'फलानो अस्पतालको फलानो डाक्टरको लापरबाहीले हाम्रो बिरामीको ज्यान गयो, क्षतिपूर्ति दिलाइपाऊँ'– काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा यस्ता उजुरी थुप्रै परेका छन्। ज्यान बचाउने पवित्र र संवेदनशील पेशा अँगाल्ने चिकित्सकले कसैको ज्यानसँग खेलाँची नगर्नुपर्ने हो तर यथार्थको तस्बिर त्यति सफा छैन।
जब घाँटीको अपरेसन गर्नुपर्ने बिरामीको पाठेघर फालिन्छ, डाक्टरमाथि विश्वास र भरोसा गर्ने आधार रहोस् पनि कसरी?
डाक्टरबाट गल्ती हुन सक्छ। तर, मानवीय त्रुटि र लापरबाहीबीच एउटा प्रस्ट सीमारेखा हुन्छ। त्यो मेटियो भने अनर्थ हुन्छ। कसैको अनाहकमा ज्यान जान्छ, कोही नराम्ररी बदनाम हुन्छ।
पीडितहरूले भन्ने गरेझैँ डाक्टरहरूले साँच्चै लापरबाही गर्छन् त? धनबहादुर खड्का, गोपाल दाहाल र प्रवीण ढकालको टिमले शल्यक्रियाका निम्ति यो 'क्रिटिकल' विषयलाई अपरेसन थिएटरभित्र पुर्यालएको छ।
डाक्टरले उपचारमा लापरबाही गर्दा बिरामीको मृत्यु भएको आरोपमा मोरङको बेलबारी प्रहरीले मेरी स्टोप सेन्टर, इटहरीका चिकित्सक डा. सूर्यदेव साहलाई केही दिनअघि पक्राउ गर्यो्। आफन्तको उजुरीको आधारमा उपचारमा लापरबाही गर्दा मोरङको हरैचा–३ की रिता श्रेष्ठको मृत्यु भएको भन्दै प्रहरीले डा. साहलाई पक्राउ गरेको थियो। डाक्टर र अस्पतालले गरेका लापरबाहीमा क्षतिपूर्ति माग गर्ने, तोडफोडमा उत्रिने घटना केही समयदेखि भइरहेका छन्। तर, अहिले बिरामीका आफन्तहरू प्रहरीसम्म पुग्न थालेका छन्। सेवाग्राहीको उपचारमा लापरबाही गरेको उजुरीमा स्वास्थ्यकर्मीलाई अनुसन्धानका लागि पक्राउ गरिएको नेपालमा सम्भवत यो पहिलो घटना हो। डा. साहले एक महिनाअघि शल्यक्रिया गरी श्रेष्ठको प्रसूति गराएका थिए। तर, एक महिनापछि श्रेष्ठको मृत्यु भएपछि डाक्टरकै लापरबाही प्रमुख कारण रहेको भन्दै आफन्तले उजुरी दिएपछि प्रहरीले साहलाई पक्राउ गरेको थियो।
डाक्टरहरू नै भन्छन्, 'विश्वास बिरामीका लागि ५० प्रतिशत उपचार हो।' तर, पछिल्लो समय डाक्टरप्रति बिरामीको अविश्वास डरलाग्दो तरिकाले बढ्न थालेको छ। डाक्टरहरूले उपचारमा लापरबाही गरेका धेरै घटना प्रमाणित हुन थालेपछि स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाप्रतिको विश्वासमै क्षय भइरहेको छ। जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा आफ्नो र आफन्तको स्वास्थ्यमाथि स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीले पुर्याछएको हानिको क्षतिपूर्तिका लागि परेका उजुरीमध्ये ६० प्रतिशत सत्य ठहरिँदै क्षतिपूर्ति दिन निर्णय गरिएको छ।
| मोडलिङमा आधारित तस्बिर |
'मेडिकल नेग्लिजेन्स' भन्नाले कानुनले तोकेको 'ड्युटी अफ केयर'को उल्लंघनलाई जनाउँछ। जसका कारण बिरामीलाई कुनै किसिमको क्षति वा चोट पुग्छ। आम मानिसको बुझाइमा लापरबाही भन्नाले चिकित्सकको लापरबाही भन्ने मात्र छ। तर, यतिमात्र होइन। अस्पताल, नर्सिङ होम लगायतका मेडिकल संस्थाको लापरबाही तथा नर्स, फार्मेसिस्ट, ल्याब टेक्निसियनलगायत अन्य स्वास्थ्य जनशक्तिको लापरबाहीसमेत यसमा पर्छन्।
चरम लापरबाही
केही समयअघि चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा घांँटीको शल्यक्रिया गर्नुपर्ने बिरामीको पाठेघर निकालियोे। थाइरोइडको अपरेसन गर्न अस्पतालमा भर्ना गरिएकी बुटवलकी ३२ वर्Èीया छमकुमारी बोहोराको पाठेघरको अपरेसन गरेर चिकित्सकहरूले चरम लापरबाही प्रदर्शन गरे। यसलाई नेपालको स्वास्थ्य क्षेत्रमा भएको सबैभन्दा ठूलो लापरबाही मानिएको छ। यो प्रमाणित हुन सजिलो भएका कारण सार्वजनिक भएकाले धेरैको जानकारीमा आयो। तर, आफन्त र बिरामीले थाहा पाएको तर प्रमाणित हुन नसकेको हालसालैको एउटा घटना सुन्दा जसको आङ पनि जिरिङ्ङ हुन्छ।
लगातार तीन छोरी जन्मिएपछि सप्तरी राजविराज–२ चनौराप्रहरियाकी प्रियंका महतोको परिवारमा छोराको अपेक्षा थियो। प्रियंका फेरि गर्भवती भएपछि भिडियो एक्सरे गर्न लहानस्थित सप्तऋषि अस्पताल पुगिन्। अस्पतालका सञ्चालकसमेत रहेका डा.पशुपति चौधरीले भिडियो एक्सरे गरेपछि फेरि पनि पेटमा छोरी नै भएको जानकारी दिए। प्रियंकाको पेटमा तीन महिनाकी छोरी भएको थाहा पाएपछि उनको परिवारमा फेरि तनाव सुरु भयो। त्यसपछि प्रियंकाले बच्चा फाल्ने उपाय सोधिन्। डा. चौधरीले आफूले नै बच्चा फालिदिने भनेर पाँच हजार रुपैयाँ लिए। त्यसपछि डा. चौधरीले प्रियंकाको योनीमा 'गर्भपतन गराउने औषधि×' हालिदिए। राति ११ बजेतिर असह्य पीडाले प्रियंका छटपटाउन थालेपछि उनका भाइ पंकज महतोले अस्पतालका कर्मचारीलाई गुहारे।
कर्मचारीले डाक्टर चौधरी तेस्रो तलामा रहेको भन्दै माथि नै पठाए। पंकज पुग्दा त डा. चौधरी मदिरा पिएर लट्ठ अवस्थामा रहेछन्। तैपनि उनले दिदीको अवस्थाबारे बताए। लम्पसार परेर सुतेका चौधरी प्रियंका भएको ठाउ“मा आएर कैँची निकाले। योनीमा कैँची हालेर बच्चा निकाल्ने भन्दै जथाभावी काटे। मातेको सुरमा कँैची चलाएपछि मेसिन लगाएर सुइरो योनीमा घुसाई घुमाए। त्यसले प्रियंकाको पिसाब नली, पाठेघर छियाछिया बनायो। त्यसपछि आफूले नसक्ने भन्दै विराटनगर 'रिफर' गरिदिए। प्रियंकाका बाबु रामअवतार महतो भन्छन्, 'छोरीको आन्द्रा र पाठेघर भुजुरीजस्तै भएको छ। नमात्दा त राम्रै डाक्टर जस्तो लाग्थ्यो तर छोराले माथिल्लो तलाबाट झार्दा लरबराउँदै झरेको डाक्टरले मेरी छोरीको जीवन बर्वाद बनाइदियो।'
महतोका अनुसार डा. चौधरीले रगतसमेत चढाए तर रगत पेटतिर गएछ। छोरीको गर्भपतन गराउ“दा लापरबाही गरेको भन्दै बाबु रामअवतार आक्रोशित छन्। उनी रक्सि खाएर उपचार गर्ने डाक्टरलाई कारबाहीका लागि सम्बन्धित निकायमा उजुरी गर्ने तयारीमा छन्। सप्तऋषि अस्पतालका लगानीकर्तासमेत रहेका डाक्टर चौधरी भने आरोप अस्वीकार गर्छन्। भन्छन्, 'म डाक्टरजस्तो मान्छे कहा“ रक्सी खानु? बरु उपचार गर्न नसकेपछि रिफर गरेको हु“।' दुई साताअघि मात्रै भएको हो यो घटना।
साना अस्पतालले केही रकमको लोभमा र सरकारी अस्पतालमा डाक्टरले खास ध्यान नदिने भएकाले लापरबाही हुने साझा तर्क हुन्छ। तर, नेपालका ठूला निजी अस्पतालमा पनि लापरबाही हुने गरेको २०७० जेठमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले क्षतिपूर्तिको निर्णय गरेको एउटा घटनाले प्रमाणित गरेको छ। चितवनका सीताराम नेपाल पाइल्सका कारण दिसापिसाब हुन नसकेपछि नर्भिक इन्टरनेसनल हस्पिटल, थापाथलीमा भर्ना भएका थिए। डा. राजेन्द्र रेग्मीले उनको अपरेसन गरेका थिए। अपरेसनपछि उनी झन् थलिए। त्यसपछि ग्वार्काेमा रहेको बी एन्ड बी हस्पिटल पुगे। त्यहाँ पुगेपछि पो थाहा भयो, शल्यक्रिया गर्दा प्रयोग गरेको गजपिस त उनको आन्द्रामै छुटेछ। त्यसपछि उनले प्रमाणसहित क्षतिपूर्तिका लागि जिप्रका काठमाडौँमा उजुरी हालेका थिए। जिप्रकाले उनलाई ७१ हजार ४ सय ९१ रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको छ।
ज्यानसँग ठट्टा
हजारौँ बिरामीको उपचार गर्ने डाक्टरका लागि एउटा बिरामी एउटा केसमात्रै हो। तर, डाक्टरको एउटा 'गल्ती'ले सेवाग्राहीको जीवनमा शत प्रतिशत असर पर्छ। थापाथलीस्थित प्रसूति गृहमा बच्चा डेलिभरीका लागि पुगेकी सूर्यकुमारी अधिकारीको बच्चाको तौल बढी देखियो। यस्तो अवस्थामा अपरेसनबाहेक डेलिभरी गराउने विकल्प हुँदैन। तर, पटकपटक भ्याकुम प्रयोग गरेर डेलिभरी गराउने प्रयास गरियो। उनलाई त केही भएन तर बच्चाको हातका नसा नै चुँडियो। अस्पताल र डाक्टरविरुद्ध सूर्यकुमारीले हालेको मुद्दामा लापरबाही ठहर्यााउँदै जिल्ला प्रशासन कार्यालय, काठमाडौँले उनलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने निर्णय गरेको छ।
अलिकतिमात्रै गल्ती हुनेबित्तिकै ज्यान तलमाथि पर्ने भए पनि बिरामी र अस्पतालकै ल्याबले दर्शाएको कुरालाई पनि डाक्टरले ध्यान नदिने गरेको पनि पाइएको छ। २०६८ साल साउनमा काठमाडौँ जिल्ला प्रशासन कार्यालयले काठमाडौँ मेडिकल कलेजका डा. शिशिर लाखेलाई यस्तै कसुरमा दोषी ठहर्या उँदै ६ लाख ७५ हजार रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने निर्णय गरेको थियो। दुर्घटनामा परी उक्त अस्पतालमा भर्ना हुन आएका उमेश झाले आफू सुगरको रोगी भएको पहिल्यै भनेका थिए। सोही अस्पतालमा ल्याब टेस्ट गर्दा समेत त्यो प्रमाणित भएको थियो। तर, पनि डा. शिशिरले उनलाई सुगरसहितको डिएनएस (सलाइन) चढाएका थिए।
विद्रोहले जोगिएको ज्यान
बिरामीले डाक्टरको सल्लाह नमान्नु ठूलो गल्ती हो। तर, कतिपय डाक्टरले बिरामीको अवस्थालाई गम्भीरतापूर्वक नलिँदा ज्यान जान सक्ने खतरा हुन्छ। डाक्टरले आफू पनि उपचार गर्न नसक्ने र रिफर पनि नगर्ने भएपछि फिल्म वितरक गोपाल कायस्थ नियमित उपचार गरिरहेका डाक्टरबाट भागेका थिए। अलि ढिलो भएको भए ज्यान तलमाथि हुनसक्ने पछिल्लोपल्ट उपचार गरेका डाक्टरले सुनाउँदा उनी झस्किन्छन्। उनी अचेल साथीभाइलाई पुनर्जन्म लिएर आएको बताउँछन्। माछा खाँदा काँडा घाँटीमा अड्किएपछि उनी उपचारका लागि वीर हस्पिटलको इमर्जेन्सीमा पुगे। त्यहाँ खास केही नभएको भन्दै पेनकिलर दिएर उनलाई घर पठाइयो। भोलिपल्ट दुख्ने क्रम बढेको र बोलीसमेत बसेकाले उनी काठमाडौँ खसीबजारस्थित डा. प्रकाश थापाले उपचार गर्ने एक निजी अस्पतालमा पुगे। डा. थापाले घाँटी सुनिएको भन्दै वीर हस्पिटलमा त्यो हेर्ने मेसिन भएकाले त्यहीँ बोलाए। उनकै नेतृत्वमा विशेषज्ञ डाक्टरको समूहले उनलाई चार घण्टा बेहोश बनाएर हेर्योत। तर, घाँटीमा केही पनि नभएको प्रमाणित गर्दै चार दिन अस्पतालमा राखेर विभिन्न औषधि दिएर घर पठाइदियो। दुखाइमा बीसको उन्नाइस नभएपछि उनी डा. थापाको सम्पर्कमा गइरहे। तर, उनले औषधि परिवर्तनबाहेक केही पनि गरेनन्। त्यसपछि कायस्थले ती डाक्टरको सल्लाह लिन छाडेर साथीको सिफारिसमा ग्रान्डी अस्पताल पुगे। ग्रान्डीमा चेकअप गराएको केही घण्टामै थाहा लाग्यो, उनको घाँटीमा माछाको ठूलै काँडा अड्किएको रहेछ। अपरेसनपछि उनी पुरानै अवस्थामा आए। भन्छन्, 'ती डाक्टरको पछि लागेको भए यतिञ्जेल मेरो अवस्था के पो हुन्थ्यो।'
स्याङ्जाका हरिप्रसाद गौतम पोखरास्थित मणिपाल अस्पतालकै भर परेका भए आफू अहिलेसम्म जीवित नहुने बताउँछन्। दश वर्षअघि तिघ्राको हड्डीको दुखाइ र पछि ज्वरोबाट सुरु भएको रोग उक्त हस्पिटलमा डेढ महिनासम्म पत्ता लागेन। तर, हस्पिटलले त्यत्रो समयपछि पनि कतै रिफर गरेन। 'मैले एक्सरे, एमआरआई मात्र सयौँचोटि गराएँ,' गौतमले पीडा सुनाए, 'मणिपालमा विद्यार्थीहरूले मलाई 'गिनी पिग'का रूपमा हेरे। रोग खुट्याउन सकेको भए मलाई कुनै गुनासो हुने थिएन तर खेलौना बनाएकोमा दुःख लाग्यो। अनि भागेँ।'
उनले मानसिक रोग मात्र पो हो कि भनेर त्यसको पनि उपचार गराए। केही सीप नलागेपछि उनी भारतको लखनऊ पुगे। त्यहाँ उपचार गरेको तीन दिनमै 'एक्युट लिम्पोसाइटिक लिक्युमिया' भएको रिपोर्ट आयो। जसको अर्थ हो, रगतको क्यान्सर। भारतको लखनऊस्थित 'सञ्जय गान्धी पोस्टग्य्राजुएट इस्टिच्युट अफ मेडिकल साइन्स' ले उनलाई रक्तक्यान्सर भएको खुट्ट्याएको थियो। अहिले उनी तेस्रो चरणको केमो थेरापी गरिरहेका छन्।
स्वास्थ्यकर्मी नै पीडित
केही समयअघि मात्रै वयोधा अस्पतालमा ३५ वर्Èीया बिमला बस्नेतको मृत्यु भएको थियो। ज्वरो आउने तथा टाउको दुख्ने समस्या भएपछि बस्नेत सा“झ ४ बजे आफैँ हिँडेर अस्पताल पुगेकी थिइन् । सोही हस्पिटलमा कार्यरत एक स्टाफ नर्सका अनुसार बिरामीको रक्तचाप निकै 'लो' भएकाले डाक्टर आवश्यक भएको जानकारी गराइएको थियो। अस्पतालकै स्टाफ नर्सले बोलाउँदा समेत अस्पतालको इमर्जेन्सीमा भएका डाक्टर पनि व्यस्त रहेको भन्दै नआएकाले उनको उपचारमा ढिलाइ भएको ती नर्स बताउँछिन्। उनका अनुसार चारपा“च पटक फोन गरेपछि बल्ल अन ड्युटी डाक्टर सोबिता आएको र कन्सल्टेन्ट डाक्टर बोलाउ“दा पनि नआई फोनमा मात्र निर्देशन दिएका थिए। 'यत्रो अस्पतालमा डाक्टर नै सफिसियन्ट छैनन्,' उनले भनिन्। ती नर्सका अनुसार सा“झ ४ बजेतिर बिरामीलाई अस्पताल ल्याइएको थियो। डाक्टरले इन्फेक्सनका कारणले ब्लड लो भएको हुनसक्ने बताए। उनी भन्छिन्, 'डाक्टरले बिरामीको हिस्ट्री सोधेपछि इन्फेक्सन भएकाले एन्टिबायोटिक चलाउनुपर्छ भन्नुभयो। बिरामीलाई बान्ता भयो। त्यसपछि 'अनडेम' चलाउन भन्नुभयो। यो औÈधिले ग्यास्ट्रिक गराउँछ भनेर प्यान्टप पनि चलायौँ। यसबाट उहा“लाई रिलिफ भइरहेको थियो।'
राति साढे १० बजेपछि बिरामीलाई गाह्रो भएपछि डाक्टरलाई इन्फर्म गर्दा 'ड्रिप' चढाउन सल्लाह दिएको र प्रेसर नाप्दा नसुनिएपछि ड्रिप फास्ट गरेर डाक्टरलाई बोलाउँदा पनि नखाएपछि उनी आफैँ इमर्जेन्सीमा आएको बताइन्। 'मैले प्रेसर एकदमै लो छ, खुट्टा पनि चिसो भइराखेको छ भनेर डाक्टरलाई भन्दा 'औÈधि दिएको छ, काम गर्न टाइम लाग्छ' भन्नुभयो।' पेनकिलर दिनुपर्योम भन्दा पनि खासै रेस्पोन्स नगरेको र चारपा“च पटक फोन गरेर बोलाएपछि बल्ल डाक्टर सोबिता आएको र कन्सल्टेन्ट डाक्टरलाई बोलाउ“दा ढिलो भइसकेको थियो। साढे २ बजे बल्ल कन्सल्टेन्ट डा. दिलीप कार्कीलाई इन्फर्म भयो। डा. कार्कीले फोनमा निर्देशन दिएको उनले बताइन्। डा. कार्कीको निर्देशनमा क्याथेटर लगाएको केही समयमै बिरामी 'सेप्टिक सक'मा गएपछि फर्किनन्। अस्पतालको नर्सको रेखदेखमा समेत बिरामीको अवस्थामाथि हेलचेक्य्राइँ हुँदा ज्यान गएको भन्दै ती नर्सले गुनासो पोखेकी थिइन्। उनी भनेकै बेलामा डाक्टर आए ज्यान जोगिने बताउँछिन्।
बझाङमा कार्यरत स्वास्थ्यकर्मी केशव भट्टराई त पाटन अस्पतालले आफ्नी श्रीमती मारेको आरोप लगाउँछन्। उनकी श्रीमतीको पेट दुखेपछि उनले पाटन अस्पताल उपचारार्थ पुर्यातएका थिए। ५ बजे त्यहाँ पुर्याीएपछि अस्पतालले करिब ६ बजेतिर उनलाई शल्यक्रियाको लागि शल्यक्रिया कक्ष लग्यो। अस्पतालमा करिब साढे ५ घण्टा बिनाउपचार, आवश्यक जानकारी माग्दा पनि जानकारी नदिई उनलाई अपरेसन कक्षमै राखेको उनले बताए। राति ११:०५ बजे आवश्यक उपकरणको अभाव छ भन्दै डा. किशोर बन्जाडेले बिरामी अन्यत्र लैजान भनेपछि भने उनी अचम्ममा परेका थिए। 'अब कहाँ लाने भनेर सोध्दा डाक्टरले जंगिदैे 'जहाँ लगे पनि लानुस्, हामीलाई के मतलब?' भने। उनी भन्छन्, 'म स्वास्थ्यकर्मी भएकाले रिफर गर्नुस् र आवश्यक रिपोर्ट पनि दिनुस् भनेँ। डा. विजय जैसवालले आवश्यक सबै कुरा रिफर पुर्जामा लेखिएको छ, खुरुक्क जानुस् भन्दै हप्काए। धेरै आग्रह गरेपछि उनीहरूले वीर अस्पताल रिफर गरे।'
पाटनमा एम्बुलेन्स नपाएपछि उनले अल्का अस्पतालबाट एम्बुलेन्स मगाएर राति ११:२० बजेतिर वीर अस्पताल पुर्यानए पनि पाटन अस्पतालले रिफर गर्दा रिपोर्ट नदिएका कारण वीरमा पुनः सबै परीक्षण गर्नुपर्योर। दोहोरो परीक्षणले समय घर्किंदै गएको थियो। थप जाँच गर्दा लम्बिएको समय सँगसँगै बिहान ५ वजे बल्ल उनलाई शल्यक्रियाका लागि लगियो। तर, वीर अस्पतालमा शल्यक्रियाको तयारी गर्दा ढिलो भइसकेको थियो। उपचारमा संलग्न डा. अनील ढुंगानाले 'सरी, तपार्इं ढिलो आउनुभयो' भन्दै उनलाई मृत घोषणा गरेको बताए। भन्छन्, 'म एउटा स्वास्थ्यकर्मी भएर पनि कामको संवेदनशीलता र लापरबाही राम्ररी बुझ्न सक्छु, जो सामान्य नागरिकले नबुझ्न सक्छन्। त्यत्रो प्रयास गर्दा पनि १३ घण्टासम्म उपचार हुन नसक्नु पाटनका डाक्टरको लापरबाही हो।' घटनापछि उनले स्वतन्त्र छानबिनका लागि स्वास्थ्य मन्त्रालयमा निवेदन दिए। पाटन अस्पतालले छानबिन कमिटीलाई अस्पतालले बेड नभएर रिफर गरेको भनेको छ। उनी प्रश्न गर्छन्, 'के बेड भए, नभएको थाहा पाउन साढे पाँच घण्टा लाग्छ? पाटनले ९:१५ बजे रिफर गरेको भनेको छ तर रिफर राति ११ बजे गरिएको हो।'
अधिकांश 'मेडिकल नेग्लिजेन्स'
अदालतमा परेका मुद्दा तथा क्षतिपूर्ति तथा अध्ययन समितिका प्रतिवेदनका आधारमा के देखिन्छ भने नेपालमा अधिकांश 'मेडिकल नेग्लिजेन्स' शल्यक्रियाका अवस्थामा भएका छन्। ३३ प्रतिशत चिकित्सकीय लापरबाही यही क्रममा भएको देखिन्छ। २२ दशमलव २२ प्रतिशत मेडिकल नेग्लिजेन्स भने परीक्षणका चरणमा भएका छन्। त्यसैगरी १४ दशमलव २८ प्रतिशत लापरबाही डाक्टर तथा अस्पतालले आफ्नो योग्यताले नभ्याउने स्तरको उपचार दिने क्रममा हुने गरेको देखिन्छ। आम्दानीका लागि बिरामीलाई लामो समयसम्म ओगटेर राख्ने तथा दक्ष डाक्टर एवं सक्षम अस्पतालमा रिफर नगर्नुले 'मालप्य्राक्टिस' समेत प्रस्ट पार्छ। त्यसैगरी, १४ प्रतिशत लापरबाही बिरामीलाई रोगको/औषधिको साइड इफेक्टहरूको जानकारी र निरन्तर फलोअप दिन नसक्नुमा रहेको पाइएको छ भने १४ प्रतिशत आकस्मिक सेवा समयमै बिरामीलाई दिन नसक्नु वा दिन इन्कार गर्नाले हुने गरेको पाइएको छ।
प्रमाणित हुन्छ, क्षतिपूर्ति पाइँदैन
सामान्य रूपमा भएको लापरबाहीमा मुद्दाको झन्झट कसैले बेहोर्दैनन्। मुद्दा दायर भए पनि त्यसको फैसला हुन लामो समय कुनुपर्ने भएकाले एकचोटि छानबिनका लागि उजुरी गर्नेले दोस्रोपटक उजुरी गर्न हिचकिचाउने वातावरण छ। काठमाडौँ जिल्ला प्रशासन कार्यालयका कानुन अधिकृत पूर्ण थापामगर फैसलामा ढिलासुस्ती हुने स्विकार्छन्। भन्छन्, 'छानबिन समितिका सदस्यहरू नियमित काममा व्यस्त हुने भएकाले चाहेको समय बैठक बसाउनै सकिँदैन।'
विगत १० वर्षमा जिल्ला प्रशासन कार्यालयले लापरबाहीका कारण सेवाग्राहीको स्वास्थ्यमा हानि पुगेको भन्दै थुप्रैलाई क्षतिपूर्ति पाउने प्रमाणित गरको छ। तर, १० प्रतिशत भन्दा बढीले क्षतिपूर्ति पाएका छैनन्। अहिले पनि जिल्ला प्रशासन कार्यालयले प्रमाणित गरेका थुप्रै मुद्दा विभिन्न तहका अदालतमा पुनः चलिरहेका छन्। अधिकांश अस्पताल मुद्दालाई लम्ब्याएर क्षतिपूर्ति दिन ढिलो गर्नका लागि पनि पुनरावेदन जाने गरेको जानकारहरू बताउँछन्।
२०६३ कात्तिकमा भएको एउटा घटनालाई लिएर ओम अस्पतालविरुद्ध टीकाप्रसाद अधिकारीले १ करोड ४ लाख ७२ हजार २ सय ८० रुपैयाँ क्षतिपूर्ति मागसहित मुद्दा दायर गरेकोेमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले अस्पतालले १९ लाख ४८ हजार क्षतिपूर्ति दिनुपर्ने ठहर गरेको थियो। तर, ओम अस्पतालले क्षतिपूर्ति दिन नसक्ने भन्दै मुद्दा पुनरावेदन अदालतमा दर्ता गर्योप। काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल र डा. शिशिर लाखेविरुद्ध उमेश झाले ५७ लाख क्षतिपूर्ति मागसहित मुद्दा दायर गरेकोमा जिल्ला प्रशासनले ०६७ असार २५ मा ६ लाख ७५ हजार क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो। यो अस्पताल पनि क्षतिपूर्ति दिनुको सट्टा पुनरावेदन अदालत पुगेको थियो।
०६४ साउन २ गते थापाथलीस्थित प्रसूति गृह र डा. कस्तुरी मल्लविरुद्ध सूर्यकुमारी अधिकारीले ८२ लाख ३० हजार क्षतिपूर्ति दाबीसहित मुद्दा दायर गरेकोमा ०६७ फागुन ३ गते जिल्ला प्रशासनले १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो। अस्पताल र चिकित्सकले क्षतिपूर्ति नदिएर मुद्दा पुनरावेदन पुर्यािए। अस्पतालहरूले सकेसम्म डाक्टर वा अस्पताल पक्षको गल्ती नै छैन भनेजस्तो देखाउने र बिरामी पक्षले मुद्दा जिते पनि क्षतिपूर्ति दिन आलटाल गर्ने गरेको पाइएको छ। बाँसबारीस्थिति न्युरो अस्पतालका प्रमुख डा. उपेन्द्र देवकोटाविरुद्ध महेन्द्र गुरुङले १२ लाख ६२ हजार दाबी गरेको मुद्दा ०५६ सालदेखि चलिरहेको छ। जिल्ला प्रशासन कार्यालयले गुरुङको पक्षमा क्षतिपूर्ति दिनुपर्ने फैसला गरे पनि अस्पतालले भने पुनरावेदन गरेको थियो।
विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले प्रस्ट भनेको छ– 'चिकित्सकलाई भयरहित वातावरणमा बिरामीको उपचार गर्न दिनु सम्पूर्ण समाजको कर्तव्य हो तर बिरामीको हित एवं कल्याण चिकित्सकको पहिलो प्राथमिकता हुनुपर्छ।' तसर्थ, अनाहकमा स्वास्थ्यकर्मी/स्वास्थ्य संस्थामाथि दोष लगाउनु भनेको सामाजिक कर्तव्यबाट भाग्नु हो। तर, कानुनी प्रक्रिया अन्तर्गत गएर प्रमाणित भएका लापरबाहीबापत क्षतिपूर्ति पाउने उपभोक्ता अधिकारको सम्मान पनि गरिनुपर्छ।
लापरबाहीको चढ्दो ग्राफ
अनील न्यौपाने
उपचारात्मक त्रुटि(क्लिनिकल इरर), चिकित्सकीय लापरबाही (मेडिकल नेग्लिजेन्स), गलत अभ्यास (मालप्य्राक्टिस) र मानवीय त्रुटि (ह्युमन इरर) का कारण बिरामीले मृत्यु, पीडा वा शारीरिक, मानसिक तथा आर्थिक क्षति बेहोर्नुपर्छ। यी नितान्त फरक पक्षलाई सही रूपले बुझ्न वा बुझाउन नसक्दा बिरामी पक्ष, अस्पताल प्रशासन र स्वास्थ्यकर्मी (डाक्टर, नर्स, प्यारामेडिकल स्टाफ) बीच दूरी बढ्दै गएको छ।
कतिपय घटनामा चिकित्सकीय 'सही त्रुटि'लाई पनि लापरबाही भनेर हेर्ने गरिएको छ। तर, नेपालमा भएका अधिकांश घटनामा त्रुटिभन्दा पनि लापरबाही बढी देखिएका छन्। उपचारको समयमा सही गृहकार्य नहुँदा उपचारात्मक त्रुटि हुने गर्छ। यसैगरी डाक्टर, प्यारामेडिकल स्टाफ, नर्स, अस्पताल प्रशासन, औषधि, उपकरण, टेक्निसियन वा बिरामीपक्षकै कारणले चिकित्सकीय लापरबाही हुने गर्छ। अनावश्यक परीक्षण, उपचार, शल्यक्रिया गराउनु वा औषधि दिनु गलत अभ्यास हो। आर्थिक मोहका कारण नै गलत अभ्यास हुने गर्छ। उपचारमा मानवीय त्रुटि पनि चुनौती बनेको छ। यसमा कामको चाप, जनशक्ति अभाव, हचुवाको भरमा उपचार र तनाव जस्ता पक्षले त्रुटि हुने गर्छ। यसबाहेक सानो पक्ष 'सही त्रुटि' पनि हुन्छ। जसलाई चिकित्सा विज्ञानले हालसम्म समाधान गर्न सकेको छैन।
केही समयअघि काठमाडौँको एक अस्पतालमा समयमै विज्ञ चिकित्सकको उपस्थिति नहुँदा एकजना महिला बिरामीले अनाहकमा ज्यान गुमाउनुपर्यो । निजी अस्पतालले फुलटाइम डाक्टर नराख्ने तर विशेषज्ञ अस्पताल भनेर प्रचार गर्दै आएका छन्। काठमाडौँमा सञ्चालित अधिकांश निजी अस्पतालमा फुलटाइम चिकित्सक छैनन्। 'अन कल डाक्टर'का कारण समयमा उपचार हुन सक्दैन।
यसैगरी, सही त्रुटि हो, गलत अभ्यास हो वा लापरबाही भनेर छानबिन गर्ने निकाय मेडिकल काउन्सिलले यसमा ध्यान नदिँदा चिकित्सकीय लापरबाही बढ्दै गएको छ। यस विषयमा छानबिन गर्ने अर्को निकाय जिल्ला प्रशासन कार्यालयमा चिकित्सा विज्ञ नहुँदा पनि उपयुक्त छानबिन हुन नसकेको हो।
लापरबाहीमा सबैभन्दा बढी जिम्मेवार अस्पताल प्रशासन र उपचारमा संलग्न व्यक्ति पर्न आउँछन्। कुनै पनि डाक्टर, नर्स वा स्वास्थ्यकर्मीले नियतवश लापरबाही नगर्ला। तर, विभिन्न कारणले लापरबाहीका घटना बढ्दै गएका छन्। चिकित्सकीय जनशक्ति अभाव, शल्यक्रियालगायत ठूला उपचारमा तयारी नहुनु, अस्पतालबीच अस्वस्थ प्रतिस्पर्धा, सरसफाइ आदि लापरबाहीका कारक भएका छन्। अर्को कुरा– बैंकसँग ऋण लिएर सञ्चालित अस्पतालको ध्येय जसरी पनि कमाउनु हुन्छ। त्यसैले बिरामीलाई अनावश्यक परीक्षण, उपचार र शल्यक्रियाका लागि बाध्य पारिएका घटना छन्। यस्ता गलत अभ्यासले लापरबाही बढाउँदै लगेको छ। यस्ता घटना सार्वजनिक भएमा अस्पतालमा बिरामीको चाप घट्न सक्ने डरमा अस्पताल प्रशासनले बिरामी पक्ष असन्तुष्ट हुनेबित्तिकै केही पैसा दिएर घटनालाई सामसुम बनाउन खोज्ने प्रवृत्ति छ। त्यसैगरी, कतिपय निजी अस्पतालले त पारिवारिक आर्थिक स्थिति हेरेर मनपर्दी शुल्क लिने, भर्ना गर्ने र आईसीयूमा राख्ने समेत गरेका छन्।
लापरबाहीका घटनामा पीडित पक्षले न्याय पाउन नसक्दा 'सही त्रुटि' भएको अवस्थामा पनि चिकित्सकमाथि हातपात वा अस्पताल तोडफोड हुने गरेको छ। न्यायिक प्रणालीमा झमेला भएकाले बिरामी पक्ष छोटोे बाटो खोज्न तोडफोडमा उत्रने गरेका छन्।
बिरामी पक्ष र अस्पतालबीच सञ्चार अभावका कारण पनि दूरी बढ्दै गएको छ। ठूला सरकारी अस्पतालमा नितान्त गरिब वा पहुँचवाला मानिसमात्र उपचारका लागि जाने गरेका छन्। मध्यमवर्गीय परिवार निजी अस्पतालमा र हुने खाने विदेश जाने चलन बस्दै गएको छ। सरकारी अस्पतालले आमजनता र निजी अस्पतालले पनि हुने खाने समुदायको विश्वास जित्न सकेका छैनन्। विश्वास जित्न नसक्नुको कारण बढ्दै गएको लापरबाही हो। यसका कारण नेपालका अस्पतालले उपचारका लागि विदेश जाने क्रमलाई पनि कम गर्न सकेका छैनन्। गत वर्ष मलेसियामा १० हजार नेपाली बिरामी उपचारका लागि गएको मलेसिया टुरिजम बोर्डले जनाएको छ। यसैगरी, थाइल्यान्डको बमरनगार्ड अस्पतालमा गत वर्ष २५ हजार नेपाली बिरामी उपचारका लागि पुगेको तथ्यांक छ। उपचारका लागि यसरी पुग्नेमा अधिकांश डाक्टर, सरकारी अधिकारी र व्यापारी छन्। यसरी जानेहरू विदेशमा कार्यक्रम पारेर उपचारका लागि जान्छन्। त्यसैले नेपालमा उनीहरूको तथ्यांक हुँदैन। नेपालका चिकित्सक र अस्पतालप्रति विश्वास नभएका कारण धनी वर्ग विदेशिएका हुन्। अनौपचारिक कुराकानीमा एक जना नाम चलेका चिकित्सकले आफू उपचारका लागि विदेश जाने गरेको बताएका थिए। नेपालका अस्पतालमा चरम लापरबाही हुने गरेकाले विदेश उपचार गराउन जानुपरेको उनको तर्क थियो। निजी अस्पताल सञ्चालकसमेत आफ्नो अस्पतालमा उपचार वा ल्याब परीक्षण गर्न रुचाउँदैनन्।
लापरबाहीका दोषीलाई कानुनी दायरामा ल्याउन नसक्दासम्म यस्ता घटनामा कमी हुने छैनन्। र, सिंगो चिकित्सक समुदाय नै बदनाम भएका छन्।
लापरबाहीका घटना बढ्नुमा त्यसको दोषी स्वास्थ्य मन्त्रालय, मेडिकल काउन्सिल र अस्पताल प्रशासन हुन्। मन्त्रालयको अस्पताल अनुगमन कमाइ खाने भाँडो बनेको छ भने काउन्सिलमा चिकित्सकमात्र पदाधिकारी रहेकाले छानबिन गर्ने साहस देखाउन सकेका छैनन्। चिकित्सकीय लापरबाहीमा सही छानबिन भई पीडित पक्षले उचित न्याय पाउनुपर्ने हो। तर, अहिलेसम्म त्यस्तो वातावरण निर्माण भएको छैन।
न्यौपाने स्वास्थ्य खबरपत्रिकाका सम्पादक हुन्।
0 comments:
Post a Comment