शम्भु दंगाल, काठमाडौं । नेकपा–माओवादी निकट मजदुर संगठन अखिल नेपाल क्रान्तिकारी सञ्चार, छापाखाना र प्रकाशन मजदुर संघले कान्तिपुर पब्लिकेशनमा विभिन्न मागहरु राख्दै आन्दोलन गरिरहेका छन् । कान्तिपुरमा थालेको आन्दोलन विरुद्ध मिडिया सम्बद्ध पाँच संस्थाहरुले पनि आन्दोलन गर्ने भएपछि कान्तिपुरको किचलो थप चर्किने संकेत देखिएको छ ।
दुई दिनदेखि पत्रिका वितरणमा समेत अबरोध पुर्याइएपछि विभिन्न पाँच संचार संस्थाहरुले विज्ञप्ती निकालेर तिव्र विरोध गरेका छन् भने कान्तिपुर पब्लिकेशन व्यवस्थापनले माग सम्बोधन नगरी झन अरु मजदुर निकाल्न थालेको भन्दै संघले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने घोषणा गरेको छ ।
अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका संयोजक रामदीप आर्चायले भने–‘काठमाडौंमा करिब १५, पोखरामा ४, चितवनमा ३ जना सहित अन्य ठाँउमा पनि मजदुर निकालिएको भन्ने कुरा आएको छ, सात बुँदे माग सम्बोधन नगरी आन्दोलनमा दमन, धरपकड हुन्छ भने हामी सशक्त रुपमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेर प्रतिरोध गर्छौ’ ।
यता, सञ्चार सम्बद्ध पाँच ओटा संस्थाले राजधानीमा शनिवार संयुक्त पत्रकार सम्मेलन गरेर मिडिया उद्योगलाई स्वतन्त्र ढंगले काम गर्ने वातावरण बनाउन माग गरेका छन् । सरकारले स्वतन्त्र, निर्वाध रुपमा प्रेस संचालन गर्ने वातावरण नबनाएको भन्दै संचार संस्थामाथि हुने जुनसुकै अवरोधको डटेर सामना गर्ने बताएका छन् ।
उनीहरुले शुक्रबार संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै प्रेस स्वतन्त्रता तथा जनताको सुसूचित हुने अधिकारमाथि प्रहार भएको भन्दै शनिबारदेखि कडा आन्दोलन गर्ने बताएका थिए । मिडिया संचालकहरुको संस्था नेपाल मिडिया सोसाइटी, टेलिभिजन ब्रोडकास्टर्स नेपाल, ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान), सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) र रेडियो प्रसारक मञ्चले आन्दोलनमा उत्रिने बताएका हुन् ।
महासंघका संयोजक आर्चाय भन्छन्–‘सूचना तथा सञ्चार मन्त्रालय अन्तर्गतको न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोकेको न्यूनतम तलब स्केल १० हजार ८ रुपैंया हुनुपर्ने, ठेकेदारी प्रथाको खारेजी, २४० दिन पूरा गरेका कामदार कर्मचारीलाई स्थायी नियत्तिपत्र दिनुपर्ने लगायतका ७ सुत्रीय मागहरु पूरा नगर्ने, उल्टै दमन र धरपकड गरिरहे सशत्त कडा आन्दोलन चर्काउछौं ।’ मजदुरहरुले धर्ना दिने तथा कान्तिपुर दैनिक र दी काठमान्डु पोष्टको वितरणमा अवरोध पु¥याएका छन् ।
मिडिया संचालकहरुको संस्था एकजुट भएर मजदुर विरोधी काम गर्नु आपत्तिजनक भएको र यसले समस्या सुल्झाउने भन्दा पनि बल्झाउने आर्चाय बताउँछन्, ‘उनीहरु जुन रुपमा प्रस्तुत हुन्छन्, हामी त्यही रुपमा कडा प्रतिरोध गरेर अघि बढ्छौ, मजदुरको जित नभएसम्म हामी लडिरहन्छौँ ।’
समस्या हल गर्नका लागि व्यवस्थापन पक्ष र मजदुर संघबीच अहिलेसम्म कुनै छलफल भएको छैन् । वार्ताका लागि कुनै पक्षले पनि पहल गरेका छैनन् भने दुबै पक्ष आमने सामने भएर जाने मनस्थितिमा रहेका छन् । धर्नामा बस्ने आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरी तीनकुने प्रहरी कार्यालयमा राखेको छ । शनिबार साँझ क्रान्तिकारी ट्रेड यूनियन महासंघले थप आन्दोलन घोषणा गर्ने जनाएको छ । यसले कान्तिपुरको किचलो अझै केही समय लम्बिने स्पष्ट संकेत गरेको छ ।
.jpg)
0 comments:
Post a Comment