728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Friday, August 8, 2014

    पुरा विवरण पढ्नको लागि यहाँ क्लिक गर्नुहोस् >>>


    दिनेश अधिकारी र तपाईंको सम्बन्ध के हो ?

    हामी दुवैजना एकअर्कालाई माया गथ्र्यौं । परिवारको सहमतिमा यसै वर्ष हामीबीच विवाह हुने कुरा थियो । दुवैतर्फका परिवारबीच गत वर्ष नै हाम्रो विवाह गरिदिने सहमति भएको थियो  ।

    दिनेशसँग चिनजान कसरी भयो ?
    सामान्य चिनजान त हाम्रो पहिल्यैदेखि थियो । तर हामी पछिल्लो दुई वर्षयता प्रेममा थियौं । म विशालनगरमा सेल्टर नामको सामाजिक संस्था चलाउँछु । ३५ जना दु:ख पाएका बालबालिका राखेर लालन पालन र शिक्षा दिइरहेको छु । त्यही सिलसिलामा हाम्रो भेट भएको हो । उहाँले पनि संस्थामा ठूलो सहयोग पुर्‍याउनुभएको छ ।

    तपाईंजस्तो पढेलेखेको मान्छेको दिनेशजस्तो राज्यको नजरमा अपराधी मान्छेसँग कसरी यस्तो सम्बन्ध हुन सक्यो ?
    मिडिया र राज्यको आँखाबाट हेर्दा उहाँ गुण्डा, डन र अपराधी होला तर, मेरा लागि उहाँ संसारकै सबैभन्दा असल मान्छे हो । जुन केसमा उहाँ वान्टेड हुनुहुन्थ्यो त्यसमा उहाँको केही दोष छैन । जब राधे भन्नेले गोली हान्यो, त्यसपछि उहाँका भाइहरुले बदला लिनुभएको हो । राधेलाई उहाँ आफैंले कुखुर हानेको होइन । पहिला जेजस्तो भए पनि पछिल्लो दुई वर्षयता उहाँको त्यस्ता कुनै पनि घटनामा संलग्नता थिएन । केही मुद्धा अदालतमा विचाराधीन थिए । केहीमा सफाई र केहीमा उहाँले सजाय भोगिसक्नु पनि भएको थियो । यस्तो अवस्थमा पूरानो रिसीइबीले उहाँमाथि राधे समूहबाट आक्रमण भयो ।

    प्रहरीले मोष्ट वान्टेड सूचीमा राखेको मान्छेका बारेमा तपाईंले गरेको यस्तो दाबी अरुले पत्याउलान् त ?
    यो कुरा दिनेशसँग जो नकिज हुन्छ, उसलाई मात्र थाहा हुन्छ । दिनेश सबैलाई प्रेम गर्ने खुला हृदयको मान्छे हो ।

    त्यति राम्रो मान्छे किन भागेर इण्डिया जानुपरेको त ?
    उहाँलाई यहाँ सुरक्षा खतरा भयो । त्यही भएर केही महिना इण्डिया बन्नुभयो । अदालतमा मुद्धा थियो । त्यसैले हाम्रो बीचमा भएको सल्लाहअनुसारै उहाँ अदालतमा आत्मसमर्णण गर्नका लागि केही दिनअघि मात्र नेपाल आउनुभएको थियो । उहाँको वकिलसँग कसरी आत्मसमर्पण गर्ने भन्नेबारेमा कुरा भइरहेका बेला हत्या भयो । त्यही भएर मलाई प्रहरी सम्झंदा घृणा लाग्छ । जहाँसम्म उहाँ असल कि खराब भन्ने कुरा छ । मैले भेटेका जति सबै मान्छेले उहाँलाई आदर गरेको पाएको छु ।

    धादिङमा जानुस् न उहाँको कति राम्रो छवि छ । धादिङमा यदि उहाँ हुनुहुन्नथ्यो भने एमालेले एउटा पनि क्षेत्रमा चुनाव जित्ने थिएन । यो कुरा मैले होइन, स्वयम् एमालेकै नेताहरुले भन्नुभएको हो । उहाँले थर्काएर होइन, लोकप्रियताका कारणले । उहाँका बारेमा प्रहरी र मिडियाको कुरा सुन्दा अर्कै लाग्ला तर, धादिङ र नयाँबजार क्षेत्रमा जानुस्, सबैले कति तारिफ गर्छन् । उहाँको मन सफा थियो । म वौद्धिक मान्छे हुँ । लण्डनको अक्सफोर्ड विश्वविद्यालयबाट स्नातक गरेको छु । मानिसलाई बुझ्न सक्ने क्षमता छ । उहाँ अरुले भनेजस्तो खराब र डन भएको भए म कसरी सँगै जीवन बिताउन तयार हुन्थें । के जीवन भनेको एक दुई दिनको रमाइलो हो र ? फेरि मैले त मन पराएँ रे के उहाँ खराब भएको भए मेरो परिवार बिहेको लागि तयार हुन्थ्यो ? कुनै असल बाबुआमालाई जानीजानी एउटा डनलाई आफ्नी छोरी जिम्मा लगाउने मन हुन्छ ? हाम्रो सम्बन्ध त ‘एक्स्ट्रा अर्डिनरी’ हो ।

    उहाँ एउटा डनमात्र भएको भए एमाले अध्यक्ष केपी ओलीले किन ‘यो षड्यन्त्रपूर्ण हत्या’ भन्नुहुन्थ्यो ? अहिले पनि शव राखेको शिक्षण अस्पताल जानुस्, पाँच सातसय मान्छे छन् । जिउँदो हुँदा पो थर्काएर पछि लागेको भन्थे होलान् मान्छेहरु, मरेपछि त डराएर त्यसरी आउनु नपर्ने  नि ?

    केपीले राम्रो भनेर के गर्नु त एमाले उपाध्यक्षसमेत रहेका गृहमन्त्री बामदेव गौतमले संसदमा दिनेश विभिन्न अपराधमा संलग्न रहेर प्रहरीको फरार सूचीमा भएको र, प्रहरीको ‘इन्काउण्टर’ मा मारिएको भनेछन् ?
    उहाँले भनेका कुरा मैले पनि सञ्चार माध्यमबाट थाहा पाएँ । यो सुनेर दु:ख लाग्यो । उहाँले त्यसको पुष्ट्याईं गर्नुपर्‍यो नि । पक्राउ गरेर कानुनी कारबाही चलाउनु पर्नेमा हत्या गर्ने उल्टै परिवारलाई पीडा दिने यो काम बिल्कुल ठीक भएन । बामदेवले के बिर्सनु हुँदैन भने हिजो चुनावका बेला धादिङमा तीनवटै क्षेत्रमा एमालेलाई जिताउनमा दिनेशको निर्णायक हात छ । आफ्नो पार्टीलाई चुनाव जिताउन खट्दा असल मान्छे, अहिले अपराधी कसरी हुन्छ ? हामी अब प्रहरीमा कुमुद, अर्पण र अरु केही मान्छेविरुद्ध किटानी जाहेरी दिन्छौं

    बिहेपछिको योजना के थियो ?
    हाम्रो मेल भएको भए दुवैको ‘फ्युचर’ उज्यालो हुने थियो । उहाँ पहिल्यै राम्रो मान्छे हो । मेरो सम्बन्धपछि झन् राम्रो हुुनुभएको थियो ।

    प्रहरीले यति राम्रो मान्छेलाई किन मार्नुपरको होला त ?
    डिएसपी कुमुद ढुंगेल मप्रति अति नै आकर्षित थिए । उनले मलाई एकतर्फी रुपमा मन पराउँथे । उनी मेरो संस्थामा पनि बारम्बार आइरहन्थे । उनको प्रस्ताव अस्वीकार गरेर मैले दिनेशको प्रस्ताव स्वीकार गरें । जुन दिन दुई परिवारका बीचमा हाम्रो बिहेको कुरा टुंगियो, त्यही दिन कुमुदले मलाई फोनमा भनेका थिए, दिनेशलाई ज्वाईं बनाउने भइछौ, तर उसलाई म कुनै पनि दिन मारिदिन्छु । त्यसलाई छाड्दिन उनले भनेका थिए । यसै साता दिनेशले ‘कोर्ट’मा आत्मसमर्पण गर्ने कुरा कुमुदले थाहा पाएका थिए होलन् । उनलाई राम्रारी थाहा थियो कि दिनेशमाथि लागेको आरोप कमजोर थियो । केस फितलो भएकाले ठूलो सजाय हुँदैन ठानेर उनले हत्या गरे । मैले दिनेशसँगको निकटताबाट राम्ररी के थाहा पाएँ भने डन प्रहरीले जबर्जस्ती बनाउने रहेछ । दिनेशलाई डन भन्ने हो भने बर्दी लगाएर दिनदहाडै गोली हानेर मान्छे मार्ने कुमुद ढुंगेललाई के भन्ने ? उहाँमाथि राधेलाई कुखुरी हानेको आरोप थियो । त्यो सामान्य केस हो, तर दिनेशजी त्यत्तिकै भरमा डन हुनुभयो । कुमुदसँग प्रहरीको फुली, बर्दी र ट्याग थियो, उनी डन भएनन् । साँच्चै भन्ने हो भने त डन भनेकै प्रहरी हो ।

    कुमुदले नै गोली हानेको भन्ने के प्रमाण छ तपाईंसँग ?
    किनकी उनको मनमा दिनेशप्रति जुन तहको ‘इगो’ थियो, त्यस्तो इगो भएको मान्छेले मात्र त्यति ठूलो अपराध गर्न सक्छ ? सबै पुलिससँग दिनेशको के व्यक्तिगत दुश्मनी थियो र ? । कुमुदबाहेक अरुले त्यस्तो गर्नै सक्दैन । किन भने अदालतले फैसला गर्ने केस हो । प्रहरीले मार्नुपर्ने कारण के थियो र ?

    तर प्रहरीले प्रहरी देखेपछि शंकास्पद गतिविधि गरेको र पक्राउ गर्न खोज्दा दिनेशले गोली चलाएकाले आत्मरक्षाका लागि जवाफी फायरिङमा मृत्यु भएको बताएको छ नि ?
    यो शतप्रतिशत झुठ र बनावटी कथा हो । पहिलो कुरा उहाँ अदालतमा आत्मसमर्पण गर्न आउनुभएको हो । त्यस्तो मान्छेसँग हतियार हुन्छ ? जो वान्टेड छ, उसले हतियार बोकेर काठमाण्डुमा हिंड्छ ? एक छिनका लागि मानौं कि हतियार थियो रे, बाइक चलाएर भाग्दै गरेको मान्छेले पछाडि फर्किएर प्रहरीलाई कसरी गोली हान्न सक्छ ? त्यो गोली प्रहरीलाई लागेको हुनुपर्दैन ? भाग्दै गर्दा पछाडिबाट हानेको गोली छातीमा लाग्छ । पाँच सेन्टिमिटर नजिकबाट ताकीताकी छातीमा आठवटा गोली हानिएको छ । अनि एउटा लक्काजवान मान्छे आठ गोली लागेर ढलेको स्थानमा रगतको थोपा हुनुपर्दैन ? भाग्दै गरेको मान्छेलाई गोली लागेको भए, बाइकमा केही क्षति हुँदैन । प्रहरीलाई छल्न भागेको मान्छेको बाइक कति स्पिडमा थियो होला अनुमान गर्नुस् । सामान्य स्पिडमा रहेको बाइक त पल्टियो भने कति पर घिसारिन्छ । प्रहरी छल्न भागेको मान्छेको बाइक लाससँगै ढल्छ ? बाइकमा क्षति हुनुपर्देन ? बाइकमा एउटा सिन्कोले घोचेको सम्म पनि दाग छैन । के नेपालको कानुनुले इन्काउण्टरमा मान्छे मार्न पाइन्छ भनेको छ ? कोही अपराधी भाग्यो भने, उसलाई नियन्त्रणमा लिने उद्देश्यले खुट्टामा मात्र गोली हान्न पाइन्छ । छातीमा ताकेर हान्न पाइन्छ ? भागेको भए तीनवटा गाडीमा भएको प्रहरीले घेराबन्दी गर्न सक्थ्यो । अर्कोतिरबाट प्रहरी बोलाएर बाटो छेक्न सक्थ्यो । बाइकको टायरमा गोली हान्न सकिन्थ्यो, के यसो गरियो त ?

    तपाईंलाई इण्डियाबाटै नेपाल आउन नकिएको भए यस्तो घटना हुने थिएन कि भन्ने लाग्दैन ?
    उहाँमाथि लागेको आरोप फितलो थियो । सधैं भागेर पनि हुने थिएन । त्यसैले अदालतमा उपस्थित भएर केस सल्टिएपछि नयाँ जीवन सुरु गर्ने ‘प्लान’ थियो । उहाँ उतै बसेको भए पनि हुन्थ्यो नि त । तर, अदालतको फेस गर्छु भन्दा गल्ती थियो भन्ने लागेको छ ।

    पछिल्लोपटक दिनेशसँग कहिले कुरा भएको थियो ?
    घटना भएको दिन बुधबार बिहान भाइबरमा कुरा भएको थियो ।

    के कुरा भयो ?
    इण्डिया बस्दा कपाल पाल्नुभएको थियो । अदालतमा जाने तयारीमा रहेकाले आज कपाल काट्छु भन्नुभएको थियो । धेरै कुरा भएन ।

    दिनेशसँग भन्दा पहिला अर्पण कोइरालासँग तपाईंको अफेयर थियो रे हो ?
    ऊ मेरो एकदमै मिल्ने साथी थियो । हामीबीच लामो सम्बन्ध रह्यो । ऊ आफ्नो परिवार छाडेर धेरै वर्ष हाम्रै घरमा बस्यो । पारिवारिक सदस्यजस्तै थियो । ऊ र म लण्डमा पनि सँगै थियौं । नेपाल आएपछि पनि हामी साथी नै रहिरह्यौं । केही वर्षदेखि ऊ जुवातास खेल्ने, ड्रग्स सेवन गर्ने र अरु पनि नराम्रा तल सबैमा फस्यो । मैले दुई पटकसम्म पुनस्र्थापना केन्द्रमा राखेर निकालेको हुँ । तर कुलतबाट सुध्रिएन । उसले मेरो परिवारको करोडौं पैसा खाएर भागेको छ । ऊ प्रहरीको खोजी सूचीमा छ  । उसले कुमारी बैंक, अन्न्पूर्ण होटल र तीन चारवटा ट्राभल एजेन्सीमा धेरै पैसा तिर्नुछ । फर्पिङ प्रहरीमा एकजना केटीमाथि दुव्र्यबहार गरेको मुद्धमा छ उसको विरुद्धमा । उसँग छुटेको धेरै समयपछि मेरो र दिनेशको सम्बन्ध भएको हो । हाम्रो सम्बन्धपछि अर्पणले पाकिस्तानबाट फोन गर्न लगाएर धम्कीसमेत दिन लगायो ।

    दिनेश र अर्पणबीच पनि सम्पर्क थियो रे, अर्पाणले नै तपाईंलाई दिनेशसँग परिचय गराएको, पछि तपाईले अर्पाणलाई धोका दिएको भन्छन् नि ?
    यो झुठ कुरा हो । अर्पणको व्यवहारबाट म पहिल्यै आजित थिएँ । दिनेश र ऊ साथी थिए । हामी सँगै पनि भेट्ने गथ्र्यौं । तर उसलाई छाडेर दिनेशसँग हिंडेको भन्ने प्रचार लगत हो । पहिलो कुरा त हामी त्यसरी अफेयर चलेको जसरी हिंडेका पनि थिएनौं । परिवारकै जानकारी र सहमतिमा गाँसिएको सम्बन्ध हो । तर मेरो र दिनेशको सम्बन्ध उसले पचाउन सकेन । त्यही कारण दिनेशको हत्यासम्म हुन पुग्यो । मलाई पहिला पनि धेरै धम्की दिएको थियो उसले, त्यही भएर मैले ललितपुर प्रहरीमा उजुरी पनि दिएको थिएँ । सोमेन्द्रसिंह राठौर ढिएस्पी हुनुहुन्थ्यो । उहाँलाई सबै कुरा थाहा छ । डिएसपी राठौरले नै अबदेखि खुश्बुको वरिपरि नआउने र धम्की नदिने सर्तमा कागज गरिदिनुभएको थियो । उहाँकै अगाडि पनि अर्पणले भनेको थियो, ‘म दिनेशलाई प्रहरीलाई पचासौं लाख खुवाएर भए पनि मारेरै छाड्छु ।’ मैले तपाईंकै अगाडि मलाई यसरी थर्काउने मान्छेले पछाडि के गर्ला भनेको थिएँ । डिएसपी राठौरले यसको ‘दिमाग खुस्किएको छ, छोडिदिनुस्’ भन्नुभएको थियो । ‘क्लियरली’ दिनेशको हत्या कुमुद र अर्पण मिलेर गरेका हुन् ।

    तपाईंकै शब्द सापटी लिएर भन्ने हो भने एक जना दुव्र्यसनीको इशारामा लागेर प्रहरीले यस्तो काम गर्‍यो होला त ?
    एक दिन मेरो संस्थामा राति १२ बजे डकैतीको शैलीमा दिनेश लुकेर बसेको छ भन्ने नाममा सादा पोशाकका प्रहरी आए । मेरा स्टाफहरु सबैको मोबाइल लुटे । हामीमाथि हप्काई दप्काई भयो । लुटेराहरु भन्ने सोचेको थिएँ, तर प्रजित नाम गरेको हनुमान ढोकाकाको केरकारमा बस्ने डिएसपीलाई देखेपछि प्रहरी भन्ने थाहा भयो । अर्पण कोइराला प्रहरीको वान्टेडमा परेको मान्छे हो । तर उसको लिडरशिपमा आएको थियो प्रदीप डिएसपी । यसलाई तपाईं के भन्नु हुन्छ ।

    त्यसो भए तपाईंलाई आफ्नो बनाउन उनीहरुले दिनेशको हत्या गरे हो ?
    त्यो घटिया सोच कुमुदमा थियो । त्यही भएर उसले पटकपटक म दिनेशलाई जसरी पनि मार्दिन्छु । २५ ग्राम धुलो हाल्छु भनेको थियो । त्यो भनेको पक्राउ गरेर खल्तीमा अफिमको धुलो हाल्ने भनेको रे । यो जीवनमा दिनेशबाहेक कसैको हुन सक्दिन । म स्वार्थका लागि एक दुई दिन कसैको पछि लाग्ने अनि स्वार्थ पूरा भएपछि अर्कोसँग हिंड्ने खालकी केटी होइन । मरेर गए पनि मेरो ‘मेमोरी’ मा दिनेश नै हुनुहुन्छ । मलाई लाग्छ कि, उहाँको ‘लेभल’ को मान्छे अहिलेसम्म कोही भेटेको पनि छैन, अब पनि भेट्न सक्दिन । म अब केही महिनामै दिनेश अधिकारी फाउण्डेशन नामको संस्था खोल्छु । उहाँको पनि इच्छा थियो कि केही सामाज सेवाको काम गरौं । उहाँको आत्मालाई शान्ति दिन पनि म त्यो काम गर्छु ।

    घटनापछि पनि उनीहरुले केही भनेका छन् कि ?
    त्यस्तो केही भनेका छैनन् । तर केही अनलाइन मिडियामा मेरा विषयमा घिनलाग्दो ढंगले जथाभावी न्यूज दिएको थाहा भयो ।

    घटनापछि दिनेशका परिवारसँग भेट्नुभयो ?
    भेटिसकें । मम्मी, दाई, भान्जी, भान्जा सबै भेटें । मम्मी अस्तिसम्म हस्पिटल हुनुहुन्थ्यो ।  हिजो मात्र हस्पिटलबाट डिस्चार्ज हुनुभएको हो । भेटें तर कुरा गर्ने अवस्थै थिएन । हेराहेर मात्र भयो 
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: पुरा विवरण पढ्नको लागि यहाँ क्लिक गर्नुहोस् >>> Rating: 5 Reviewed By: Unknown
    Scroll to Top