दोहा (कतार), असार ३० - बालिकालाई छोएको अभियोग लागेका रोल्पाका झक्कुप्रसाद ओलीलाई यहाँको तल्लो अदालतले तीन वर्षको सजाय सुनाएको छ । कतारको साउदीय हाइपरमार्केटमा सेल्सम्यानको काम गर्दै आएका पाखापनी ९, रोल्पाका ३० वर्षीय ओलीलाई बालिकालाई छोएको अभियोगमाथि सुनुवाइ गर्दै जुन २१ मा अदातलले तीन वर्षको सजाय सुनाएको हो ।
गत मार्च १६ मा साढे ३ बजे मार्केटमा काम गर्नेक्रममा उनलाई प्रहरीले उक्त अभियोगमा पक्राउ गरेको थियो । ओलीले आफूले बालिकालाई नछोएको भन्दै माथिल्लो अदातलमा अपिल गरेका छन् । 'म निर्दोष छु । मैले बालिकालाई छोएको छैन,' उनले कान्तिपुरलाई भने, 'अदालतको फैसलाप्रति मेरो चित्त बुझेको छैन । न्यायका लागि पुनरावेदनमा अपिल गरेको छु ।'
उनले हाइपरमार्केटमा बेसार झिक्ने क्रममा बेसारको प्याकेट खसेर लागेको बताए । 'अन्दाजी ९ वर्षकी बालिका मेरो पछाडि उनकी आमासँगै थिइन् । आमाले पहिला तेल मागिन् । त्यो दिएँ । त्यसपछि बेसार मागिन्,' उनले भने, 'माथिको र्याकमा राखिएको बेसार झिक्न खोज्दा खसेर बालिकाको कम्मरमुनि लाग्यो ।'
त्यसलगत्तै ती स्थानीय महिलाले बालिकालाई छोएको भन्दै ओलीमाथि हातपातसमेत गरेकी थिइन् । 'मलाई ३ मिनेटभन्दा बढी एकोहोरो स्थानीय भाषामा गालीगलैज गरिन् । त्यो बुझिनँ । त्यसपछि मेरो पोसाक च्यातिदिइन्,' उनले भने, 'गालै गालामा जुत्ता खोलेर पिटिन् । पछि उसको दुई छोराहरू आएर पनि पिट्न थाले ।'
पिटिसकेपछि प्रहरी बोलाएर जिम्मा लगाएको ओलीले बताए । उनले आफूलाई परेको समस्याबारे समयमै नेपाली दूतावासलाई जानकारी गराएको बताए । 'मैले दूतावासलाई कार्यवाहक राजदूत, श्रम सहचारीलाई फोन गरेर घटनाको विस्तृत जानकारी गराएँ,' उनले भने, 'दूतावासमा भेट्न कोही पनि आएनन् । अदालतमा मेरोतर्फबाट बहस पैरबी गर्ने समेत कोही भएन ।'
कतारका लागि नेपाली कार्यवाहक राजदूत गणेश ढकालले वकिलसँग छलफल गरेर अगाडि बढ्ने बताए । 'उहाँलाई सुरुमै भेट्न प्रहरी कार्यालयलाई भनेका थियौं । उताबाट समय नआएकाले भेट्न सकेनौं,' उनले कान्तिपुरलाई भने, 'अपिल गरिहाल्न हामीले भनेका छौं । यसमा हाम्रो सहयोग हुनेछ ।' ओली गत फेब्रुअरी ११ तारिख शिखर म्यानपावरलाई ९० हजार रुपैयाँ बुझाएर आएका थिए ।

0 comments:
Post a Comment