यान गुमाउछ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर यसमा आश्चर्य मान्नु पर्दैन किनकी हरेक वर्ष लगभग ६० लाख (६ मिलीयन)मान्छे यि पदार्थहरुकै सेवनका कारणले अकालमै मर्ने गर्दछन् । मृतक मध्ये ५४ लाख मान्छेहरु यस्ता पदार्थहरूका प्रत्यक्ष सेवक हुन भने ६ लाख हाराहरीका मानीसहरु ती निरीह प्राणी हुन जसको मृत्यु अरुले गरि दिएको धुम्रपान वा सुर्तिजन्य पदार्थको खेती, उत्पादन र वेचवीखनमा संलग्नताको कारणले हुने गर्दछ । यस्तो भयावह मृत्युवरण वृद्धिको तथ्यांक ई.सं.२०३० सम्ममा ८० लाख पुग्ने अनुमान गरिएकोछ । 
    “ग्लोबल वर्डन अफ डिजीज स्टडिज” ले ई.सं.२०१० मा गरेको अध्ययन अनुसार धुम्रमान तथा सुर्तिजन्य पदार्थको सेवननै स्वास्थ्यका लागि संसारको सवै भन्दा दोश्रो घातक रिस्क फ्याक्टर हो । वेलायतको “क्यान्सर रिसर्च फाउन्डेसन” ले जारी गरेको तथ्यांक अनुसार संसार भरी सुर्तिजन्य पदार्थहरुको सेवन गर्नेहरुको संख्या लगभग ८५ करोड २० लाखको हाराहारीमा रहेकोछ । जसमध्ये ६१ करोड ६० लाख व्यक्तिहरु धुम्रपानको लतमा छन भने २४ करोड ७० लाख गुट्खा, खैनी, पान, पानमसला जस्ता धुवाँरहित सुर्तिजन्य पदार्थहरुको सेवनमा सम्लग्न छन् । 
    सुर्तिजन्य पदार्थ सेवन ः–
    सुर्ति सेवनका धेरै तरिकाहरु छन् । जसमध्ये सुर्तिका सुकेका पातहरुलाई जलाएर धुम्रपान गर्न वा मुखमा च्याप्ने, चवाउने, निल्ने वा नाकले सुंघेर नश लिने वा गुदद्वारमा च्याप्ने जस्ता विधि प्रचलित छन् ।
    सुर्ति ः– सुर्ति निकोटियाना प्रजातीको घांसिय विरुवा हो । हजारौ वर्ष देखि यसको पातहरुलाई सुकाएर नसा गर्ने हेतुले विभिन्न रुपमा प्रयोग गरिएको पाईन्छ । सुर्तिजन्य पदार्थको प्रयोग विधिलाई धुम्रयुक्त र धुम्ररहित गरेर दुई श्रेणीमा विभक्त गरिएको छ । बिडी चुरोट सिगार, वट्टा चिलिम, हुक्का, पाईप जस्ता सुर्ति प्रयोगका विधिहरु धुम्रपानीय विधिहरु हुन भने सुर्ति, खैनी, गुट्खा, पान, पानमसला, मावर, सनस, गुल, बज्जर, नस, क्रिमयुक्त सुर्ति, सुर्ति भिजाएको पानी वा सुर्ति मिश्रीत अन्य पदार्थहरुको सेवन धुम्रपान रहित सुर्ति सेवनका विधिहरु हुन् । सुर्ति सेवन गर्दा सुर्तिमा भएका निकोटिन लगायत अन्य नशालु पदार्थहरुले हाम्रो स्नायु प्रणालीका ग्याङ्गलीयन तथा नर्भ इन्डिङ्गहरुलाई उत्तेजित गरिदिंदा यसले एक किसिमको ट्रयाङ्गकुलिटी, युफोरीया र परमानन्दको फिलिङ्ग पैदा गर्छ । फलत् यो अनुभव पाउन मान्छेले दोहो¥याइ–दोहो¥याइ सुर्तिजन्य पदार्थको सेवन गर्ने गर्दछ । 
    सुर्तिमा पाइने हानीकारक तत्वहरु ः– सुर्तिको जलन बाट उत्पादित धुवामा ४००० र सुर्तिका पातमा ७००० स्वास्थ्यमा प्रतिकुल असर पार्ने तत्वहरु पाईन्छ । जसमध्ये ७० वटा तत्वहरु क्यान्सर रोगका लागि जिम्मेवार छन् । सुर्तिको धुवामा पाइने टार, पोली–न्यूक्लिएर अरोमेटिक हाइड्रोकार्वन, बिटा नेप्थाइलीन, एन–नाइट्रोसोनोरनिकोटीन बेन्जोपाईरिन, निकील, आर्सेनिक, पोलोनियम–२१० नाइट्रोसामाईन, हाईड्राजीन, भिनाईलक्लोराईड जस्ता सुर्तिको धुवामा पाईने तत्वहरु मुख्य क्यान्सर कारक तत्वहरु हुन् भने फिनोल, क्रिसोल, क्यारेकोल इन्डोल र कार्बाजोल जस्ता पदार्थहरु क्यान्सर गराउनमा सहयोगी तत्व हुन । त्यसैगरी धुवामा पाईने कार्वन–मोनोअक्साईड, हाईड्रोजन साईनाइड, अमोनिया, बीटाडीन, बेन्जीन, क्याडमियम जस्ता तत्वहरु पनि मुटु तथा रक्त संचार, स्नायु तथा नाडी मन्डल, पेट तथा रगतका रोगहरुका कारक तत्वहरु हुन । सुर्ति सेवनलाई व्यापारीकरण गर्ने र सेवकहरुको संख्या वढाउने होडमा चुरोट, बिडी, पान मसला, गुट्खाहरुमा चकलेट, भेनीला, चिनी, ल्यूकोराइस् र अन्य जडीबुटीहरु र मरमसला पनि मिसाइएको हुन्छ । यि मसलाहरु स्वास्थ्यका लागि त्यति हानीकरक त हैनन तर यिनले सुर्तिजन्य पदार्थको स्वाद वढाई दिने हुँदा सुर्ति सेवक स्वाद मानीमानी सेवन गर्न रमाउने हुँदा सूर्तिको नशामा नराम्ररी जकडिने पुग्दछ । 
    सुर्ति तथा सुर्तिको जलनबाट उत्पादित धुवामा पाइने ल्यूकीमिया गराउने वेन्जीन, फोक्सोको क्यान्सर गराउने रेडियोएक्टिव पोलेनियम–२१० पनि अत्यन्त हानीकारक तत्वहरु हुन । लन्डनका क्यान्सर अनुशन्धानकर्ताहरुले गरेको अनुमान मुताविक एक वर्ष सम्म ३० वटा चुरोटको दैनिक सेवन गर्ने गर्दा निस्किएका रेडियोएक्टिभ तत्वहरुले शरिरलाई त्यहि परिमाणमा हानी पु¥उदछ जुन ३०० पटक एक्सरे गर्दा हुने गर्दछ ।
    सुर्ति सेवनका वेफाइदा ः–
    धुम्रपान तथा सुर्तिजन्य पदार्थहरुको सेवन गर्ने मान्छेले प्रत्येक हप्तामा एक दिन वरावरको आयु छोट्याउछ । साथै यसको सेवनबाट मुख्य रुपमा मुख, गिजा, श्वासनली, दात तथा फोक्सोको क्यान्सर ल्यूकेमिया (रगतको क्यान्सर), पेट, मृगौला, प्यानक्रियाज, ठूलो आन्द्रा, मुत्र थैली र पाठेघरको क्यान्सर हुने खतरा वढेर जान्छ । त्यसै गरी मुटु तथा रक्तनली संग सम्बन्धित रोगहरु, स्ट्रोक प्यारालाईसिस, अन्धोपन, गिजा सुन्नीने, दम–खोकी, न्यूमोनिया, सीओपीडी, रक्त नली सांगुरिने, स्नायु तन्तुहरुको क्षय, श्वासन प्रणालीका दिर्घ रोगहरु लाग्ने, हड्डी खिइने र भाच्चिने, नपुुंसकता र बाझोपन वढ्ने, थकान, अनिन्द्रा, अपच, मुड डिसअर्डर (मानसिक असुन्तलनता) जस्ता रोगको खतरा बढेर जान्छ । गर्भिणी महिलाले धुम्रपान गरेमा अपाङ्ग तथा मृत वच्चा जन्मने सम्भावना रहन्छ । धुम्रपान तथा सुर्तिजन्य पदार्थहरुमा कोषहरुलाई हानी गर्ने, जीनहरुलाई म्यूटेसन गराउने, कोषहरुको अनियन्त्रीत विभाजन गराउने तत्वहरु रहेका हुन्छन । यि तत्वहरुले सिधै डिएनए लाई क्षती पु¥याउनुका साथै क्यान्सरको लागि जिम्मेवार अन्कोजिनहरुलाई उत्तेजित गरी क्यान्सरलाई जन्म दिन पुग्दछन् । त्यसै गरी सुर्ति, खैनी र गुट्खा सेवनले पनि मुख तथा पेटको क्यान्सर त गराउछ नै साथै मुटु तथा मुटुका रक्तनली सम्वन्धित रोगहरु, ग्रन्थीहरु सुन्नीने, रोग प्रतिरोधात्मक क्षमताको कमी गराउने, रगतनको क्यान्सर, वोनम्यारो सम्बन्धित समस्या र नपुंसकतालाई निम्त्याउछ । खैनीमा मिसाएको चुनाले मुखको तथा पेटको अल्सर गराउदछ भने गुट्खा तथा अन्य सुर्तिहरुको सेवनले रक्तचाप वढाउने, मुटुरोग, स्नायु–क्षय, कलेजो, मृगौला तथा आन्द्राहरुको कार्यको क्षमतामा ह्रास, दाँतको समस्या, मधुमेह, मोटोपन, मानसिक तनाव, चिन्ता, डर र उदाशिनताका समस्याहरु ल्याउँदछ ।
    सूर्ति सेवकहरुको पुर्नस्थापना
    धुम्रपान र सूर्तिजन्य पदार्थहरु त्यागेर सामान्य स्वास्थ्य जीवन वाच्ने चाहाँना सवैको हुन्छ तर हुदा हुदै पनि नशा मुक्त हुन धेरै व्यक्तिहरु असफल छन् । किनकी सूर्तिजन्य पदार्थहरुको त्याग गर्ने काम क्रमिक प्रक्रिया हो । यो काम आजको भोली नै गर्न सकिदैन । यसका लागि दृढसंकल्पको आवश्यकता पर्दछ ।सुर्तिजन्य पदार्थहरुलाई छोड्दा धेरैलाई छटपटी लाग्ने औडाहा हुने टाउको दुख्ने काम छुट्ने चक्कर लाग्ने छाती तथा पेटमा भारीपन बढ्ने नीन्द्रा नपर्ने एकाग्रता ध्यान लय र स्मृतिको क्षमतामा ह्रास आउने र व्यावहारिक भ्रष्टताका लक्षणहरु देखापर्दछन् । सुर्ति सेवकहरुको पुर्नस्थापना गर्दा यी लक्षणहरु छुटाउन बल गरीन्छ । यसका लागी सूर्ति सेवकहरुलाई नशा मुक्त गराउन मनो परामर्श, गु्रप थेरापी, व्यवाहरीक तालीमहरु, सम्मोहन, योग–थेरापि, प्राकृतिक चिकित्सा, अकुपन्चर जस्ता उपचार पद्धतिहरुले सहयोग गर्दछ । उपरोक्त व्यवहारीक विधि हरुपनि विफल भएमा लत छुटाउन निकोटिन रिप्लेसमेण्ट थेरापी गर्नु पर्ने हुन्छ । निकोटिन रिप्लेसमेण्ट थेरापीमा निकोटिन गम , छालामा टाँस्ने निकोटिन पट्टी, नाकमा हाल्ने स्प्रे, मुखले तान्ने निकोटिन इन्हेलर र जिब्रो मुनि राख्ने निकोटिन चक्कि दिएर धुम्रपान तथा सुर्तिको लत छुटाइन्छ ।यसका अलावा ईलेक्ट्रिक सिगरेट , अदुवा, ल्वाङ्ग, जीरा जस्ता मसालाहरु दिएर पनि नशा छुटाउने गरिन्छ । 
    अन्तमा समाजलाई धुम्रपान तथा सूर्तिजन्य पदार्थ मुक्त बनाउन निजी, सरकारी तथा गैर सरकारी संस्थाहरुले यसको सेवनबाट हुने वेफाइदाका वारेमा जनचेतनामुलक कार्यक्रमहरु देशव्यापीरुपमा जनता समक्ष लैजान जरुरी छ । यसका लागी आजको विश्व सुर्ति सेवन रहित दिवसको नारामा भनिए जस्तै सुर्ति तथा सुर्ति जन्य पदार्थहरुको उत्पादन तथा बेचबिखनमा कडाई गर्नै पर्छ र यी पदार्थको उपलब्धतालाई कठीन बनाउनु पर्छ । बेचबिखन गर्नै परेको खण्डमा अत्यन्त धेरै कर लगाएर बेच्नु पर्छ ताकि यसको सेवनले हुने मृत्यु र रोग दुबै लाएई कम गराउन सकियोस ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: “सूर्तिमा कर बढाऔं, मृत्यु र रोगलाई घटाऊँ – डा. हेमराज कोइराला Rating: 5 Reviewed By: Unknown
    Scroll to Top