728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Sunday, September 7, 2014

    चिया किलोको एक लाख ८० हजार (सबै पढ्न तलको लिंक मा जानु होला)

    लाम- तपाईं हामीले पिउने चियाको मूल्य सामान्यतः प्रतिकप १० देखि २० रुपैयाँ पर्छ। त्यो चिया प्रतिकिलो दुई/चार सय रुपैयाँमा सजिलै किन्न पाइन्छ। तर, एउटा भारतीय उद्योगले अपत्यारिलो मूल्यमा चिया बिक्री गर्दैछ। विषादी प्रयोगले तेस्रो मुलुकमा नेपाली चियाको बजार ओरालो लागिरहेका बेला नजिकैको खरसाङस्थित मकैबारी टी स्टेटले भने एक किलो चिया झण्डै एक लाख ८० हजार रुपैयाँमा बेच्न लागेको हो।

    संसारमा सबैभन्दा धेरै चिया खपत हुने भारतले नै सबैभन्दा महँगो चिया उत्पादन गरिरहेको यसबाट पुष्टि भएको छ। भरखरै भारतीय सञ्चारमाध्यममा प्राथमिकतासाथ प्रकाशित समाचारअनुसार, खरसाङको मकैबारी टी स्टेटले प्रतिकिलो एक हजार आठ सय ५० डलर (नेपाली एक लाख ७८ हजार रुपैयाँ) मा चिया बेच्न लागेको हो। जापान, बेलायत र अमेरिकामा त्यहाँको चिया उच्च माग छ।

    'विदेशबाट एक किलो चियालाई यत्तिका मूल्य हाल्न राजी हुँदै अर्डर गरिनु खुसीको कुरा हो,' भारतीय टी बोर्डका अध्यक्ष सिद्धार्थले भनेका छन्, 'यसले चियामा मकैबारी टी स्टेटसँगै सिंगो भारतको नाम चम्किएको छ।' भारतकै पुरानो मानिने सन् १८५९ मा स्थापित उक्त स्टेटले यसअघि प्रतिकिलो एक लाख सात हजार रुपैयाँसम्ममा चिया बेचेको थियो। यसपल्ट तेस्रो देशका धनाढ्यले कीर्तिमानी मूल्यमा चिया अर्डर गरेका हुन्।
    अर्गानिक उत्पादनलाई उच्च प्राथमिकता दिएको मकैबारीले आफ्नो उत्पादन कीर्तिमानी मूल्यमा अर्डर भएपछि ठाउँ–ठाउँमा पत्रकार सम्मेलन गरिसकेको छ। भरखरै उद्योगको ९० प्रतिशत हिस्सा भारतकै लक्ष्मी ग्रुपलाई बेचिसकेका मकैबारी प्रमुख राजा ब्यानर्जीले 'दशकौंदेखिको अथक मेहनत, अर्गानिक उत्पादनमा प्राथमिकता र उपभोक्ताले चाहेको गुणस्तरमा उत्पादन गरेकाले चिया चम्किएको' बताएका छन्।

    'जापान, बेलायत र अमेरिकाका धनाढ्यले हाम्रो चिया रुचाउँदै धेरै मूल्यमा अर्डर गर्नु मकैबारीको इमानदारी र गुणस्तरको प्रतिफल हो,' ब्यानर्जीले केही दिनअघि सिलिगुडीमा भनेका थिए, 'विश्व बजारमा कायम यो ख्याति जोगाउन हाम्रो उद्योग सदैव प्रतिवद्ध रहनेछ।' खरसाङस्थित गिद्देपहाड मुन्तिरको भिरालो जमीनमा फैलिएको उक्त अर्गानिक टी स्टेटको क्षेत्रफल एक हजार सात सय एकड छ।

    ७० भन्दा धेरै चिया उद्योग रहेको दार्जिलिङमा चियाको मूल्यवृद्धि र ब्रान्ड कायम राख्न भइरहेको संघर्षलाई मकैबारीलाई प्राप्त कीर्तिमानी मूल्यले सघाउने अपेक्षा गरिएको छ। 'दार्जिलिङको चिया संसारमा पहिलेदेखि नै प्रसिद्ध हुँदाहुँदै पनि उद्योग व्याप्त समस्या धेरै छन्,' दार्जिलिङ टी एसोसिएसन सचिव कौशिक बसुले भनेका छन्, 'विदेशी उपभोक्ताले चाहेअनुरुप गुणस्तरको चिया बनाउँदा मूल्यमा समस्या नरहेको प्रस्ट भएको छ।'

    अर्गानिक चियाबाट मकैबारीले कमाएको ख्याति र हात पारेको मूल्यलाई नेपाली उद्यमीले भने आश्चर्य मानेका छन्। कुनैबेला मकैबारी टी स्टेटमै हप्तौं बसेर बगान तथा कारखानाको समग्र काम नियालेका चिया प्राविधिक ज्योति अधिकारीले 'गरे असम्भव नहुने' सन्देश मिलेको बताए। दार्जिलिङको भन्दा कान्छो बगान हुँदा गुणस्तरीय चिया उत्पादन गरेर पनि नेपाली उद्योगले उच्च मूल्य नपाउनुलाई उनले 'बिडम्बना' भने।
    'नेपाली चियाले आफ्नो ब्रान्ड बनिनसक्दै विषादीका कारण आलोचना खेप्नुपरेको छ,' अधिकारीले नागरिकसित भने, 'बगानलाई अर्गानिक बनाएर ब्रान्ड कायम गराएको खण्डमा नेपाली चियाले पनि विदेशी उपभोक्ताको मन जित्न सक्छ।' इलाममा दुई दर्जन कारखानाबाट प्रशोधित तयारी चिया हाल अर्गानिक नभएकाले कोलकातामात्रै निकासी हुन्छ। एकाध कारखानाले जर्मनी निर्यात गरे पनि परिमाण धेरै छैन।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: चिया किलोको एक लाख ८० हजार (सबै पढ्न तलको लिंक मा जानु होला) Rating: 5 Reviewed By: Unknown
    Scroll to Top