728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Wednesday, September 3, 2014

    बर्षेनी हराउने १० हजार नेपाली चेली कहाँ जान्छन् ?

    चरिमाया भन्छिन- खासा र गोवा नयाँ सेक्स मार्केट
    मात्रिका पौडेल
    १८ भदौ, काठमाडौं । मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाइरहँदा नेपाली चेली बेचिने संख्या घट्नुको सट्टा गन्तब्यहरु फेरिन थालेका छन् ।
    बैदेशिक रोजागरी वा मनोरन्जनत्मक कार्यक्रमका नाममा नेपाली चेलीहरुलाई तेस्रो मुलुकमा लगेर बेचबिखनमा पार्ने गिरोह निकै शक्तिसाली देखिएको छ ।
    बेचबिखन बिरुद्धको अभियानमा लागेका संस्थाहरुको अनौपचारिक तथ्यांङहरुलाई आधार मान्ने हो भने अहिले पनि वर्षेनी १० देखि १५ हजार नेपाली महिला भारत बाहेकका तेस्रो मुलुकमा यौनजन्य कार्यका लागि लगिन्छन् ।
    आधुनिक दासता विरुद्दको अभियानमा लागेर अमेरिकी सरकारबाट अवार्ड समेत पाइसकेकी चरिमाया तामाङ बेचबिखनको शैली फेरिए पनि संख्या भने बढिरहेको बताउँछिन् ।
    बैदेशिक रोजागारी कि बेचबिखन ?
    अधिकांश ग्रामिण महिलाहरुको आकर्षक गन्तव्य बनेको छ बैदेशिक रोजगारी । खाडी लगायका मुलुकमा घरेलु कामदारका रुपमा लगिने यस्ता धेरै नेपाली चेलीहरु बेचबिखन र यौन शोषणमा परेर फर्किएका छन् ।
    यही गुनासोपछि सरकारले ती देशहरुमा नेपाली घरेलु महिला कामदार पठाउन बेलाबेला रोक लगाउने गरेको छ । तर, दलालहरुले चेलीहरुलाई भारतका चेन्नई, कोलकाता, दिल्ली लगायतका शहरमा पुर्‍याउँछन र ती मुलुकबाटै उनीहरुलाई खाडीतिर लगिन्छ ।
    उनीहरुले त्यहाँ होटलमा राखेर दुईचार दिन त्यहाँका होटलमा राख्ने र यौन शोषणा गर्ने आम प्रवृतिनै बनेको पौरखी नेपालकी मन्जु गुरुङ बताउँछिन् ।
    गाउँबाट दिल्ली पुगुन्जेल उनीहरु कम्तिमा दलालका दुई समूहको यौन र आर्थिक शोषणमा परिसकेका हुन्छन् ।
    पैसा र बैश लुटाउनेहरु


    त्यहाँबाट उडेपछि उनीहरु जहाँ पुग्छन्, धेरै जसोले घरेलु हिंसा, यौन शोषण, बलत्कारका घटना भोगेर अनि कतिपयले घर मालिकको गर्भ बोकेर बिक्षिप्त अवस्थामा फर्किनुपर्छ । विदेशको सपना देख्नेहरुले पैसा र बैंश दुवै लुटाउनु परेका धेरै घटना छन् ।
    गुरुङ भन्छिन्-सरकारले महिला कामदारको सुरक्षाका लागि कुनै पनि नीति र दुई पक्षीय सम्झौता नगर्दा बेचबिखन र शोषणका घटना झन् बढेका छन् ।
    बैधानिक रुपमा नेपालबाट घरेलु कामदारका रुपमा बैदेशिक रोजागारीमा जान नपाएपछि दलालको पछि लागेर भारतको बाटो हुँदै उड्नुपर्ने भएकाले सबैभन्दा बढि शोषण र बेचबिखनको समस्या आउने गरेको गुरुङ बताउँछिन् ।
    बेचबिखनका नयाँ अखडा
    बेचबिखनबाट प्रभावितहरुको संस्था शक्ति समूहकी संस्थापक चरिमाया भन्छिन्- काठमाडौंमा सन्चालित क्याबिन र डान्स रेष्टुरेन्टहरु चेलिबेटी बेचबिखनका ट्रान्जिट बनेका छन् ।’
    यी ट्रान्जिटबाट महिलालाई प्रलोभनमा पारेर तेस्रो मुलुक लगिन्छ । जुन एक प्रकारको बेचबिखन नै हो ।
    ग्राहक बनेर जाने दलालहरुले त्यहाँ कार्यरत युवती तथा किशोरीहरुलाई आकर्षक कमाइको प्रलोभन देखाउँदै भारत, चीन र तेस्रो मुलुकका सेक्स मार्केटमा पुर्‍याउन थालेका छन् ।
    खाडी मुलुकमा जानेको कथा त एक ठाउँमा छ तर, अफि्रका र एशियाका बिभिन्न मुलुकमा बार गर्ल र डान्सरका रुपमा पर्यटक भिसामा लगेर यौन कार्यमा लगाउने नयाँ शैली दलालले अपनाउन थालेका छन् ।
    तीन महिने भिसाको कमाल
    मनोरन्जन क्षेत्रमा काम गर्ने महिलाको संस्था विश्वास नेपालकी मधु गरुङ भन्छिन् ‘धेरै नेपाली केटीहरु अहिले चीनको खासामा खुल्ला यौन बजारमा पुगेका भेटिएका छन्, धेरैजसो तीन महिने भिजिट भिसामा अफि्रका, खाडी र सिंगापुर जाने गरेका छन् ।’
    तीन महिने भिजिट भिसामा जानेहरुलाई त्यहाँका डान्स बारमा लगाउने गरिएको छ ।
    डिस्को र सेक्स
    रेष्टुरेन्ट क्षेत्रमै कार्यरत एक युवती आकर्षक कमाइको लोभमा चीनको सिमावर्ती खासा पुगिन् । उनलाई त्यहाँ डिस्कोमा काम गर्न भनेर लगिएको थियो ।
    ‘राती डिस्कोमा काम लगाउने, तर दिउँसो उनलाई बाहिरबाट ताला लगाएर भित्र थुनिदो रहेछ, कुनै ग्राहक आए भने भित्र लगेर देखाएपछि मन परायो भने उसँग सेक्स गर्न बाध्य पारिदो रहेछ’ गुरुङ भन्छिन्-’खासामा हजारौ नेपाली महिलाहरु अहिले खुल्ला सेक्स मार्केटमा छन्’ ।
    गन्तव्य गोवा
    क्याबिन र डान्स रेष्टुरेन्टमा काम गर्दा गर्दै हराएका धेरै श्रमिक महिलाहरुको पछिल्लो गन्तव्य बनेको छ भारतको पर्यटकीय शहर गोवा ।
    गोवामा खुल्ला यौन बजारमा नेपालबाट गएका केटीहरु भेटिएको शक्ति समूहकी चरिमाया बताउँछिन् ।
    ‘हाम्रै समूहले गोवामा यौन उत्पीडनमा परेका १५ जनालाई उद्दार गरेर ल्याएको छ’ उनले भनिन् ‘पहिले नेपाली चेलीहरु भारतको सेक्स मार्केटमा बेचिन्थे अहिले चीनको सेक्स मार्केट पनि खुला भएको छ ।’
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: बर्षेनी हराउने १० हजार नेपाली चेली कहाँ जान्छन् ? Rating: 5 Reviewed By: Unknown
    Scroll to Top