728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Thursday, September 4, 2014

    अहिले म पटक-पटक बलात्कृत भएकी छु : राधिका

    राधिका सापकोटा, महिला अधिकारकर्मी
    घटना नम्बर १ : धादिङकी एक बालिका हजुरबुबाबाट बलात्कृत भइन् । उनलाई आमाले रेखदेखका लागि मामाको घरमा राखेकी थिइन् । उनलाई ३/४ वर्षदेखि हजुरबाबुले बलात्कार गर्दै आएका रहेछन् । तर, उनले केही भनिनन् । घरमा आउँदा म मामाघर जान्न मात्र भन्थिन् । तर, आमाले फकाउँथिन्, गाली गर्थिन् र मामा घर पठाउँथिन् ।
    जब उनी गर्भवती भइन्, वास्तविकता बाहिर आयो । तर, त्यसबेला उनको पेटको बच्चा चार महिनाको भैसकेको थियो । उनको उमेर अहिले १४ वर्षको भएको छ ।
    हामीले मुद्दा दर्ता गर्न खोज्यौं, तर प्रहरीले मानेन । चार महिनाको गर्भ छ, कसरी जवरजस्तीकरणी भयो ? प्रहरी प्रश्न गर्छ । हामीले हाडनाता करणीमा मुद्दा हालेर काठमाडौंमा गर्भपतन गरायौं र उनी अहिले सेफ हाउसमा छिन् ।
    सात वर्षको उमेरमा बलात्कृत भएकी एउटी नानी छिन्, उनी के भन्छिन् भने जतिबेला म बलात्कृत भएँ, त्यसबेला केही भएन । के भएको हो, मलाई थाहा नै थिएन । जब म ठूली भएँ, बुझ्ने भएँ, त्यसपछि मलाई पीडा भएको छ
    घटना नम्बर २ : उनी सानै छँदा बाबु र आमाले अर्को विवाह गरेपछि मामाको संरक्षणमा थिइन् । उनी आफ्नै कान्छोमा मामाबाट बलात्कृत भइन् । उनलाई थाहा नै छैन कि कहिलेदेखि उनीमाथि यौन शोषण भयो । उनको पेटमा सात महिनाको बच्चा भएपछि मात्र घटना बाहिर आयो । त्यतिबेला उनको उमेर १६ भर्खर वर्षको भएको थियो ।
    घटना नम्बर ३ : सात वर्षकी बालिकालाई आफ्नै हजुरबुबाले बलात्कारको प्रयास गरे । सँगै खेल्दै गरेका अरु बालबालिकाले देखेपछि हजुरबुबा भागे र उनी बलात्कृत हुनबाट बचिन् । यो परिवारका सबैलाई थाहा छ ।
    तर, बालिकाको बाबुले सबैलाई घरबाट निकालिदिन्छु भनेपछि आमाले मुद्दा दर्ता गर्न मानिनन् । अहिले हाम्रो पहलमा मुद्दा दर्ता भएको छ ।
    पछिल्लोपटक धादिङमा भएका बलात्कारका घटनाका केही उदाहरण मात्र हुन् यी ।
    महिला अधिकारकर्मी राधिका सापकोटा

    मेरो अनुभवले के भन्छ भने आफ्नै परिवारका मान्छे र आफन्तबाट बलात्कारको घटना भएको छ, त्यो पनि आफूभन्दा १० वर्षभन्दा कम उमेरका बालिकामाथि । त्यसमा को संलग्न छ भन्दा उनकै परिवारका सदस्यहरु । अविभावक बन्नुपर्ने, जसले जिम्मेवारी लिनुपर्ने हो, उनीहरुबाटै शिकार भएका छन् ।
    मानिस मर्‍यो भने एकपटक हो । तर, बलात्कृत भएको मान्छे हरेक पल मरेर बाँचेको हुन्छ ।
    धादिङमा नै सात वर्षको उमेरमा बलात्कृत भएकी एउटी नानी छिन्, उनी के भन्छिन् भने जतिबेला म बलात्कृत भएँ, त्यसबेला केही भएन । के भएको हो, मलाई थाहा नै थिएन । जब म ठूली भएँ, बुझ्ने भएँ, त्यसपछि मलाई पीडा भएको छ । सबैले मलाई यो बलात्कृत भएको मान्छे भन्छन् । स्कुलमा कसैले चिनेनन् भने त्यो थिई नि, बलात्कृत भएकी केटी भन्छन् । त्यसैले उनी अहिले पटक-पटक बलात्कृत भएको महसुस गर्छिन् ।
    शक्तिको आडमा हुन्छन् बलात्कार
    यस्ता पारिवारभित्रका घटनाहरु पहिला पनि हुँदै भएका थिएनन् भन्नेचाँहि होइन, जुन बाहिर आउन सकेका थिएनन् भन्ने लाग्छ ।
    किनभने, परिवारको शक्ति कोसँग छ, यसले अरु मान्छेहरुलाई आफ्नो स्वविवेकले प्रयोग गरिरहेको देखिन्छ । त्यस्तो अवस्थामा उनीहरु यति निरीह हुन्छन् कि घटनालाई बाहिर ल्याउन सक्दैनन् ।


    उनीहरुलाई थाहा छ, आफूमाथि अन्याय भएको छ, हिंसा भएको छ । तर, पनि उनीहरु आफ्नो पीडा बाहिर ल्याउन सक्दैनन् ।
    अहिले अलिकति हिम्मत गरेर केही घटनाहरु बाहिर ल्याएका छन् । यसमा कस्तो देखिन्छ भने जतिखेर त्यो घटना भएको हुन्छ, त्यसबेला पीडकले मदिरा सेवन गरेको थिएँ, रक्सी खाएको बेलामा यस्तो भयो भन्ने गरेको पाइन्छ र, त्यस्तो देखिन्छ पनि । यसमा मानसिकता एउटा कारण पनि होला, यो अध्ययनकै विषय छ ।
    तर, मैले के देख्छु भने शक्ति असन्तुलन एउटा कारण हो । परिवारमा एउटा व्यक्तिसँग यति धेरै शक्ति छ कि उसले चाहँदा जे पनि गर्न सक्छ वा मैले जे गर्दा पनि भइहाल्छ भन्ने मानसिकता छ ।
    अर्को, महिलाहरु भनेको प्रयोग गर्ने वस्तु हो र यिनीहरुलाई आफ्नो इच्छा र सन्तुष्टिका लागि प्रयोग गर्न सकिन्छ भन्ने धारणा पुरुषहरुमा पाइन्छ । हाम्रो संरचनाले उसलाई यस्तो बनाएको छ ।
    मान्छेमा जोसँग पनि आपराधिक मानसिकता हुन्छ, मात्रा कम र बढी होला । त्यो वातावरण पाउनासाथ बाहिर निस्कन्छ । धेरैजस्तो यस्ता घटनाहरु हेर्नुभयो भने जुन परिवारमा यस्तो घटना भएको छ, त्यो परिवारमा महिलाहरु असाध्यै डोमिनेटेड अवस्थामा हुन्छन् । त्यो पुरुष शक्तिवान देखिएको हुन्छ ।
    दण्डहीनता अर्को कारण
    दण्डहीनता अर्को कारण हो । सञ्चारको यत्रो पहुँच छ । कुनै घटना बाहिर आएन भने त्यसले एउटा मान्छे मात्र पीडा भोगिरहेको हुन्छ । तर, जब घटना बाहिर आएर पनि न्याय पाउँदैन, त्यसलाई त सय जनाले नियालिरहेको हुन्छ । त्यो न्याय प्राप्त नभएपछि उजुरी गर्न आउनेहरु रोकिन्छन् । अर्को एउटाले सजायँ नपाउनासाथ जसको मनमा आपराधिक मनोवृत्ति छ, उसको मनमा त्यसले यस्तो गर्दा त केही भएन भने मैले गर्दा के हुन्छ र भन्ने सोचाइ आउँछ ।
    अर्को कारण के पनि हो भने राजनीतिक अस्थिरता र संक्रमणकाल धेरै लामो हुनु पनि हो । किनभने अहिले मानिसहरुले यसलाई साना कुरा हुन् भनिरहेका छन् ।
    यति धेरै बलात्कारका घटनाहरु भइरहेका छन्, तर राज्यले केही गरेको छैन । धेरै मानिसहरुको ध्यान राजनीतिक कुरामा छ । संविधान बन्छ कि बन्दैन भन्ने छ । यसले घटनाहरु ओझेलमा मात्र पारेको छैन, पीडितले न्याय नपाउने र यस्ता घटना बढाउने वातावरण बनाएको छ ।
    बलात्कारीलाई राजनीतिक संरक्षण
    कुनै पनि घटना शायदै होला, जहाँ राजनीतिक संरक्षण नहोस् । जहिले पनि कस्तो हुन्छ भने एउटा घटना हुन्छ, सबैभन्दा पहिला त्यो राजनीतिक विषय बन्छ ।
    पीडितको पक्षमा कोही राजनीतिक दलले बोल्ने वाला छैनन् । राजनीतिक संरक्षण हुँदा पनि कमसेकम पीडितको पनि संरक्षण भइदिए हुन्थ्यो नि । कहिँ कतै यस्तो भएको पाइँदैन । जहिले पनि पीडिकको पक्षमा हुन्छ ।
    त्यो राजनीतिक संरक्षण पनि राष्ट्रिय स्तरमा लविङ गर्नेसम्मको हुन्छ । स्थानीय स्तरको घटना भएको छ भने पनि पीडकलाई कारवाही गर्नु हुन्न भनेर केन्द्रीय स्तरको दबाव जान्छ ।
    यसकारण बढ्छ बलात्कार
    यो सबैले आपराधिक मनोवृत्ति भएका मानिसहरुलाई बल पुर्‍याएको छ । अर्को यो समाजमा कुनै महिलामाथि यस्तो घटना भयो भने उ न्याय माग्दै बाहिर आउन सक्दैन । किनकि उसले आफूलाई अन्याय भयो भन्दा समाजबाटै बहिस्कृत भएको र न्याय नपाएको धेरै महिलाको अवस्था देखिने गरेको छ । अनि फेरि त्यस्तो हुन किन बोल्छ ?
    मलाई त लाज लाग्छ कहिलेकाँही । एकछिनलाई मानौं, घटना भएको होइन रहेछ । कम्तिमा उसले होइन भन्ने आँट त गर्नुपर्‍यो नि अदालतमा । तर, प्रक्रियामा नै आउन दिँदैनन् र दबाव दिएर घटनालाई दबाउन चाहन्छन् ।
    तर, हामी केही गर्न सक्दैनौं । न प्रशासनले केही गर्न सक्छ, न कारवाही गर्छ । जसले जे गर्दा पनि चुप लागेर बस्नुपर्ने । के गर्न सकिन्छ भनेर राज्यका प्रतिनिधिहरुलाई भन्यो भने केही गर्न सकिन्न भन्छन् । मान्छेलाई जबरजस्ती त्यो महिलासँग बोल भन्न भएन, त्यसलाई माया गर भन्न किन्न के गर्ने भन्छन् ।
    पीडित केन्द्रित न्याय चाहियो
    एक त घटना घरबाटै बाहिर निस्कन गाह्रो छ, जब आउँछ त्यसपछि पनि अनेक तर्क आउँछ ।
    मुद्दा दर्ता नै हुन सक्दैन । प्रहरी प्रशासनले यो मुद्दा झुटो हो कि भनेर सुरु गर्छ । उसको दिमाग नै झुटो हो कि भन्नेतिर जान्छ । हाम्रो कानूनको सिद्धान्त नै गलत छ जस्तो लाग्छ मलाई । हजार जना अपराधी छुटुन् तर, एकजना पनि निर्दोष नपारोस् भन्ने मान्यताले त हजारजना छुटिसक्छ र उसले अपराध गरिरहन्छ ।
    त्यसैले हामीले उठाइरहेको कुरा के हो भने कानूनमा केही संशोधन जरुरी छ । ३५ दिनको हदम्याद अनावश्यक छ । कुनै बालिकामाथि बलात्कार भएको छ भने उसले बुझ्न सक्ने भएपछि बोल्छ । तर, उनको मुद्दा आउन नै कानूनले बन्देज गरिएको छ ।
    अर्को सजायँ एकदमै कमजोर छ । न्यायाधीशको स्वविकेकमा छोडिएको छ । बढीमा १५ वर्ष छ र कानून पनि पीडक केन्दि्रत पनि छ । ल एकछिन मान्नुस्, मलाई बलात्कार भयो, पीडकलाई २० वर्ष नै सजायँ भयो तर मैले पाउने के त ? पीडकलाई कारबाही हुँदैमा मैले न्याय पाएको महसुस गर्छु त ? हुँदैन नि ।
    हामी मानवअधिकारको कुरा गर्नेहरु पनि त्यो बन्दीले खान पायो पाएन भन्छौं । तर, त्यो अपराधीले अपराध गरेको मान्छेले खान पायो कि पाएन खै हामीले हेरेको ? खै मानवअधिकारको कुरा ?
    बलात्कार गर्नेले राम्रोसँग जेलमा बस्न पायो कि पाएन विषय बन्छ तर, बलात्कृत भएकी बालिका समाजमा कसरी बसेकी छे ? पुनःस्थापना हुन सकिन् कि सकिनन्, खै हेरेको ?
    हामीले धादिङमा ९ जना बालात्कृत बालिकाको विषयमा अध्ययन गरेका थियौं । जसमा पाँच जना विस्थापित भएका छन् । त्यसैले पीडित केन्द्रित न्याय प्रणाली चाहियो भनेर अहिले हामीले उठाएका छौं ।
    मुद्दा दर्तापछि राज्यको जिम्मेवारी सकियो ?
    मलाई लागेको के हो भने तत्काल राज्यले ठोस निर्णय गर्नुपर्छ । अहिले एक महिनामा देशभरमा सय/दुई सय बलात्कारका घटना भएका छन् । यो सानो कुरा हो भन्ने मलाई लाग्दैन ।
    तर, संसदमा छलफलको विषय बन्दैन । राज्यले तुरुन्त निर्णय गर्नुपर्छ कि पीडितको हकमा के गर्ने र पीडकलाई कारबाहीको हकमा के गर्ने ? पीडितलाई न्यायको महसुस कसरी गराउने ?
    अहिले राज्यले हदै गर्ने भनेको मुद्दा दर्ता हो । जे भइरहेको छ, त्यसलाई रोक्ने भन्नेतर्फ केही पहल छैन । कहिलेकाहिँ पीडितलाई राहतको कुरा गर्दा महिला विकासमा छुट्याएको पैसा छ, त्यसबाटै राहत दिनु भन्ने हुन्छ । तर, ५ हजारले के गर्ने ?
    हाम्रो सरकार मौन छ । ढुक्क छ । लाग्छ, केही भइरहेको छैन । राज्यको जिम्मेवारी के भन्दा बढीमा एउटा मुद्दा दायर गरेपछि उसको जिम्मेवारी सकियो ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: अहिले म पटक-पटक बलात्कृत भएकी छु : राधिका Rating: 5 Reviewed By: Unknown
    Scroll to Top