728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Friday, August 15, 2014

    २१ जनाको मृत्यु, ५७ भन्दा बढी बेपत्ता


    दाङ:  तीन दिनसम्म परेको अविरल वर्षाले आएको बाढी, पहिरो, डुबान र घर भत्किएर सुर्खेतमा २१ जनाको मृत्यु भएको छ । जिल्लाभरका विभिन्न स्थानमा गरी ५७ जनाभन्दा बढी व्यक्तिहरु बेपत्ता भइरहेको र सयौं विस्थापित भएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी जगतबहादुर बस्नेतले दिएको जानकारी अनुसार यो समाचार तयार पार्दासम्म जिल्लाका विभिन्न स्थानबाट २१ जनाको शव फेला पारिसकिएको छ ।

    प्रहरी स्रोतका अनुसार बाबियाचौर गाविसमा ४ जना, तरङ्गा गाविसमा ३ जना, हरिहरपुर गाविसमा १ जना, साहारे गाविसमा १ जना, लाटीकोइली गाविसमा ३ जना, साताखानी गाविसमा २ जना र वीरेन्द्रनगर नगरपालिकामा ७ जनाको शव भेटिएको छ । प्रहरीले यी शवहरुको अझै शनाखत भइनसकेको बताएको छ ।
    यीमध्ये वीरेन्द्रनगर नगरपालिका– ४ का दुईबहिनी ६ वर्षीय बालिका हिमानी रावत र आरती रावतको शनाखत भएको छ । उनीहरुलाई वीरेन्द्रनगर– ४ खोर्पे खोलाको किनारबाट बगाएको स्थानीयवासी जीवन शाहीले टेलिफोनमा अन्नपूर्ण पोष्टलाई बताए । यी रावत दिदीबहिनीसहित ३ जनाको शव इतौरा र टिलपुर भन्ने स्थानमा फेला परेको हो । उपत्यकामा रहेको इत्राम खोला र खोर्पे खोला तथा अन्य स्थानमा भेरी र कर्णालीले बगाउँदा र डुबानमा पर्दा यस्तो क्षति भएको हो ।


    जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक प्रकाश अधिकारीले जिल्लाभर भएको क्षतिको एकिन विवरण प्राप्त नभएको बताए । उनका अनुसार मृतक र बेपत्ताहरुको संख्या अझै बढ्नसक्ने देखिएको छ । उनका अनुसार सुर्खेतमा सञ्चार सम्पर्क पनि राम्ररी हुन सकिरहेको छैन भने करीव २० घण्टादेखि विद्युत आपूर्ति बन्द भएको छ ।


    हरिहरपुर गाविसको रानीघाटमा रहेका घरपरिवार विस्थापित भएका छन् भने त्यहाँ भेरी नदीले घरहरु बगाएको छ । हरिहरपुर– ७ को विजयश्वरी उमाविको भवन भेरी नदीले पूर्णरुपमा बगाएको छ । सोही गाविसको वडा नं. ५ को थापाडेरामा रहेको पुल बगेको छ भने ज्यामिरेकुनाका आधा दर्जन घरहरु बगेका छन् । कुनाथरी– १ चेपाङ्गमा रहेका १५ घर पूर्णतः क्षतिग्रस्त भएको स्थानीय शिक्षक गणेश वलीले टेलिफोनमा बताए ।
    यसैगरी लेखगाउँ– ४ र कुनाथरी– ६ को सिमानामा रहेका १० घर पनि स्थानीय खोलाले बगाएको छ । त्यस्तै, लेखपराजुल गाविस समैजेघाटमा छिन्चु खोलाले १२ घर बगाएको छ । त्यस्तै बाबियाचौर– १ को मुर्मुरी पनि डुबानमा परेको छ । सुर्खेत उपत्यकाभित्र खोर्के खोलाले करीव ४ दर्जन घरटहरा बगाएको छ । नेवारे खोलाले पिपराका १ दर्जनभन्दा बढी घर बगाएको र इत्राम खोलाले दर्जनौं घर बगाएको छ । अविरल वर्षाका कारण जनधनको क्षति हुन थालेपछि सतर्क अवस्थामा रहन जिल्ला प्रशासन कार्यालय सुर्खेतले सबैमा आग्रह पनि गरेको छ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: २१ जनाको मृत्यु, ५७ भन्दा बढी बेपत्ता Rating: 5 Reviewed By: Unknown
    Scroll to Top