728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Monday, September 1, 2014

    कुमारी कथा

    काठमाडौ, भाद्र १४ - यो जनश्रुति हो । अथवा भनौं, जनविश्वास । कुमारीको दैत्यसँग माया बसेको हुन्छ । पछि यस्तो स्थिति आउँछ, कुमारीले आफ्नो दैत्य प्रेमी वा देशमध्ये एउटा रोज्नुपर्ने हुन्छ । कुमारीले देश रोज्छिन् । दैत्यको हत्या गर्छिन् । आफ्नो प्रेमीलाई रोजेको भए, देश रहने थिएन । यो उनको मायाको हत्या थियो । त्यसैले उनले घोषणा गर्छिन्, 'म अब विवाह गर्दिनँ, कुमारी नै रहन्छु ।' उनले देश पनि बचाउँछिन्, आफ्नो प्रेम पनि अमर राख्छिन् ।

    यसै कथालाई समेटेर अहिलेसम्म पनि 'प्याखँ' प्रदर्शन हुँदै आएको छ । वियोगान्त छ, यो कथा । ०६५ को दसैंताका काठमाडौं इतुंबहालको प्रतापमान शाक्यको घरमा पनि ठूलै छलफल चलेको थियो, उनकी कान्छी छोरीलाई कुमारी बनाउने विषयमा लिएर । कुमारी यही बेला फेरिन्छ । आखिरमा उनीहरू सबैले त्यो वियोगान्त कथा त सुनेकै थिए । कान्छी छोरीको नाम राखेका थिए, मतिना । नेपाल भाषामा मतिनाको अर्थ हुने गर्छ, प्रेम, माया, प्रीति, प्यार ।

    त्यतिबेला मतिना तीन वर्षभन्दा केही बढीकी मात्र थिइन् । नर्सरीमा भर्ना मात्र भएकी । शाक्य परिवारले निर्णय गर्‍यो- आफ्नो संस्कृतिको धरोहर कायम राख्न मतिनालाई कुमारी बनाउने । 'त्यो वियोगान्त कथा खालि एक पुस्ताबाट अर्को पुस्तामा सर्दै आएको कथा न हो,' शाक्य परिवारको निचोड थियो । त्यसो त, कुमारीका पनि दर्जनभन्दा बढी प्रथा छन् । त्यसमध्ये केही लोप भइसके । जति छन्, त्यसमध्ये पनि वसन्तपुरकी कुमारी मुख्य मानिन्छ । यसकै बढी महत्त्व छ ।

    राजकीय कुमारी भएर पनि यस्तो भएको हुन सक्छ । कोही यसलाई महालक्ष्मी त कोही वज्रदेवीको प्रतीक मान्छन् । यस्तै केही तलेजु भवानीको प्रतीक । जयप्रकाश मल्लले कुमारी प्रथाको स्थापना गरेको मानिन्छ । अहिले वसन्तपुरमा रहेको कुमारी घर नेपाल संवत् ८७७ तिर बनेको मानिन्छ । त्यसअगाडि सायद हनुमानढोकामै कुमारीलाई बस्नका लागि व्यवस्था थियो । जयप्रकाश मल्लदेखि अहिलेसम्म लगातार एकपछि अर्को कुमारी बन्दै आएका छन् ।

    एकखाले अनुमान छ, अहिलेकी मतिना सम्भवतः ४४ औं राजकीय कुमारी हुन सक्छिन् । यिनै मतिनालाई पनि त्यति बेला सोधिएको थियो, 'कुमारी हुन्छौ त ?' सानैदेखि केही फरक र विशेष देखिएकी मतिनाले आत्मविश्वासले भनेकी थिइन्, 'हुन्छु ।' जो कोहीले कुमारी कहाँ हुन पाउँछन् र ? शाक्य कुलकी हुनुपर्‍यो । आमा र बुबा दुवैमा तीन पुस्तासम्म हेरिन्छ, कुल ठीक छ कि छैन भनेर । फेरि चिना पनि मिल्नुपर्‍यो । पहिले पहिले कुमारी हुनेको चिना राजाको चिनासँग मिल्नुपथ्र्यो ।

    अहिले त राजै रहेनन्, त्यसैले मतिनाको चिना देशको ग्रहदशासँग मिलाइएको थियो । सबै मिलेपछि अन्ततः मतिना बनिन्, गणतन्त्र नेपालको पहिलो कुमारी । दसैंको मुखैमा परिवारको सबैभन्दा प्यारी कान्छी छोरीले घर छाड्नुपरेको थियो । त्यो दसैं कुनै पनि अर्थमा दसैं रहेन । बज्यै बालदेवी र आमा सुनिता शाक्यको मन कम्ती रोएको थिएन, त्यस बेला । न त बुबाको मन ठीक ठाउँमा थियो । हिजै जस्तो लाग्छ, यी सबै घटना, अहिले छ वर्ष भइसकेको छ । मतिना पनि नौ वर्षकी भइसकिन् ।

    कुमारी हुँदासम्म उनले आफ्नो घर र्फकनु हुन्न । वसन्तपुरको कुमारी घरमै रहनुपर्छ । उनको हेरविचार गर्न चिताइदारहरू हुन्छन् । केही साताअगाडि मात्र इतुंबहालमा देवताहरू प्रदर्शन चल्दा उनी त्यहाँ आएकी थिइन् । र्फकंदा परबाट आफ्नो घर हेरिन् । खासै प्रतिक्रिया दिइनन् । उनका आफ्नै उमेरका दिदीबहिनीले घरबाट हात हल्लाएर बाईबाई गरे । कुमारीले आफ्नो गहना र वस्त्र धारणा गरिसकेपछि उनी केही फरक देखिन्छन् । बाल चञ्चलता हराउने गर्छ । अरू बेला भने साधारणजस्तै हुन्छ ।

    अचेल कम्प्युटरको जमाना छ, त्यससँग पनि मतिना अभ्यस्त भइसकेकी छन् । ल्यापटप र मोबाइल पनि उनका लागि नौला रहेनन् । अहिले उनी चार कक्षामा पढ्ने भइसकेकी छन् । स्कुल जान्नन्, स्कुल नै उनीसम्म आउने गर्छ । उनको स्कुल हो, गणबहालको गि्रनपिस को-एड । दुईजना शिक्षक दिउँसो पालोपालो कुमारी घर पुग्छन्, पढाउन । मतिनाले पढ्ने मात्र कुमारी घरमा हो, उनको पढाइको ढाँचादेखि लिएर अरू सबै स्कुलले तोकेजस्तै हुन्छ । जाँच पनि दिनुपर्छ, पास पनि हुनुपर्छ । शाक्य परिवारबाट पनि बरोबर कुमारी घर पुग्छन् ।

    आफ्ना दिदीबहिनी आउँदा कुमारी खुबै खुसी हुन्छिन् र साधारण केटाकेटीजस्तै खेल्छिन् । बज्यै र आमालाई भने कुमारी घर छाड्दा अझै गाह्रो हुने गर्छ, उनको मायाले । बुबा प्रतापमान बरोबर कुमारी घर गइरहन्छन् । छोरी भेट्न उनलाई कुनै रोकतोक छैन । मनले भनेपछि पुगिहाल्छन्, कुमारी घर । उनले पनि अनुभव गरेका छन्, आफ्नी छोरी अरू बेला साधारण हुन्छिन् । जति बेला कुमारीको गहना र वस्त्रमा सज्जिन्छन्, विशेष हुन्छिन् ।

    अब एकाध दिनमै इन्द्रजात्रा सुरु हुँदै छ । काठमाडौंको सबैभन्दा ठूलो सांस्कृतिक चाड हो, यो । यसलाई येँया पुन्हि भनिन्छ । तीनपटक कुमारीको रथले भित्री काठमाडौं घुम्ने गर्छ । बुबा प्रतापमान पनि रथसँगै घुम्छन् । त्यसैलै इन्द्रजात्राको बेला उनी खुबै व्यस्त हुन्छन् । आखिरमा उनी कुमारीका बुबा हुन्, अझ भनौं देवताका बुबा । यत्तिकै भन्दा पनि उनको मन खुसीले झुम्ने गर्छ । मान्छे भएर देवताको आमा बुबा, बाजे बज्यै, दिदीबहिनी, दाइभाइ हुने अवसर ।

    प्रतापमान आफै प्राज्ञिक व्यक्ति हुन्, भाषा संस्कृतिप्रति अनुराग राख्ने । खासमा उनी लिपि विशेषज्ञ हुन् । नेपालमा चलनचल्तीमा रहेका कम्तीमा १२ लिपिका ज्ञाता हुन् । त्यसमा नेपालको गौरव रञ्जना लिपि पनि पर्छ । लामो समय नेपाल लिपि गुथिको नेतृत्व सम्हाले, अहिले त्यही गुथिको प्राज्ञिक परिषद्को सदस्य छन् । अहिले उनी कुमारी अधिकारकर्मीजस्तै भएका छन् । र, कुमारीबारे विशेषज्ञ पनि । कुमारीलाई लिएर निस्केका समाचारका कटिङ राख्छन्, कुमारीलाई लिएर लेखिएका थेसिस पनि जम्मा गरिरहेका छन् ।

    उनकै भाषामा मतिना कुमारी हुनुअगाडिसम्म यो प्रथा संकटमा थियो । डर थियो, कतै त्यो लोप हुने त होइन । आफ्नो छोरी कुमारी भएपछि प्रण गरे, यो प्रथालाई कायम राख्न केही दिगो काम गर्नुपर्छ । यसका लागि उनले पछिल्लो छ वर्ष लगातार काम गरेका छन् । धेरैलाई भेटेका छन् । धेरैले उनलाई सहयोग पनि गरेका छन् । समस्या अझै धेरै छन् । यसबीच पनि अहिले केही सन्तोष मान्ने स्थिति बनेको छ ।

    जस्तो काठमाडौं महानगरपालिकाले हालै मात्र कुमारीमा कायम रहेकालाई प्रतिमहिना ४० हजार रूपैयाँ दिने निर्णय गरेको छ । नेपाल सरकारका तर्फबाट सात हजार पाँच सय रुपैयाँ अलग्गै आउँछ । अवकास प्राप्त कुमारीले पनि अहिले नगरपालिकाबाट प्रतिमहिना १० हजार रुपैयाँ पाउँछन् भने सरकारका तर्फबाट तीन हजार सात सय ५० रुपैयाँ । प्रतापमान मान्छन्, कायम कुमारी मात्र होइन, अवकाश प्राप्त कुमारीको स्वास्थ्य र शिक्षाको जिम्मा पनि सरकारले लिनुपर्छ ।

    यसपछाडि प्रतापमानसँग पर्याप्त तर्क पनि छन् । पहिलो, नेपाली पयर्टनमा कुमारीको जबरदस्त आकर्षण छ । यो सबैलाई थाहा छ । धेरैलाई थाहा नभएको के हुन सक्छ भने कुमारीको नाममा पहिले १ सय ८० रोपनी जग्गा थियो, पछि त्यो सरकारले लियो । राजा महेन्द्रको पालामा । टुँडिखेल अगाडि नेपाल वायु सेवा निगम (एनएसी) को भवन रहेको जग्गा यसैमा पर्न सक्छ । अझै पनि घोडेजात्राका बेला त्यही एनएसीको भवनको एउटा कोठामा बसेर कुमारीले जात्रा मनाउने परम्परा छ ।

    यस्तै पुतलीसडकस्थित क्यापिटल मार्केट रहेको भवनको जग्गा पनि कुमारीकै थियो, बूढापाका यस्तै भन्छन् । 'कुमारीको नाममा धेरैले लाखौं करोडौं कमाइरहेका छन्, आखिरमा त्यही कुमारीलाई राम्रो होस् भनेर त्यसको केही अंश खर्च गर्न किन कन्ज्युस्याइँ ?' प्रतापमानको प्रश्न छ । उनी अवकाश प्राप्त सबै कुमारीहरूले सहज र सामान्य जीवन बिताइरहेको तथ्य पनि सबैलाई बुझाउन चाहन्छन् । उनी प्रायः रश्मिला शाक्यको उदाहरण प्रस्तुत गर्न चाहन्छन् । यी पूर्वकुमारी अहिले कम्प्युटर इन्जिनियर भएकी छन् ।

    सायद दुई वर्षपछि मतिनाले पनि अवकाश पाउनेछिन् । यही दुई वर्षभित्र प्रतापमानलाई अझ धेरै काम गर्नु छ । पछि मतिनाले के बन्न चाहने हो, त्यो उनमै छाड्न चाहन्छन् । खालि चाहन्छन्, मतिना देशको सफल र सभ्य नागरिक बनुन् । प्रतापमानलाई दुई वर्षपछि मतिना घर र्फकंदा उनलाई नयाँ वातावरणसँग अभ्यस्त गराउने चुनौती पनि छ । उनी अहिलेदेखि नै त्यसको तयारीमा छन् । र, उनी त्यो दसैंको पर्खाइमा पनि छन्, जुन बेला घरमा कान्छी छोरी हुनेछिन् ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: कुमारी कथा Rating: 5 Reviewed By: Unknown
    Scroll to Top