728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Monday, September 15, 2014

    दसैंका यात्रु: पूर्वका प्रत्येक नयाँ रुटमा पाँचवटा बस थपिने


    चार दिनमा ८६ हजार टिकट बिक्री काठमाडौं : यातायात व्यवसायीले पूर्वका प्रत्येक रुटमा दैनिक पाँचवटा बस थप्ने तयारी गरेका छन्। दसैंको समयमा पूर्वका रुटमा सबैभन्दा बढी यात्रुको चाप बढ्ने भएकाले व्यवसायीले अन्य दिनभन्दा बढी सञ्चालन गर्न लागेका हुन्। पश्‍चिमका प्रत्येक रुटमा दैनिक दुईवटासम्म थप्ने तयारी छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रवक्ता तथा महासचिव सरोज सिटौलाका अनुसार दसैंलाई भनेर ६ सय नयाँ बस थप्न लागिएको छ। दसैंका लागि दुई सय ५० को संख्यामा नयाँ ठूला बस, डेढ सय वातानुकूलित तथा डिलक्स बस र दुई सयको संख्यामा मिनी बस ल्याउन लागिएको छ। नयाँ बस बनेपा, काठमाडौं, वीरगन्ज, लाहान, नेपालगन्जलगायतका स्थानमा निर्माण भइरहेको उनले बताए।

     'यात्रुको चाप हेर्दा यसपटक पूर्वको रुटमा सामान्य दिनभन्दा बढी बस थप्न लागेका छौं', उनले भने, 'पूर्वका प्रत्येक रुटमा प्रत्येक दिन पाँचवटासम्म बस थप्दै छौं। पश्चिमको रुटमा भने दैनिक दुईवटा थप्ने योजना छ।' मिनी बस पश्‍चिम र छोटो दूरीका रुटमा थपिनेछ। उनका अनुसार विराटनगर, झापा, धरान, धनकुटा, बिर्तामोड, इलाम, भद्रपुर, भोजपुर, तेह्रथुम, संखुवासभा, राजविराज, सिराहा, पाँचथर, सिन्धुली, जनकपुर, गौरलगायतका रुटमा सबैभन्दा बढी यात्रुको चाप बढेको छ। यस्ता रुटमा दैनिक पाँचवटा सवारी साधन थपिनेछ। यसैगरी नेपालगन्ज, बुटवल, भैरहवा, सुर्खेत, दाङ, बर्दिया, पोखरा, नवलपरासी, पाल्पा, कञ्चनपुर र कैलालीको रुटमा पनि यात्रुको चाप बढी देखिएको छ। 

    यो रुटमा पनि दैनिक दुईवटासम्म बस थपिनेछ। दसैंका लागि दुई सय ५० को संख्यामा नयाँ ठूला बस, डेढ सय वातानुकूलित तथा डिलक्स बस र दुई सयको संख्यामा मिनी बस ल्याउन लागिएको छ। महासंघका अनुसार यात्रु संख्या असोज पाँचदेखि १५ गतेसम्म अत्यधिक छ। यही समयमा सामान्य दिनभन्दा झन्डै तेब्बरको संख्यामा यात्रुको चाप बढ्छ। दसैंको समयमा चारवटा नाका थानकोट, फर्पिङ, बालाजु र साँगाबाट दैनिक तीन हजार दुई सयको संख्यामा यात्रुवाहक बस राजधानीबाट बाहिरिने प्रवक्ता सिटौलाले जानकारी दिए। सामान्य दिनमा तीनवटा नाकाबाट एक हजार ६ सय यात्रुवाहक बस बाहिरिन्छ। 

     नयाँ बस थप्ने योजना भए पनि बढ्दो लोडसेङिङका कारण बस निर्माणमा ढिलाइ भइरहेको जानकारी गराउँदै प्रवक्ता सिटौलाले सर्वसाधारणको सुविधालाई ध्यानमा राखेर बस निर्माण भइरहेका स्थानमा सरकारले लोडसेडिङ घटाउनुपर्ने माग गरेका छन्। 'नयाँ बस निर्माण गरेर थप्न लागिए पनि लोडसेडिङका कारण निर्माण कार्य द्रुत गतिमा हुन सकेको छैन, हामीले पटक पटक सरकारलाई लोडसेडिङ कम गर्न आग्रह गरेका छौं। तर कुनै सुनुवाइ भएको छैन', उनले भने, 'समयमा बस निर्माण हुन सकेन भने यात्रुलाई निर्धारित समयमा गन्तव्यसम्म पु:याउन समस्या आउन सक्‍छ।' महासंघले शनिबारसम्म ६० प्रतिशतभन्दा बढी टिकट बिक्री भइसकेको जानकारी दिएको छ।

     यातायात विभागका प्रवक्ता मुक्ति केसीले शनिबारसम्म ८६ हजार टिकट बिक्री भइसकेको जानकारी दिए। उनका अनुसार दिनहुँ अनुगमन गरिए पनि हालसम्म बढी रकम लिएर टिकटको कालोबजारी गर्ने कुनै पनि व्यक्ति पक्राउ परेको छैन। 'हामीले दिनहुँ अनुगमन गर्दैआएका छौं', प्रवक्ता केसीले भने, 'तर त्यस्तो व्यक्ति फेला पार्न सकेका छैनौं।' महानगरीय ट्राफिक प्रहरी महाशाखाले कम्पनीहरूले बिक्री गरेको टिकटको पूर्ण विवरण उपलब्ध गराउन महासंघसँग आग्रहसमेत गरेको छ।

     सुरक्षित यात्राका सडक पूर्वाधार बनाउन आग्रह बाढी पहिरोका कारण प्रायजसो जिल्लाका सडक संयन्त्र भत्किएपछि सवारीसाधन दुर्घटनामा पर्न सक्ने सम्भावनालाई दृष्टिगत गर्दै यातायात व्यवसायीले दसैंअघि नै सडक पूर्वाधारलाई सुधार गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधिलाई आग्रह गरेका छन्। बाढी पहिरोका कारण त्रिशूली खण्ड, फर्पिङ खण्ड, सिन्धुपाल्चोक खण्ड, दाङ र बर्दिया खण्ड, तेह्रथुम, बर्दिवास सडक खण्डलगायत करिब एक दर्जन सडक र पुल अहिले क्षतिग्रस्त भएका छन्। दसैंको समयमा यस्तो सडकबाट यात्रुको बढी चाप बोकेर सुरक्षित यात्रा गर्न कठिनाइ हुने भन्दै अस्थायी रूपमा भए पनि तत्कालै सडक र पुल मर्मत गर्न यातायात महासंघले मन्त्री निधिलाई भेटेर आग्रह गरेका हुन्।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: दसैंका यात्रु: पूर्वका प्रत्येक नयाँ रुटमा पाँचवटा बस थपिने Rating: 5 Reviewed By: Unknown
    Scroll to Top