728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Monday, July 7, 2014

    अघोषित ‘रेडलाइट एरिया’ मा चौबिसै घण्टा प्रहरी

    पहिले नयाँ बसपार्क भनिने अहिलेको बाग्लुङ बसपार्क बाग्लुङ–पोखरा सडकमार्ग खुलेदेखि स्थापना भएको हो। बसपार्क सञ्चालनमा आएदेखि सुरु भएको यहाँको यौन व्यवसाय यतिबेला खलबलिएको छ।

    बाक्लो बस्तीबीच सञ्चालित बसपार्कमा हुने छ्यापछ्याप्ती यौन व्यवसायकै कारण यसलाई अघोषित ‘रेडलाइट एरिया’का रूपमा चिनिन्थ्यो । यो ठाउँ यौन अखडाकै रूपमा गनिन थालेपछि स्थानीयले प्रहरी प्रशासनसँगको सहकार्यमा त्यसविरुद्ध अभियान नै चलाए ।

    १५ वर्षदेखि होटलका नाममा यौन व्यापार गर्दै आएकी सिर्जना अहिले होटल बन्द गर्ने सुरमा छिन्। 'चार महिनादेखी सुको कमाइ छैन, पुलिस चौबिसै घण्टा बसेपछि को आउँछ र?’ ३८ वर्षीया उनी भन्छिन्, 'अहिले त भाडा तिर्न पनि मुस्किल छ। केटीहरू सब गइसके। यहाँ केटी देख्यो कि पुलिसले उठाइहाल्छ।’ प्रहरीले चौबिसै घण्टा पहरा दिन थालेपछि ग्राहक आउन छाडेको उनले बताइन्।

    ग्राहक आउन छाडेपछि यहाँका अधिकांश सटर बन्द भएका छन् । यौन धन्दा चलाइएका धेरै सटर बन्द भइसके। बाँकी रहेका पनि बन्द हुने क्रममा छन् । 'होटेलका नाममा यौन क्रियाकलाप गर्ने सटर बन्द भइसकेका छन्,’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी वसन्त लामाले भने, 'अहिले यहाँको यौन बजारलाई रोक्न सफल भएका छौँ।’ आफ्नै छोरीचेलीसँग हिँड्नसमेत गाह्रो हुने अवस्था आएपछि स्थानीयको पहलमा यहाँको यौन बजारलाई भत्काउन सकेको एसपी लामाले बताए। 

    रेस्टुरेन्ट र होटल व्यवसायको आवरणमा बाग्लुङ बसपार्कमा खुल्लमुखल्ला यौन व्यवसाय भएपछि कास्की प्रहरी पहिलो पटक खरो रूपमा उत्रिएको हो। पोखरामा देह व्यापार गराउने होटल र रेस्टुरेन्टहरूको भित्री रूपमा संगठन छ। उनीहरूको यही जालो भत्काउन प्रहरीले निकै कडा मेहनत गर्नुपर्यो। अहिले यहाँ कुनै चहलपहल छैन। पहिले बाग्लुङ बसपार्कमा मात्रै मासिक ४५ देखी ५० हजार कन्डम बिक्री हुन्थ्यो भने पुलिसले निगरानी बढाएको चार महिनामा जम्मा ३ हजार ६ सय मात्र बिक्री हुनुले पनि यहाँको यौन बजार ध्वस्त भएको पुष्टि गर्छ। 
    पश्चिमाञ्चलको एक मात्र कन्डम डिलर हेल्दी स्माइल इन्टरनेसनल नेपालका प्रबन्ध निर्देशक ध्रुव बरालले बाग्लुङ बसपार्कको यौनबजार पहिलो पटक पूरै ध्वस्त भएको बताए। 'बाग्लुङ बसपार्कमा मात्रै मासिक ५० हजार कन्डम बिक्री हुन्थ्यो,’ उनले भने, ' 'चार महिनादेखि महिनामा नौ सय कन्डम मात्रै बिक्री भएको छ।' बरु अहिले बाग्लुङ बसपार्कको यौन बजार विस्थापित भएर पोखराका अन्य ठाउँमा विस्तार हुन थालेको छ।

    यौन बजारको गन्तव्यमात्र परिवर्तन भएको बताउँछन्, स्थानीय बासिन्दा। त्यहाँ बन्द भएर सेक्स वर्कर अन्त छरिएपछि समस्या झन् बढेको स्थानीयको भनाइ छ। अहिले त फोनकै भरमा व्यवसाय चलाउने पनि छन्। होटल बन्द गरेपछि अहिले कोठा/फ्ल्याट भाडामा लिएर यौन व्यापार गरेको पनि पाइएको छ।

    सेक्सका अखडा बन्द भएपछि यौनकर्मीसँग सम्पर्क हुने एउटा उत्तम माध्यम बनेका छन्, एजेन्टहरू । विभिन्न रूप र शैलीमा भेटिने यी एजेन्टले यौनकर्मीसँग सम्पर्क गराइदिएकै भरमा मोटो रकम असुल्छन् । यहाँ पाँच हजारदेखि ३० हजारसम्म लिने यौनकर्मी छन्। जसको केही प्रतिशत एजेन्टले पाउँछन्।

    यौन व्यापारकै कारण पोखराको सांस्कृतिक र पर्यटकीय महत्व ओझेलमा पर्न लागेकोप्रति संस्कृतिकर्मी चिन्तित छन्। ‘यस्ता नकारात्मक गतिविधिले यहाँको सांस्कृतिक र पर्यटकीय महत्व गौण होला भन्ने चिन्ता छ,’ संस्कृतिकर्मी तीर्थ श्रेष्ठ भन्छन्, 'यो समस्या चाँडै निर्मूल पार्नुपर्छ।’


    एसपी लामाका अनुसार अधिकांश यौनकर्मी युवती गाउ“ फकिर्सकेका छन्। केहीले पेशा परिवर्तन गरेका छन्। केहीले पोखराका विभिन्न स्थानमा फरक शैलीमा यौनधन्दा सञ्चालन गरेको रिपोर्ट उनीकहाँ आएको छ। 'हामीले मुख्य एरिया मानिएको बाग्लुङ बसपार्कलाई टार्गेट गरेका हौँ, अब त्यहाँ पहिले जसरी खुल्लमखुल्ला यौनधन्दा हुने काम ठप्प छ,’ उनी भन्छन्, 'तर, पेशेवर युवतीहरू पोखराका अन्य ठाउँमा गएर कारोबार गरिरहेका छन् भन्ने खबर छ। त्यहाँ पनि हामी निगरानी बढाउँछौँ।' अहिले डेरा र फ्ल्याट लिएर यौन व्यवसाय चलाएकाहरूलाई खोजिरहेको उनले बताए।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: अघोषित ‘रेडलाइट एरिया’ मा चौबिसै घण्टा प्रहरी Rating: 5 Reviewed By: Unknown
    Scroll to Top